विहादी गाउँपालिकामा शिक्षा दिवस मनाईयो

२३ वैशाख, पर्वत । पर्वतको विहादीमा ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस एक विशेष कार्यक्रमका वीच मनाइएको छ । विहादी गाउँपालिका वडा नम्बर ४ लिङसिङ स्थित लक्ष्मी भवन माध्यमिक विद्यालयमा गाउँपालिकाले शिक्षा दिवस मनाएको हो ।

विहादी गाउँकार्यपालिकाका गाउँ शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल रहेका थिए ।

दुई दिनसम्म संचालन भएको कार्यक्रमको पहिलो दिन विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । विहादी गाउँपालिकाका शिक्षकहरुको कविता वाचन कार्यक्रम, विद्यार्थीहरुको आधारभूत तह स्तरीय लोकनृत्य कार्यक्रम, मावि तहको निबन्ध प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन भाद्र २३ शिक्षा दिवसका दिन विहादी गाउँपालिकाको शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरु, त्यसैगरी लामो समयसम्म शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान, विहादी गाउँपालिकाको शैक्षिक गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुति, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रम हुने विहादी गाउँकार्यपालिकाका गाउँ शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यल जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल भुषालले गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए । उनले विहादीमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सवैको अथक प्रयास हुनुपर्ने धारणा राखे ।

विहादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यालयहरुमा उक्त अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।