‘मेरो कार्यकालको अन्त्यसम्म धेरैजसो आश्वासनहरु पूरा गरेरै छाड्छु’–नगरप्रमुख जोशी

कुस्मा नगरपालिकामा हाल टुक्रे योजनाले प्रश्रय पाएको छ । समग्र नगरपालिकालाई के कसरी विकास गरी अघि बढाउन सकिन्छ भन्ने कुरामा नगरप्रमुख रामचन्द्र जोशी लागिपर्नु भएको छ । पूर्वाधार खानेपानी, मोटरबाटो, धार्मिक तथा पर्यटकीय पार्कहरु, बसपार्क, सिटीहलको विस्तृत परियोजन प्रतिवेदन तयार गरिसकेको नगरपालिकाले के कस्तो योजना बनाउँदै छ, नगरलाई कसरी अगाडि बढाउँदै छजस्ता आदि विषयमा केन्द्रित रही कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसँग नेपाल समाचारपत्रका लागि पर्वत संवाददाता दुर्गाप्रसाद शर्माले गरेको कुराकानीः

तपाईंको नगरपालिका कुस्मामा भएका प्रमुख काम के के हुन् ? 
म कुस्मा नगरपालिकामा मेयरको रुपमा आएको लगभग २ वर्ष पूरा भएको छ । दुई वर्षे कार्यकालमा मलाई काम गर्न धेरै असहज स्थिति पनि थियो । तर पनि मैले यस बीचमा नगरका सम्पूर्ण ठूला पूर्वाधारहरु खानेपानी, मोटरबाटो, धार्मिक तथा पर्यटकीय पार्कहरु, बसपार्क, सिटीहलको विस्तृत परियोजन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छु । साथै कुस्मा बजारभित्र बाटो चौडा गर्ने, कालोपत्रे गर्ने कामको सुरुआत र कुस्माको पर्यटकीय आकर्षण बनेका अग्लापुल, बन्जिजम्प तथा यान्त्रिक पुल जाने पक्की सडकको समेत टेन्डर आह्वान गरी कामको सुरुआत हुनेवाला छ । अन्य साना पूर्वाधारहरुको हकमा भने धेरै काम भइसकेका छन् ।

टुक्रे योजनामा बजेट विनियोजन गरेको र दीर्घकालीन योजनामा बेवास्ता गरेको गुनासो छ नि ? 
मैले अधिकांश ठूला पूर्वाधारलाई नै महत्व दिई काम अगाडि बढाएको छु । तर आवश्यकताअनुसार वडावडामा टुक्रे कामहरु पनि हुनु स्वाभाविक पनि छ । जनताले साना र टुक्रे योजना माग गर्ने हुँदा यो पनि हुन गएको छ तर दीर्घकालीन योजनालाई चाहिँ स्थायी गरिएको छैन ।

चुनावमा वाचा गरेको आश्वासन पूरा गर्नुभएको छ त ? जनता कति खुसी छन् ? 
मैले चुनावको बेलामा कुस्मा नगरपालिकालाई अन्य नगरपालिकाभन्दा कमजोर बनाउदिनँ भनेर भनेको थिएँ । मैले चुनावमा जनताका बीचमा गरेका वाचा र दिएका आश्वासनबमोजिम सम्पूर्ण काम त गरिसकेको छैन तैपनि केही कामहरु पूरा भएका छन्, केही पूरा हुन बाँकी छन् । जहाँसम्म जनता बेखुसी पक्कै पनि छैनन् । मेरो कार्यकालको अन्त्यसम्ममा धेरैजसो वाचा र आश्वासन पूरा गरेरै छाड्छु ।

कुस्मा नगरपालिकामा के के समस्या र चुनौतीहरु छन् ? 
कुस्मा नगरपालिकामा धेरै समस्या र चुनौती छन् । कुस्मा नगरपालिका भौगोलिक रुपमा ठूलो क्षेत्रफलमा फैलिएको छ । बजार क्षेत्र कम र धेरै तथा ठूला वडाहरु ग्रामीण क्षेत्रमा भएको हुँदा सम्पूर्ण वडा कार्यालयसम्म कालोपत्रे गर्ने काम बाँकी नै छन्, वडा कार्यालय भवनहरु धेरै वडामा छैनन् । सडक कालोपत्रे गर्ने तथा वडा कार्यालय बनाउनुपर्ने आवश्यकता छ । नगरको बजेट एकदमै न्यून छ जनआकांक्षा बढी छ । सीमित बजेटले कुन–कुन कामलाई प्राथमिकता दिने बडो अप्ठ्यारो र चुनौतीपूर्ण छ । संघीय सरकार र प्रदेश सरकारसँग मिलेर यस्ता समस्या चुनौतीलाई समाधान गर्ने काममा अघि बढेका छांै ।

स्थानीय तहको बजेट पारदर्शी भएन भन्ने गुनासो आउने गरेको छ, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि नगरपालिका के गरिरहेको छ ? 
स्थानीय तहको बजेट तथा पारदर्शिताका बारेमा त जनताले मूल्यांकन गर्ने कुरा पनि हो । हामीले गर्ने भनेको अनुगमन नै हो । आवश्यकताअनुसार योजनाहरुको अनुगमन गर्ने काम भइरहेको छ । निर्णय गरेर मात्रै खर्च गर्ने परिपाटी पनि बसालिएको छ । साना र टुक्रे योजनाप्रति जनआक्रोश बढी छ । साना योजनामा पारदर्शिता कायम गराउन कठिन पनि हुँदो रहेछ । हामी यसमा सजग पनि छांै । पारदर्शिता कायम गराउन, बेरुजु कम गर्न अझै क्रियाशील हुन्छौं ।

धेरै नगरपालिका र गाउँपालिकामा उपभोक्ता समिति, ठेकेदारसँग मिलेमतो गरेर डोजर लगाउने कमिसन लिने गरेको आरोप लाग्ने गरेको छ, नगरसभाले विनियोजन नगरेका योजनामा पनि बजेट विनियोजन गरिन्छ भन्ने आरोप छ त ? 
यस्ता आरोप हाम्रो नगरपालिकामा पनि नआएका होइनन् । हरेक निर्माणका काममा उपभोक्ता समिति निर्माण गरी वडाले सिफारिस गरेर नगरपालिकामा पठाउँछ । कमिसनको कुरामा त उपभोक्ता समिति आफैं सजग हुन आवश्यक छ । वडा अध्यक्षहरुलाई पनि हामीले वडाका विकास निर्माणका काममा निगरानी राख्न सल्लाह सुझाव दिएका छौं । वडा अध्यक्षहरुले कार्य सम्पन्न भएको प्रतिवेदन दिएपछि मात्रै भुक्तानी गर्ने तथा अनुगमन समितिको रिपोर्टका आधारमा समेत मूल्यांकन हुन्छ । यसले गर्दा पारदर्शिता कायम गराउन सहयोग पुगेको छ जस्तो छ । कहींकतै कमजोरी भेटिए भने सुधार गरेर पनि अगाडि बढ्छौं ।

नगरपालिकामा पर्यटकीय, धार्मिक तथा अन्य क्षेत्रको विकासका लागि के भइरहेको छ ? केका लागि प्रसिद्ध छ र अझ प्रसिद्ध गराउन के गर्दै हुनुहुन्छ ?
कुस्मा नगरपालिका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको नगरपालिका हो । मुलुककै पर्यटकीय राजधानी पोखराबाट सबैभन्दा नजिक तथा मुस्ताङ प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको छ । पहिले यो नगरपालिकाभित्रका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मोदीवेणी, सहस्रधारा, गुप्तेश्वर, अलपेश्वर, पार्वती गुफा पाङ र आर्थर डाँडाखर्कको तीन सय वर्ष पुरानो गुम्बादेखि पञ्चासे धामसम्मका पुराना अरु धेरै सम्पादा रहेका छन । यी पर्यटकीय सम्पदामा बाह्य र आन्तरिक पर्यटकको अहिले पनि आकर्षण छ ।

पछिल्लो समयमा कुस्मा नगरपालिकामा अग्ला र लामा झोलुङ्गेपुल, केबलकार मोडेलको यान्त्रिकपुल, बन्जीजम्प र छाँगारोहण (क्यानोनिङ) जस्ता पर्यटकीय गन्तव्यहरु थपिएका छन् । पञ्चासेसम्म पोखरादेखि केबलकार बनाउने प्रक्रिया अगाडि बढेका कारण थप पर्यटक भित्र्याउन मद्दत गर्नेछ । कुस्मालाई अग्ला पुलैपुलको शहरका रुपमा देशविदेशमा चिनाउने काम भएको छ । यी नयाँ पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेका छन् । यसबाहेक नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न खोजी गर्ने काममा लागेका छौं भने पुराना र स्थापित पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास तथा प्रचारप्रसारमा जोड दिँदै आएका छांै । अब कुस्मा पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास हामीलाई छ ।

कुस्माको फोहोर व्यवस्थापन कार्य मुलुककै लागि अनुकरणीय बन्न थालेको चर्चा हुने गर्छ । फोहोरमैला व्यवस्थापन कसरी गर्नुभएको छ ?
फोहोरमैला व्यवस्थापनमा कुस्मा नगरपालिका धेरै अगाडि बढिसकेको छ । हामीले अहिले कुहिने फोहोर र नकुहिने फोहोर दुई भागमा बाँडेर छुट्टाछुट्टै रुपमा संकलन गरिरहेका छौं । फोहोरलाई मोहोरमा बदल्ने प्रयासमा छांै हामी । पहिले कुहिने र नकुहिने फोहोर एकैपटक संकलन गरेर अव्यवस्थित रुपमा खोलानाला तथा सार्वजनिक ठाउँमा फाल्ने गरिएको थियो ।

यसले नगर दुर्गन्धित थियो र फोहोर फाल्ने स्थानको विषयलाई लिएर पटकपटक अवरोधको सामना पनि गर्नुपरेको थियो । अहिले एउटा गैरसरकारी संस्था सिक्रेड नेपालसँग सहकार्य गरी कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने र नकुहिने फोहोर संकलन गरी प्रशोधन गरेर बिक्रीवितरण गर्दै छांै । यसले फोहोर व्यवस्थापनका लागि सहयोग र नमुनाका रुपमा अन्य पालिकाले पनि अनुकरण गर्ने अवस्था आउने कुरामा विश्वस्त छौं । यसका लागि जग्गा व्यवस्थापन गरी भौैतिक पूर्वाधारसमेत निर्माण भइसकेको छ ।

शहरीकरणको अवस्था कस्तो छ ?
हाम्रो नगरपालिकाभित्र शहरीकरणको अवस्था त्यति सहज छैन । बजार क्षेत्रमा बस्ती बसिसकेको छ भने ग्रामीण क्षेत्रका वडाहरु हिजोकै संरचनामा छन् । तैपनि नयाँ भौतिक संरचनाहरु व्यवस्थित गरी पृथक् रुपमा अगाडि बढाउने योजना छ । ढल, सडक विद्युत्लाई व्यवस्थित बनाउने काम भइरहेको छ ।

अझ राम्रो नगरपालिका बनाउन केन्द्र र प्रदेश सरकारसँग कस्तो अपेक्षा छ ? 
नगरपालिकालाई हरेक हिसाबले सम्वृद्ध बनाउनका लागि नै सम्पूर्ण प्रयासलाई अगाडि बढाएको छु । यसका लागि नगरपालिकाको सीमित स्रोत र साधनले नभ्याउने हुँदा मेगा प्रोजेक्टहरु जस्तै सिटीहल र बसपार्क, मोटरेबल पुल बनाउनका लागि डीपीआर तयार गरि संघीय सरकारसँग बजेट माग गरेको छु भने प्रदेशसँग पनि पर्यटकीय सडक पार्क तथा पदमार्ग, वडाहरु जोड्ने पक्की सडक निर्माणका लागि सहकार्य गरी काम गर्न प्रस्ताव पेस गरिएको छ । केही क्षेत्रमा बजेटसमेत आएको छ । यस आर्थिक वर्षमा केही कामहरु सहकार्यकै आधारमा शुरु हुने विश्वास छ । यी काम पूरा भयो भने नगरको स्वरुप बदलिने कुरामा दुई मत छैन ।

नेपाल समाचारपत्र दैनिकबाट साभार