पर्वत अस्पतालमा आँखा अपरेशन शिविर सम्पन्न

११ पुस, पर्वत । पर्वतमा अवस्थित विभिन्न ८ लायन्स क्लवहरुको संयोजनमा पर्वत जिल्ला अस्पतालमा आँखा उपचार शिविर तथा अपरेशन शिविर शुरु भएको छ । कुश्मा नगरपालीका तथा फलेवास नगरपालीकाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरि मोतियाविन्दु भएका विरामीहरुको अपरेशन गर्ने गरि पर्वत जिल्ला अस्पतालमा आँखा शिविर गर्न लागिएको हो ।

शिविरको उदघाटन गर्दै पर्वत जिल्ला अस्पतालका अध्यक्ष गोविन्द पहाडीले आँखा जीवनको ज्योति भएका कारण आँखाको ज्योति जोगाईराख्नका लागि लायन्स क्लवले गरेको योगदान महत्वपूर्ण भएको धारणा राख्नु भयो । उहांले विगतदेखि नै पर्वत जिल्ला अस्पतालमा लायन्प क्लवको संयोजनमा आँखा उपचार सेवा उपलब्ध भईरहेको हुंदा आँखामा आउने समस्याका लागि धेरै खर्च गरेर जिल्ला बाहिर जानु नपर्दा धेरै राहत भएको बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लवका को चिफ एडभाईजर बसन्त कर्माचार्यले लायन्स क्लवहरुले विगतदेखि नै पर्वत अस्पतालसंग सहकार्य गरिरहेको र आँखा उपचारमा भविष्यमा समेत सहकार्य गरिने जानकारी गराउनुभयो । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष मञ्जु सिलाकारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न स्थानबाट भेटिएका ४५ जनाको मोतियाविन्दुको अपरेशन पर्वत अस्पतालमा गर्न लागिएको जानकारी गराईएको थियो ।