महाशिलाको लुंखु क्षेत्र विकासका लागि संघिय सरकारको ध्यानाकर्षण

९ असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाशिला गाउँपालिकाको विकासका लागि महाशिला ५ लुंखुका वडा अध्यक्ष जीवन उचै ठकुरीले संघिय सरकारको ध्यानाकर्षण गराएका छन ।

ठूला र राष्ट्रिय स्तरका योजनाहरुमा रकम विनियोजन गर्ने गरी संघिय संरचना तयार भईरहेको बेला युवा वडा अध्यक्ष ठकुरीले संघिय संसदका सांसद पदम गिरीलाई विकास योजनाहरु कार्यान्वयनमा ध्यानाकर्षण गराएका हुन । पर्वत जिल्लाबाट संघिय संसदको प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका सांसद गिरीलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी १२ वटा ठूला आयोजनाहरु पेश गर्दै विकास योजनाहरुमा सहयोग गर्न माग गरेका हुन ।

वडा स्तरीय राजनैतिक दल, जनप्रतिनिधिहरु र सामाजिक अगुवाहरुका वीचमा आयोजना गरिएाके सक्षिप्त अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष ठकुरीले वडाको तर्फबाट लिखित रुपमा महाशिला र लुंखु क्षेत्रको विकासका लागि सडक, पर्यटन, भौतिक पूर्वाधार क्षेत्रको विकासमा सहयोग गर्न सांसदसंग अनुरोध गरेका हुन । उक्त अवसरमा बोल्दै सांसद गिरीले साना योजनाहरुको आवश्यकता स्थानीय तह र मध्यम आयोजनाहरु प्रदेशबाट सम्बोधन हुने भन्दै ठूला आयोजनाहरु निर्माणका लागि संघिय सरकारमा आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले फलेवास देखि लुंखु र लुंख देखि हुवासम्मको बाटो कालोपत्रे गर्ने काम अगाडि बढीरहेको बताउँदै उक्त कामलाई समयमै गुणस्तरीय ढङगले सम्पन्न गर्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

जिल्लाको प्रतिनिधित्व हुने गरी आफूले संघिय संसदमा विशेष भूमिका खेलीरहेको बताउँदै जनताको मतलाई खेर नजाने गरी आफूले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । सोहि अवसरमा वर्तमान सरकारलाई असफल बनाउन घेरावन्दी शुरु भईसकेको भन्दै सरकारले गरेका राम्रा कामहरुको प्रचार नभएको गिरीले बताए । गिरीले पारवहन सम्झौता जस्तो महत्वगामी सम्झौता गरेको सरकारलाई हिसात्मक घटनासंग जोडेर देशी र विदेशी शक्तिले असफल सरकारको संघा दिन बहाना बनाएको दावी गरे ।

सांसद गिरीले पर्वतमा कांग्रेसको नेतृत्वको सरकारको बेला सिता क्षेत्रीलाई वेपत्ता हुँदा सरकार प्रति कुनै दोष नलगाउने तर अनुसन्धान प्रक्रियामै रहेको निर्मला पन्तको हत्या प्रकरणमा सरकारलाई दोष लगाउने काम नियोजीत रहेको बताए ।

सांसद गिरीले सरकारले दोषीलाई कारबाही गर्न कुनै सम्झौता नगर्ने गरी आफ्ना निकायहरुलाई परिचालन गरीरहेको बेला सरकारले नै अपराधिलाई सुरक्षित गरीरहेको जस्तो गरी प्रचार भईरहेको भन्दै दुःख ब्यक्त गरे ।

सो अवसरमा वडा अध्यक्ष ठकुरीले जिल्लाको समग्र विकास र महाशिलाको विकासमा संघिय सरकारले यथोचित योजनाहरु निर्माणमा ध्यान दिन सांसदलाई आग्रह गरेका थिए ।