लायन्स क्लब अफ पर्वत गुप्तेश्वरद्धारा विद्यालय परिसरमा बृक्षारोपण

१ असोज, पर्वत । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मोदी गाउँपालिका तिलाहार स्थित नवजागृत माविमा क्लबले दुर्लभ जातका विरुवा रोपण गरेको हो ।

क्लबले आइतबार एक कार्यक्रमका वीच दुर्लभ र महंगो मानिएको बोदिचित्त नामको विरुवा रोपण गरेको हो । बौद्धधर्मालम्बीहरुका लागि विशेष महत्व राख्ने माला बनाउन प्रयोग गरिने बोट बोदिचित्त पर्वतमा पहिलो पल्ट रोपण गरेको क्लबले उक्त अवसरमाा असोका र तेजपत्ताका समेत विरुवा रोपेको थियो ।

सो अवसरमा बोल्दै मोदी ६ का वडा अध्यक्ष विमल लामिछानले क्लबको रचनात्मक कार्यको प्रशंसा गरेका थिए । उनले सामाजिक सेवाका लागि क्लब लागि परेको भन्दै वातावरण संरक्षण र पर्यावरण संरक्षणमा क्लबको सक्रियताको सवैले अनुकरण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा मोदी २ देउपुरका वडा अध्यक्ष विकास तिमिल्सीनाले सृजनशिल कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने धारणा ब्यक्त गरे ।

सो अवसरमा विद्यालयका प्रअ विष्णु लम्सालले विरुवाको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । क्लबका सचिव अर्जुन निर्जन पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मुना लामिछाने र अध्यक्षता क्लबका हरीओम शर्मा लामिछानेले गरेका थिए ।

कार्यक्रममा क्लबका पदाधिकारी र विद्यालयका शिक्षकहरुले सामूहिक रुपमाा बृक्षारोपण गरेका थिए ।