विहादी र फलेवासमा शिक्षा दिवस मनाईयो

२३ वैशाख, पर्वत । पर्वतको विहादीमा ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस एक विशेष कार्यक्रमका वीच मनाइएको छ । विहादी गाउँपालिका वडा नम्बर ४ लिङसिङ स्थित लक्ष्मी भवन माध्यमिक विद्यालयमा गाउँपालिकाले शिक्षा दिवस मनाएको हो । विहादी गाउँकार्यपालिकाका गाउँ शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल रहेका थिए ।

दुई दिनसम्म संचालन भएको कार्यक्रमको पहिलो दिन विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । विहादी गाउँपालिकाका शिक्षकहरुको कविता वाचन कार्यक्रम, विद्यार्थीहरुको आधारभूत तह स्तरीय लोकनृत्य कार्यक्रम, मावि तहको निबन्ध प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन भाद्र २३ शिक्षा दिवसका दिन विहादी गाउँपालिकाको शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरु, त्यसैगरी लामो समयसम्म शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान, विहादी गाउँपालिकाको शैक्षिक गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुति, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रम हुने विहादी गाउँकार्यपालिकाका गाउँ शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यल जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल भुषालले गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए । उनले विहादीमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सवैको अथक प्रयास हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले शिक्षित जनशक्तिले मात्र राष्ट्र विकासमा टेवा पुराउन सक्ने भन्दै शिक्षालाई सवै स्थानीय तहले आफ्नो प्रथमिकतामा राख्नुपर्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, शिक्षक तथा शिक्षा प्रेमीहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

विहादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यालयहरुमा उक्त अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

यसैवीच, ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर पर्वतको फलेवास नगरपालिकामा विविध कार्यक्रम सम्पन्न गरिएको छ । दिवसको अवसरमा नगरपालिकाको आयोजनामा विद्यालय स्तरिय निबन्ध प्रतियोगिता, वक्तृत्वकला, तथा खुला तथा विद्यालयस्तरीय तिज गित प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्यक्रमको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले गर्नुभयो । कार्यक्रममा बोल्दै शर्माले फलेवास नगरपालिकाले शिक्षामा गुणस्तरियता ल्याउनका लागि फलेवास नगरपालिकाले नयाँ योजनाका साथ आफ्नो कार्य प्रारम्भ गरिसकेको बताउनुभयो । कार्यक्रममा बोल्दै शर्माले  शिक्षाको गुणस्तरमा सुधार ल्याउन पाठ्यक्रम, फलेवासको नयाँ शिक्षा नीति, शिक्षण पद्धति, परीक्षा प्रणालीमा सुधार ल्याउने काम भएको, शिक्षाको उपलब्धिको मापन गर्ने कार्य अघि बढेको, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्ने प्रयास भएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मन्जु अधिकारीले शिक्षा नगर विकासको पहिलो आधार भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । उहाँले फलेवास मोडलको शिक्षाका लागि सबैको योगदानको जरुरी रहेको बताउँदै सबैसँग नगरपालिका हातेमालो गर्न तयार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोती प्रसाद शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने सामाजिक विकास समितिका संयोजक गंगा प्रसाद शर्माले स्वागत गर्नुभएको थियो । सो अवसरमा शिक्षासेवी भोलानाथ शर्मा लम्साल, नेपाल राष्ट्रिय शिक्षक संगठन फलेवास नगर समितिका अध्यक्ष दिपक रेग्मी, नेपाल शिक्षक संघ फलेवासका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष उदयराज लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गत एसईई परिक्षामा नगरपालिका भित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फका थापाठाना माबिका रेजिना जिसी, जनता माबिका संजय रेग्मी र ध्रुब नमुना माविका आशिश पौडेल रहेका छन् । त्यस्तै संस्थागत विद्यालयतर्फ फलेवास मोडल माबिका सन्ध्या बराल र सरस्वती कुँवर रहेका छन् । यसैगरि पर्वत जिल्ला भरमा सर्वोत्कृट नतिजा ल्याउने कालीगण्डकी एकेडेमीका अन्जली पुरी र अनिश बस्नेत साथै नमुना आवासिय माविका सृष्टी पौडेललाई सम्मान गरिएको थियो ।
यस्तै नगरपालिका भित्रका उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्षकोतर्फबाट अन्नपूर्ण माबिका डण्डपाणी शर्मा र भवानी विद्यापीठ माविका अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरिएको थियो । विद्यालय परिचर मध्येबाट ध्रुव नमुना माविका डण्डपाणी शर्मा र उत्कृष्ट बाल शिक्षिका लिलावती ढकाललाई सम्मान गरिएको छ । कार्यक्रममा नगरपालिकाले लिएको शिक्षक परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने शिक्षकहरु साथै शिक्षा सेवीलाई समेत सम्मान गरिएको थियो । नगरपालिकाले तयार गरेका विभिन्न मापदण्डलाई आधार बनाएर छनोट गरिएको नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सोही अवसरमा आयोजना गरिएको विद्यालय स्तरिय तिज गित प्रतियोगितामा थापाठाना माध्यामिक विद्यालय थापाठाना प्रथम स्थान, भवानी विद्यालपीठ मावि द्धीतिय र ध्रुब नमुना माबिले तृतीय स्थान हाँसिल गरेका छन् । साथै खुला तिज गित प्रतियोगितामा डहरे देउराली सहकारी थापाठानाले प्रथम स्थान, समृद्धी युवा महिला समूह देबिस्थानले दोस्रो र प्रगतिशिल महिला समूह देबिस्थानले तेस्रो स्थान हाँसिल गरेका छन् ।
  • prabhu-bank-sept26.gif