पर्वतको भुकदेउरालीमा निर्माणधिन मध्यमोदीको निर्माण कार्य ६ दिन पछि सुचारु

३० भदौ, पर्वत । ६  दिनदेखि बन्द मध्यमोदी जलविद्युत आयोजनाको काम शुक्रबार साँझदेखि फेरि सुरु भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले विभिन्न माग राख्दै प्रभावित तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएपछि ६  दिनदेखि आयोजनाको काम रोकिएको थियो ।

आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीहरुले गएको आइतबारदेखि तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएका थिए ।

पटक पटकको वार्तापछि शुक्रबार साँझसम्ममा दुवैपक्षको छलफल निष्कर्षमा पुगेको छ ।

छलफलका क्रममा आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाहरुबीच विभिन्न ४ बुँदे सहमति भएको मोदी गाउँपालिका वडा नं. २ देउपुरका वडा सदस्य जीवन चापागाइंले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले उठाएका मागहरुलाई छलफल मार्फत निष्कर्षमा पुगिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताउनुभयो ।

उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दाहरुको क्षति अनुगमन गरी मूल्याङकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको भुगर्भ विभागका प्राविधिकहरुको टोलीद्वारा यथार्थ निरीक्षण गराउने, निरीक्षणबाट वास्तविक क्षति पुगेको प्रतिवेदन आएमा स्थानीयबासीहरुको मागलाई सम्बोधन गर्ने लगायतका सहमति भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले बम विस्फोट गर्दा १६ घरमा क्षति भएको बताएका छन् ।

मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घरधुरी र वडा नंं १ अन्तर्गत ३२ घर धुरी प्रभावित भएका छन् ।