सडक सफा गर्न मेयर जोशी कूचो लिएर सडकमा

२० असार, पर्वत । कुश्मा बजारलाई सफा र सुन्दर बनाउन कुश्मा नगरपालिकाका प्रमुख (मेयर) रामचन्द्र जोशी बुधवार विहान कुचो लिएर सडक सफा गर्न जुटेका छन । कुश्मा नगरपालिका वडा न ५ को संयोजनमा बजार क्षेत्रलाई सरसफाईयुक्त बनाउने अभियानमा नगरप्रमुख जोशीले साथ दिएका हुन ।

जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा बजारको बजार क्षेत्रलाई सफा र सुन्दर बनाई पर्यटकीय गन्तब्य बनाउने अभियानमा सवै जना जुट्नुपर्ने वडा न ५ की वडा अध्यक्ष चित्रकला शर्माले बताईन । नगरप्रमुख जोशीले सवै जनाले आफ्नो आफ्नो घर अगाडि सफा गरेमा कुश्मा नगर त्यसै स्वच्छ हुने धारणा ब्यक्त गरे ।

कुश्माको लोकतन्त्र चोकबाट उक्त सरसफाई अभियानको शुरुवात गरिएको थियो । सरसफाई सम्बन्धि जनचेतना जगाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शर्माले बताईन । लोकतन्त्र चोक देखि कुश्माको प्रगति चोक, मेलमिलाप चोक हुँदै वडागाउँ स्थित जिल्ला अस्पतालमा पुगेर अभियान सकिएको थियो । सरसफाई कार्यक्रममा नगरबासी र सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।