कुश्मा देखि पोखरा सुरुङमार्ग : सम्बृद्धिको सुरुङ

सरकारले भर्खरै आर्थिक वर्ष २०७५/७६ को बजेट संसद्मा पेस गरेको छ । नेपालको संविधानले कल्पना गरेको समाजवादी अर्थतन्त्र निर्माण होस् वा सरकारले उद्घोष गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा साकार पार्ने प्रमुख आधार भनेको स्थान–स्थान र व्यक्ति–व्यक्तिबीचको सहज र द्रुत ‘कनेक्टिभिटी’ (सम्पर्क/ संयोजन) नै हो । सहज र द्रुत कनेक्टिभिटी भयो भने मात्र यसले कृषि, व्यापार, पर्यटनमा फड्को मार्न सहयोग पु¥याउँछ र समृद्धिको आधार बन्न सक्छ ।

पहाडी मुलुकहरूका लागि सहज र द्रुत ‘कनेक्टिभिटी’ का लागि सबैभन्दा उत्तम विकल्प सुरुङमार्ग हो । नेपालजस्ता पहाडी मुलुक जस्तै जापान, चीन, ताइवान, कोरिया, स्वीट्जरल्यान्ड, अस्ट्रिया, नर्वे, इटलीलगायतका मुलुकले सडक तथा रेल सञ्जाल विस्तारका लागि सुरुङ निर्माणलाई प्राथमिकतामा राखेका छन् । सन् २०१६ मा बनेको स्वीट्जरल्यान्ड र इटलीलाई जोड्ने ५७ दशमलव १ कि.मि. लामो ‘गोथार्ड बेस टनेल’ हालसम्म संसारकै सबैभन्दा लामो रेल गुड्ने सुरुङमार्ग हो । सन् २०१७ सम्ममा समृद्ध बनेका पहाडी मुलुकमध्ये चीनमा १५ हजार २८७ कि.मि., जापानमा चार हजार २६ कि.मि., नर्वेमा एक हजार ३३८ कि.मि., इटलीमा नौ सय कि.मि. लम्बाइका सुरुङमार्ग बनाइएका छन् ।

नेपालजस्तो अग्ला र भिराला पहाड भएको मुलुकका लागि अबको विकल्प सम्भव भएसम्म सुरुङ मार्गको निर्माण नै हो । पहाडी मुलुकमा सुरुङमार्ग उत्तम विकल्प हो किनभने यो दिगो हुन्छ, सतहको सडकभन्दा लगभग एकतिहाइ छोटो हुन्छ, वातावरणमैत्री हुन्छ, पहिरोको जोखिम हुँदैन र भूकम्पमा पनि सुरक्षित हुन्छ किनभने भूकम्पीय तरङ्गहरूको असर सतहमाभन्दा सुरुङभित्र कम हुन्छ । बनाउन तुलनात्मक रूपमा खर्चिलो भए पनि यसको मेन्टिनेन्स (मर्मतसम्भार) खर्च कम लाग्ने, बाटो एकतिहाइ छोटो भएका कारण पेट्रोलियम खपत कम हुने तथा गाडीको इन्जिन टिकाउ हुने कारण सुरुङमार्ग कालान्तरमा फाइदाजनक मानिन्छ ।

नेपालमा पनि सुरुङमार्ग निर्माणको चर्चा विगत केही वर्षदेखि हुँदै आएको छ । सात वर्ष अगाडि झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएपछि शिलान्यास गरेको नागढुङ्गा–नौबीसे सुरुङमार्गको डीपीआर तयार भएको छ र यस वर्षदेखि नै निर्माण थाल्ने घोषणा बजेटमार्फत गरिएको छ । यसैगरी काठमाडौँ–हेटौँडा सुरुङमार्गको डीपीआर तयार भइसकेको छ भने यस वर्षको बजेटमार्फत टोखा–खहरे–गुर्जुभन्ज्याङ, सिद्धबाबा, कोटेश्वर–जडीबुटी, खुर्कोट चियाबारी, थानकोट–चित्लाङ, बीपीनगर–खुटिया–दिपायल खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गर्ने घोषणा गरेको छ । यो निकै सराहनीय छ । सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने इन्जिनियर तथा भूगर्भविद्हरूको उत्पादन नेपालमै हुन थालेको छ भने भेरी–बबई योजनामार्फत उच्च प्रविधिको सुरुङ खन्ने मेसिनको प्रयोग गर्ने क्षमताको विकास पनि अहिले नै भइसकेको छ । प्रस्तावित सुरुङमार्गको अध्ययन पूरा गरी डीपीआर बन्ने समयसम्म हाम्रो प्राविधिक क्षमता अझै बलियो हुनेछ । तसर्थ, अबका केही वर्षमा नेपालमा सुरुङमार्ग निर्माण सहज र सरल हुने पक्का छ ।

यसै सन्दर्भमा कास्की, पर्वत र स्याङ्जा जिल्लाको सिमानामा पर्ने पञ्चासेको फेदबाट सुरुङमार्ग निर्माण गरियो भने प्रदेश ४ मात्र होइन सम्पूर्ण नेपालको समृद्धिको सुरुङ बन्ने देखिन्छ । टोपोग्राफिक, भूउपग्रहीय तथा भौगर्भिक नक्साको प्रारम्भिक अध्ययनबाट पोखराको लेकसाइडदेखि फेवातालको किनारै किनार सिदानेस्थित कल्याणी भीरसम्म खुला सडक, कल्याणी भीरदेखि पर्वत जिल्लाको आर्थर र राम्जाको बीचबाट बग्ने जरे खोलाको शीरमा रहेको महभीरसम्म सुरुङ र त्यहाँबाट दोविल्लासम्म खुला सडक निर्माण गरेमा हालको पोखरादेखि कुस्मासम्मको सडक लगभग २५ कि.मि. छोटो भई ५४ कि.मि. बाट लगभग २९ कि.मि. मा झर्छ । यसरी बनेको सडक सीधा हुने र गाडीलाई द्रुत गतिमा गुडाउन सकिने हुँदा यात्रा समय एक घण्टाभन्दा कममा झर्छ । यो सुरुङमार्गको लम्बाइ बढीमा ५ दशमलव ५ कि.मि. हुने देखिन्छ । यसको नयाँ ट्रयाक पनि धेरै बनाउनुपर्ने छैन, तयार छ । भौगर्भिक बनावट र चट्टानको प्रकृति तथा विकासमा पार्ने प्रभावका हिसाबले पोखरा–कुस्मा सडकको यो स्थान नै सुरुङमार्गका लागि सबैभन्दा उत्तम स्थान हो ।

पञ्चासे सुरुङमार्ग नेपालकै सम्मृद्धिको सुरुङ बन्ने प्रशस्त आधार छन् । उत्तरी नाका कोरालादेखि दक्षिणी नाका त्रिवेणीसम्म जोडिने निर्माणाधीन कालीगण्डकी करिडोर बेनी, बाग्लुङ, कुस्मा, फलेवास हुँदै जान्छ । पोखरा हुँदै जाने मध्यपहाडी लोकमार्ग कालीगण्डकी करिडोरसँग कुस्मामा जोडिन्छ । सङ्घीय राजधानी काठमाडौँ र प्रादेशिक राजधानी पोखरालाई चीनसँगको सीमा नाका कोरला र भारतसँगको सीमा नाका त्रिवेणीसँग जोड्ने एक सहज मार्ग पञ्चासे सुरुङमार्ग हुनेछ । यो मार्ग भविष्यमा महŒवपूर्ण अन्तरदेशीय व्यापारिक मार्ग हुने पक्का छ । भविष्यमा केरुङ–काठामाडौँ–पोखरा रेलमार्ग निर्माण भएमा राजधानीलाई कोराला र त्रिवेणीसँग जोड्न झनै सहज हुनेछ ।  प्रदेश नं. ४ को विकासको पहिलो आधार पर्यटनलाई मानिएको छ । कालीगण्डकी र मोदीखोला उपत्यकामा अन्नपूर्ण बेसक्याम्प, पुनहील, घोरेपानी, तातोपानी, पञ्चासे, जोमसोम, मुक्तिनाथ, मुस्ताङ र राउण्ड अन्नपूर्ण ट्रेक जस्ता महŒवपूर्ण पर्यटकीय स्थल छन् ।

कालीगण्डकीमा ¥याफ्टिङ, अग्ला झोलुङ्गे पुल तथा बञ्जीजम्पजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षित गरिरहेका छन् । सङ्घीय सरकारले यसै वर्ष विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन कालिगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाएको छ । यो परियोजनाको बाँध निर्माण भएपछि कालीगण्डकी र मोदीखोलामा कृत्रिम जलाशय बन्ने छ, जुन पर्वत जिल्लाको दक्षिणी भेगदेखि मोदी खोलाको दोविल्ला र कालीगण्डकीको मालढुङ्गासम्म फैलिने सम्भावना छ । यसले जल पर्यटन तथा यातायातमा फड्को मार्नेछ । यो जलाशयले पर्वतको दक्षिणी भेग, गुल्मीको उत्तरी भेग, बागलुङ, म्याग्दी तथा मुस्ताङसँगको सम्पर्क तथा यातायातलाई सहज बनाउने छ । यस जलाशय हँुंदै पानीजहाज÷मोटरबोटबाट दोविल्ला र त्यहाँबाट पञ्चासे सुरुङमार्ग हुँदै पोखरा आउन लाग्ने समय अहिलेकोभन्दा एकतिहाइमा झर्नेछ । पर्यटनका विविध सम्भावनाका कारण धौलागिरि अञ्चल पोखरापछिको मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना छ । यस पृष्ठभूमिमा पोखराबाट छिटो र सुविधायुक्त तरिकाले धौलागिरि भित्रिने विकल्प पञ्चासेको सुरुङ मार्गले दिनेछ ।

पञ्चासे सुरुङको अवधारणा अगाडि आएपछि अन्य वैकल्पिक स्थान जस्तै भदौरे, काँडे र घोरेपानी मुनिबाट सुरुङ निर्माणका विकल्प पनि चर्चामा ल्याइएको छ तर भदौरे र काँडे गहिरो दरार (लुम्ले थ्रस्ट) को नजिक छन् र भौगर्भिक रूपमा कमजोर छन् । यसैकारण यी ठाउँमा अहिले पनि जमिन धसिने, निरन्तर पहिरो जाने भइरहेको छ । यस्तो ठाउँ खुला सडकका लागि समेत उपयुक्त छैनन् भने सुरुङ निर्माणका लागि कुनै पनि हिसाबमा उपयुक्त हुँदैनन् । यस्तै त्यहाँबाट खनिने सुरुङले पोखरादेखि कुस्माको दूरी खासै घटाउँदैन । दूरी नघट्ने हो भने सुरुङ खन्नुको अर्थ रहँदैन । त्यसैगरी घोरेपानी मुनिबाट बिरेठाँटीदेखि तातोपानीसम्म सुरुङमार्गले जोमसोमको दूरी त घटाउला तर कालीगण्डकी जलाशय तथा पर्वत, गुल्मी, बाग्लुङ र म्याग्दीका जनतासँग यसको सम्बन्ध रहँदैन ।

भौगोलिक, भौगर्भिक, प्राविधिक र आर्थिक सबै हिसाबले पञ्चासेमुनिबाट सुरुङमार्ग निर्माण नै प्रदेश ४ को पूर्वी र पश्चिमी भेगलाई सरल, सहज, छिटो र सस्तो किसिमले जोड्ने मार्ग बन्न सक्ने देखिन्छ । यस सुरुङमार्गले प्रदेश ४ मात्र नभई समग्र नेपालकै विकासमा बहुआयामिक प्रभाव पार्नेछ र यो नेपालकै सम्मृद्धिको सुरुङ बन्ने पक्का छ । तसर्थ, सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा पारी यस वर्ष नै सम्भाव्यता अध्ययन थालनी गर्नुपर्छ । 

प्रा. डा. लालु पौडेल : गोरखापत्रबाट साभार गरिएको 

  • prabhu-bank-sept26.gif