लघु उद्यमी खोज्दै मोदी गाउँपालिका

२५ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिकालाई लघु उद्यमीको हव बनाउने अभियान अन्तर्गत अहिले उद्यमीहरुको खोजी गरीरहेको छ । चालु आर्थिक बर्षमा झण्डै ५० लाख उद्याम क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन गरेको मोदी गाउँपालिकाले वस्ती स्तरमै पुगेर उद्यमीको खोजी कार्य अगाडि बढाएको हो । उद्यम क्षेत्रबाट आर्थिक उपार्जन गराउने उद्देश्यका साथ गाउँपालिकाले उद्यमीको खोजी अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत मोदी ६ तिहाहारको गिज्यानमा गाउँपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले उद्यम गर्छु भन्नेहरुलाई गाउँपालिकाले सहयोग गर्न तयार रहेको जानकारी दिइन । महतले उद्यम क्षेत्रबाट आर्थिक सम्बृद्धिको बाटो पहिल्याउने गरी गाउँपालिका अगाडि बढेको भन्दै यस्तो कार्यमा सवैले साथ र सहयोग दिनुपर्ने धारणा राखिन ।

ग्रामीण स्तरमा हुने आय आर्जनका थुप्रै क्षेत्र मध्ये आफ्नो रोजाईको ब्यवसायीक क्षेत्रमा गाउँपालिकाले प्राविधिक सहयोग पुराउने अभियानमा सहभागी हुन सवैलाई उनले आग्रह समेत गरीन ।

कार्यक्रममा मोदी गाउँपालिकाका प्रवक्ता समेत रहेका मोदी ६ का वडा अध्यक्ष बिमल लामिछानेले अव हात खुम्चाएर बस्ने दिएबाट कर्म गरेर फल खाने दिन आएको संकेत गरे । उनले समग्र गाउँपालिका भित्रका उद्यमीहरुका लागि गाउँपालिकाले विशेष सहयोग गर्ने बताउँदै आम्दानीको श्रोत पहिचानका लागि पनि उद्यम क्षेत्रमा लाग्नुपर्ने धारणा राखे ।

दैनिक ठूलो संख्यामा विदेशीने युवाहरुको संख्यालाई न्यून गर्नका लागि पनि स्थानीय स्तरमा उद्यमको स्थापना गर्ने कार्यमा लाग्नुपर्ने उनको भनाई छ । उद्यममा उत्पादन भएको बस्तुको बजार खोजीदिने र उद्यम स्थापनाका लागि प्राविधिक सहयोग गर्ने जस्ता काममा वडा कार्यालय र गाउँपालिका तयार रहेकाले आफ्नो सीपको प्रयोग गरेर उद्यम क्षेत्रमा लाग्न लामिछानेले आफ्ना वडाबासीलाई अनुरोध समेत गरे ।

कार्यक्रममा उद्यम सहजकर्ता सिता शर्माले गाउँपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन । अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवा तथा कृषकहरुले आफ्नो उद्यम सञ्चालनको बारेमा जिज्ञासा र धारणा राखेका थिए ।

गाउँपालिकाले आफ्नो गौरबको योजना उद्यम विकास कार्यक्रमलाई बनाएको छ । चालु आर्थिक बर्षमा उद्यम क्षेत्रमा लाग्न चाहनेहरुका लागि सीप विकासको प्राविधिक ज्ञान तथा सामाग्रीहरुमा समेत सहयोग गर्ने गरी गाउँपालकाले अभियान सञ्चालन गरीरहेको छ ।

उद्यम विकासलाई ब्यवस्थित गर्न उद्यम विकास शाखा गठन गर्दै यो क्षेत्रबाट गाउँपालिकाका स्थानीयको आर्थिक सम्बृद्धिको लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।