मोदी गाउँपालिकामा कम गुणस्तरका मदिरा विक्री वितरणमा प्रतिबन्द

३१ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका मदिरा विक्री वितरणमा कडाई गरेको छ । मदिरा कै कारण मानवीय स्वास्थ्य र सामाजिक जीवनमा असर परेको भन्दै गाउँपालिकाले कम गुणस्तरका मदिरा विक्री वितरणमा कडाई गरेको हो । गाउँपालिकाले प्लाष्टिक बोत्तलमा प्याकिङ भएर बजारमा बिक्रीका लागि आउने मदिरालाई पूर्ण रुपमा प्रतिबन्द लगाएको छ ।

‘कम गु्णस्तरको मदिराले मानिसको स्वास्थ्यमा गम्भिर समस्या निम्ताउँछ’ मदिरा नियन्त्रण अभियानका संयोजक तथा मोदी २ का वडाअध्यक्ष बिकास तिमिल्सीना भन्छन–‘अपराधमा बृद्धि र पारिवारिक कलह पनि यहि कारण बढिरहेको छ ।’

कम गुणस्तरको मदिराको मूल्य थोरै पर्ने र निम्नआय स्तर भएका सर्वसाधरणले त्यसको प्रयोग गर्ने गर्दछन । त्यसको प्रयोगलाई नियन्त्रण गर्दा गाउँपालिका बासीको स्वास्थ्य, सामाजिक विकृति र अपराध नियन्त्रणमा सहयोग पुग्ने तिमिल्सीनाको विश्वास छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहितको टोली अभियानमा जुटेको छ ।

विहिबार मात्रै अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको मुख्य बजार क्षेत्र पातिचौर बजार र डिमुवा बजारमा अनगुमन सम्पन्न भएको छ । अनुगमनमा झण्डै १५ कार्टुन कम गुणस्तरका मदिराहरु नियन्त्रणमा लिइएको छ । प्रहरी र जनप्रतिनिधि सहितको टोलीले बजार अनुगमन गर्दा भेटिएको कम गुणस्तरको मदिरा नियन्त्रणमा लिइएको वडाअध्यक्ष तिमिल्सीनाले जानकारी दिए । यस अघि पनि भएको अनुगमनबाट करिब ३० काटुन मदिरा नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएको मदिरा डिमुवा प्रहरी चौकीमा राखिएको छ ।

बरामद गरिएको मदिरालाई नष्ट गर्ने वा कम्पनीमा फिर्ता पठाउने भन्ने विषयमा भने कार्यपालिकाले निर्णय गर्ने वडाअध्यक्ष तिमिल्सीना बताउँछन ।
गाउँपालिका उपाध्यक्ष सेती महत भन्छिन–‘महिला हिंसा र घरेलु हिंसाको पहिलो कारण मदिरा नै हो ।’ मदिरा नियन्त्रण हुँदै जाँदा पारिवारिक कलह, घरेलु हिंसा र सामाजिक विकृतिमा कमी आउने उपाध्यक्ष महतको भनाई छ । उनले गाउँपालिकाले पहिलो चरणमा कम गुणस्तरका प्लाष्टिक प्याकिङ मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिईन ।

अभियान अन्तर्गत विक्री वितरणका लागि उत्पादन हुने घरेलु मदिरा समेतको नियन्त्रण गरिनेछ । धार्मिक प्रयोजन र नीजि प्रयोजनका लागि उत्पादन हुने बाहेकको सन्दर्भमा घरेलु मदिराको उत्पादन, विक्री, वितरण र सेवनमा समेत प्रतिबन्द लगाउने गरी गाउँपालिका अभियान सञ्चालन गरीरहेको उपाध्यक्ष महतको भनाई छ ।