सांसद गिरीद्धारा असिना पानीले पुराएको क्षतिको स्थलगत निरिक्षण

१२ जेठ, पर्वत । असिना र पानीका कारण पर्वत जिल्लाका कृषकहरुको बालीनाली नष्ट परेको छ । लगातारको असिनाका कारण कृषकहरुको कृषिजन्य वस्तुहरुमा ठूलो क्षति पुगेसंगै प्रतिनिधि सभाका सांसद पदम गिरी कृषकहरुलाई भेट्न गाउँ बस्ती पुगेका छन । सांसद गिरी कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी सहितको टोली लिएर क्षतिग्रस्त कृषकहरुको वस्तीमा पुगेका हुन । सांसद गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा पुगेको क्षतिको निरिक्षण गरेको छ ।

निरीक्षणको क्रममा भिषण असिना पानीले पुर्याएको क्षतिको बारेमा माननीय सांसद पदम गिरीले किसानहरु सँग जानकारी र सो को अवस्थाको बारेमा बुझेका थिए । सो क्रममा किसानहरुले प्राकृतिक विपत्ति, असिनापानी, हावाहुरीले आफुहरुको मकै, तरकारी, आलु, फलफुल खेती, धान र कोदोको विँउहरुमा ठुलो क्षति पुगेको र सोको क्षतिपुर्तिको लागि सम्बन्धित निकायहरुमा पहल गरिदिन सांसद गिरीसँग आग्रह गरेका थिए । सांसद गिरी स्थलगत निरीक्षणमा पुगेपछि क्षतिका कारण निराश किसानहरु क्षतिपुर्ति पाउने कुरामा आशावादी भई राहतको महशुस गरेको थिए ।

केन्द्रीय सरकार र प्रदेश सरकारले ले ल्याएका मोडेल फार्म, स्क्रिम हासउ निर्माण आदि कार्यक्रमका भौतिक संरचनामा पनि उक्त दिनमा परेको हावाहुरी सहितको असिना पानीले क्षति पुर्याएको अवस्थाको पनि सांसद गिरी सहितको टोलीले निरीक्षण गरेको हो ।

निरीक्षणको क्रममा सांसद गिरीले असिना पानीले गर्दा किसानहरुलाई ठुलो क्षति भएको र सोको उचित क्षतिपुर्ति राज्यले यथासिघ्र व्यवस्था गर्नु पर्ने र सोको लागि आफुले राज्यका सवै निकायसँग क्षतिपुर्तिको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता गरे । सोही क्रममा क्षतिपूर्तिको सम्पुर्ण विवरण यथासिघ्र संकलन गरि आफु मातहतका निकायमा विवरण उपलब्ध गराउन कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुखलाई सांसद गिरीले निर्देशन दिए । ज्ञान केन्द्रका प्रमुख रेग्मीले क्षतिको विवरण संकलन गरी उचित क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।