मनको क्रन्दन -(कविता)

मनको क्रन्दन

–  गणेश गिरी

केहि शब्द छन्
लेख्छु,
फेरी मेट्छु
लेखौँ अरुको चित्त दुख्छ
नलेखौं आफ्नो मन दुख्छ
भावनाहरु
ज्वारभाटा हुन्
प्रत्येक दिन आउँछन्
बिलाएर जान्नन्
बरु,
थपिदै जान्छन्
कथामा विरबलले
डाँडापारीको बत्ति हेरेर
कठ्याङग्रीदो रात
पोखरीमा बिताए जस्तै,
धेरै पटक जुन हेरे
कयौँ पलहरु
डाँडाका बत्तिहरु हेरे
पहाडमा पुगेर
ईश्वर खोजे
देउतालाई ढोगे
अल्लाह गुहारे
प्रभुलाई भने
गुम्बामा रोए
मन कसैको पग्लेन
त्यसैले,
मेटेका अक्षरहरु
लेख्ने नै निधो गरे
लेखेर त हुँदैन
देखेर नि हुँदैन
लेखिएको हुनुपर्छ
भेटिएको हुँदैन
थाहा छ
तै पनि देख्छु
कालरात्रीमा सपनाहरु
ब्युझन्छु,
अनी सवै मेटिन्छन
खोलामा जान्छु
पारि छु कि वारी छु
ठ्म्याउनै सक्दिन
तै पनि जान्छु
चित्त बुझाउँछु
एक दिन त खोलीले
सागरलाई भेटेर छाड्छ
मेरो भेट अव
हुँदैन थाहा छ,
भेट भए देखि
डाँको छाडेर रुन्छु
नभेटे देखि
सम्झेरै रुन्छु
अदृश्य पथमा
रुमलिएको यात्री
लेखेर कथा,
आफैले पढ्छु ।

लेखक गिरी पर्वत न्यूज डटकमका सम्पादक हुन ।