कुश्मा नगरपालिकाका मेयर जोशीले आफ्नो तलब भत्ताबाट २६ विपन्न विद्यार्थीलाई ड्रेस प्रदान गरे

१९ असोज, पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफूले स्थानीय तहबाट प्राप्त गरेको पारिश्रमिक जनतालाई वितरण गर्न थालेको छन । यस अघि नै आफूले लिने सवै पारिश्रमिक जनतालाई वितरण गर्ने घोषणा गरेर मनकारी मेयरको उपमा पाएका नगरप्रमुख जोशीले कुश्मा नगरपालिका २ मा रहेको जगदम्बा आधारभूत विदालयका २६ जना विद्यार्थीलाई ड्रेस उपलब्ध गराएका छन ।

नगरक्षेत्रको भ्रमणको क्रममा विद्यालयमा पुगेका जोशीले विद्यार्थीहरुको आर्थिक अवस्था निकै विपन्न रहेको देखे । उनी भन्छन–‘ड्रेस दिनुहोस भनेर उनीहरुले मागेका होइनन, तर विद्यार्थी कसैले पनि विद्यालयको पोशाक लगाएका थिएनन । आर्थिक अवस्था सवैको दयनीय रैछ’ उनी थप्छन–ंअवस्था हेरेपछि मनै देखि सहयोग गर्ने विचार आयो’ विद्यालय पुगेर कुश्मा फर्केपछि उनले गरेको घोषणा बमोजीम शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा पुगेर विद्यार्थीलाई कपडा वितरण गरेका हुन ।

उनले आफूले बर्ष भरी प्राप्त गर्ने नगरप्रमुखको हैसियतको पारिश्रमिक जनताकै लागि खर्च गर्ने घोषणा यस अघि नै गरेका हुन । विद्यालयमा आयोजीत ड्रेस वितरण कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, वडा न ५ का वडा अध्यक्ष चित्रकला भारती, वडा न २ का वडा अध्यक्ष यदुनाथ शर्मा बास्तोला लगाएतले जननिर्वाचित मेयरले गरेको सहयोगको प्रशंसा गरेका थिए ।