महाशिलाको अर्को अनुकरणीय कार्य : पाखापानीमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

२० पौष, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले अर्को अनुकरणीय कार्य गरेको छ । स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारका प्रयासहरु थालेको महाशिलाले स्वास्थ्य सेवामा अपायक भएको स्थानका बासिन्दाका लागि सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेका छ ।

महाशिला गाउँपालिका वडा न ४ पाखापानीमा रहेको पाखापानी स्वास्थ्य चौकीले सवै टोलमा सेवा प्रवाह गर्न समस्या परेपछि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको छ । पाखापानी वडाको तल्लो भागमा रहेको जनजागरण प्राविमा उक्त स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

भौगोलिक रुपमा फराकिलो बस्ती रहेको पाखापानीमा स्वास्थ्य चौकी टाडाको दुरीमा हुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले स्वास्थ्य सेवा सहज रुपमा प्रदान गराउनका लागि स्वास्थ्य इकाइको स्थापना गरिएको बताए ।

स्वास्थ्य इकाइबाट नियमित रुपमा सेवा प्रवाह भईरहेको छ । प्राथमिक उपचारको अभावमा कसैको पनि अकालमा मृत्यु नहोस भनेर स्वास्थ्य इकाइको स्थापना गरिएको गाउँपालिका अध्यक्षको भनाई छ । गाउँपालिकाले यस अघि पालिका भित्रका सवै स्वास्थ्य चौकीहरुमा प्रसुति सेवा विस्तार गरीसकेको छ । पछिल्लो समय महाशिला गाउँपालिका भाषणमा होइन काममा विश्वास गर्ने गाउँपालिकाको रुपमा विकसित हुँदै गएको देखिन्छ ।