स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुक्ष्म कार्य योजना निर्माण गर्दै मोदी गाउँपालिका

२ जेठ, पर्वत । बर्थिङ सेन्टरलाई प्रभावकारी बनाउन र प्रसुति सेवालाई सुरक्षित बनाउन मोदी गाउँपालिकाले सुक्ष्म कार्य योजना निर्माण गरेको छ । गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुमा प्रसुति सेवालाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा सुक्ष्म कार्य योजना निर्माण कार्य सम्पन्न भएको हो ।

गाउँपालकाको स्वास्थ्य शाखाको आयोजनामा एक दिने योजना तर्जुमा कार्यक्रम मार्फत आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन उक्त योजना निर्माण कार्य गरिएको मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिए । नियमित गर्भजाँच र सुरक्षित प्रसुति सेवाको ग्यारेन्टीका लागि गाउँपालिकाले ठोस कार्य योजना निर्माण गर्न लागिएको लामिछानेले बताए ।

योजना तर्जुमा सम्बन्धि गोष्ठिमा गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, प्रमुख प्रशाशकिय अधिकृत कुमान सिंह गुरुङ, मोदी २ देउपुरका वडा अध्यक्ष विकास तिमल्सिना, मोदी ५, बाजुङका वडा अध्यक्ष दलबहादुर मल्ल र मोदी ६ तिलाहारका वडा अध्यक्ष तथा गाउँपालिकका प्रवक्ता बिमल लामिछाने, मोदी ८, तिलाहारकी वडा सदस्य बिजुला कुमारी शर्मा लगाएतले कार्य योजनाका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य चौकी प्रमुख र स्वास्थ्यकर्मीहरुको समेत सहभागीता रहेको थियो । गाउँपालिकाले आगामी आर्थिक बर्षमा संस्थागत सुत्केरी संख्या ९० पुराउने गरि सुक्ष्म योजना तयार गरेको छ । जसका लागि गाउँपालिकाबाट घरभेटमै गइ सुत्केरी आमाहरुको जाँच गर्ने कामको व्यवस्थापनको लागि रु १ लाख बजेटको प्रस्ताब गरिएको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा मोदी गाउपालिकाको संस्थागत सुत्केरी संख्या जम्मा ४० रहेको छ, जुन पर्वतका अन्य स्थानीय तहहरुको तुलनामा न्युन हो ।

स्वास्थ्य संयोजक उमेश कुमार अधिकारीले मोदी गाउपालिकाको संस्थागत सुत्केरी संख्या नबढ्नुको प्रमुख कारण सबै वडाहरुमा बर्थिंग सेन्टर स्थापाना नहुनु, बसाइसराइको अवस्था र अधिकांश जनसंख्याको हिस्सा ओगट्ने बाजुंग, तिलाहर र देउपुरको बजारक्षेत्रबाट सुत्केरी सेवाका लागि जिल्ला अस्पताल पर्बत र पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा जानु रहेको बताए ।

गाउँपालिकाका प्रवक्ता लामिछानेले स्वास्थ्यकर्मिहरुले आफ्नो काम र पेशा प्रति मयार्दित रहदै स्वास्थ्य क्षेत्रत्रमा मोदीलाई उदाहरणीय बनाउन सबैको समान भूमिका र उत्तरदायित्व रहने बताए ।

जनस्वास्थ्य अधिकृत सजिना महर्जनले प्रस्तुत गरेको पर्वत जिल्ला र समग्र नेपालको मातृ शिशु स्वास्थ्य सम्बन्धि तथ्यांकमा केन्द्रित रहदै गाउँपालिका अध्यक्ष प्रेम पौडेल लगायत उपस्थित जनप्रतिनिधिहरुले मोदी गाउपालिकाको समग्र स्वास्थ्य सूचकको अवस्था सन्तोषजनक नभएको बताउदै समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि सबैजना गम्भीर भएर ठोस कार्ययोजनाका साथ अगाडी बढ्नुपर्ने कुरा औल्याएका थिए ।