बर्राचौरमा घरमै सुत्केरी हुने गर्भवतीको संख्या शुन्य

३१ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बर्राचौरमा घरमै सुत्केरी हुने गर्भवतीको संख्या शुन्य भएको छ । सरकारले ‘होम डेलीभरी जिरो’ बनाउने गरी अभियान सञ्चालन गरी रहेकै बेला प्रदेशकै पहिलो वडा विहादीको बर्राचौर भएको हो ।

बर्राचौर स्वास्थ्य चौकीमा एक कर्यक्रमको आयोजना गरि उक्त वडालाई गाउँपालिका अध्यक्ष कमल भुषाालले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे । घरमै सुत्केरी हुनेको संख्या शुन्य हुँदा सवै स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको संख्या सत प्रतिशत भएसंगै वडालाई संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुषालले मातृशिशु मृत्यु र आमाको स्वास्थ्यलाई बचाउनका लागि संस्थागत सुत्केरी गराउनु आवश्यकता रहेको औल्याए । उनले ठूला शहरहरुमा पनि अझै घरमै सुत्केरी गराउनेको संख्या रहेको भन्दै वर्राचौरमा चेतनाको स्तरमा आएको बृद्धिसंगै घरमै सुत्केरी गराउनेको संख्या शुन्यमा पुगेको बताए ।

कार्यक्रममा विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषी पन्थीले नेपाल सरकारले विगतका बर्षहरु देखि लिएको लक्ष्य पुरा गर्न विहादीको बर्राचौर वडा सफल भएको बताए । उनले विहादीका सवै वडाहरुमा रहेका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा नै लगेर सुत्केरी गराउने कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने हुँदा यस्तो कार्यलाई निरुसात्हित गर्नुपर्ने पन्थीको भनाई छ ।

विहादी गाउँपालिकाका स्वास्थ्य संयोजक हरिप्रसाद भुसाल, सह–संयोजक जीवन तिवारी, कार्यपालिका सदस्य खैसरा दर्जी, वडा नम्बर २ का सचिब बिपिन घिमिरे, रेडियो सत्यबाणी का अध्यक्ष हरि न्यौपाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिहादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ओमप्रसाद कुँवरको अध्यक्षता बर्राचौर स्वास्थ्य चौकीका अनमी सिता नेपालीको स्वागत मन्तब्य र बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्रनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।