सम्बृद्ध पर्वतका लागि एमाले पर्वतको ३ दिर्घकालीन आयोजना प्रस्ताव

२७ वैशाख, पर्वत । नेकपा एमाले स्थानीय विभागले पर्वतको सम्बृद्धिका लागि ३ दिर्घकालीन आयोजनाहरुको प्रस्ताव गरेको छ । विभागको वैशाख २७ गते एमाले पार्टी कार्यालयमा बसेको वैठकले  दीर्घकालीन विकासका योजना निर्माणका महत्वकाक्षि योजना अघि सारेको हो ।

वैठकले पानीको वहुउयोगी नीति अनुसार कालीगण्डकी,  मोदीको अथाह पानीको श्रोतलाई नयाँ ढंगबाट उपयोग गर्न सकिने निष्कर्ष निकालेको छ ।

मोदी र कालीको पानीको श्रोतलाई उपयोग गर्ने नीति अुनसार कुश्मा, फलेवास, बागलुङ र जैमिनी नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्ने र त्यो भन्दा तल नदीको किनारमा रहेका अन्य पालिकाहरुलाई अप्रत्यक्ष फाइदा पुग्ने गरी हाइ ड्याम बाँध्ने विषयमा सम्भाव्यता अध्ययनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैठकले मध्य पहाडी लोकमार्ग अन्तर्गत पोखराको फेदीदेखि यता बागलुङसम्म २ लेनको सडक मर्मत हुँदै गरेकोमा सो पर्याप्त नभएको भन्दै ४ लेनकै सडक बागलुङसम्म पुर्याउन तीनै तहका सरकारसँग समन्वय गरी सडक विभागमा पहल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वैठकले विगत केही वर्षअघिदेखि वहस चल्दै आएको र नेपाल सरकारबाट सम्भाव्यता अध्ययन भइरहेको नयाँपुल–फेदी सुरुङ मार्ग प्रदेश राजधानी पोखरा र कोरल्ला नाका जोड्ने सडक अन्तर्गत पर्ने भएकोले निर्माणका लागि पहल गर्न दवाव दिने निर्णय गरेको छ ।

दीर्घकालीन योजनाका यी योजनाहरुले पर्वतको मात्र नभई समग्र धौलागिरी क्षेत्रकै विकासमा कायापलट हुने एमाले उपाध्यक्ष भक्त कुँवरले बताए । उनले अब सानातिना योजनामा अल्झेर नभई दीर्घकालीन विकासका योजनाहरु निर्माणमा सहकार्य गर्नुपर्ने बताए ।

मोदीवेणीदेखि र जैमिनीघाटको बीचबाट कालीगण्डकी नदीमा हाइ ड्याम बाँध्ने र सोही पानीबाट पर्वत तथा बागलुङतर्फका फाँटमा सिंचाई गर्ने, विद्युत उत्पादन गर्दै र जल पर्यटक भित्र्याउने वहुआयामिक योजना अनुसार यो अत्यावश्यक भएकोले यसतर्फ सबैको ध्यानाकर्षण गराउन यो आयोजना महत्वपूर्ण हुने विभागका संयोजक तथा पाटी उप सचिव गोविन्द पहाडीले बताए ।

उनले यस क्षेत्रकै गौरवका आयोजना अन्तर्गत फेदी–नयाँपुल सुरुङमार्ग र कालीगण्डकी हाइड्याम रहेकोले एमाले पर्वत यी आयोजनाको सम्भाव्यता अध्ययन र निर्माणका चरणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै पर्वतको आर्थिक विकाससँग जोडिएको मध्य पहाडी लोकमार्ग अन्गर्गत नयाँपुलदेखि मालढुंगा हुँदै वेनीसम्मको सडक समेत चार लेनको बढाउन आवश्यक रहेकोले सोका लागि जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सम्माननीय, माननीय, मन्त्रीहरुसमक्ष माग गरिसकिएको जानकारी दिए ।

पोखरादेखि फेदीदेखि चार लेनको सडक निर्माण भइरहेको छ भने फेदीदेखि मालढुंगासम्म दुई लेनको सडक निर्माण कार्य भइरहेको छ । यही दुई लेनको सडकलाई चार लेनको बनाउन पहल गरिने भएको हो । मालढुंगादेखि वेनीसम्म चार लेनको सडक बनाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

एमालेको स्थानीय विभागले गरेको उक्त निर्णयलाई केन्द्रिय सरकारले सम्बोधन गर्ने गरी आफूले पहल गर्ने संघिय सांसद पदम गिरी बताउँछन । उनले ठूला र दिर्घकालीन महत्व राख्ने आयोजनाहरु कार्यान्वयन केन्द्रिय सरकारले गर्ने भएकाले सोहि बमोजीम आफूले आयोजनाहरु आगामी बजेटमा समावेश गर्ने गरी पहल गर्ने दावी गरे ।

एमाले पर्वतका प्रचार विभाग सदस्य राजु प्रसाद पौडेलले दिर्घकालीन महत्व राख्ने आयोजनाहरुले मात्र जिल्लाको सम्बृद्धि हुने भएकाले ति आयोजनाहरु सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए । उनले ३ ठूला बाहेकका अन्य आयोजनाहरु सञ्चालन गरेमा पर्वत र कुश्मा बजारको सम्बृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

स्थानीय विभागले गरेको निर्णयलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुका वीच प्रस्ताव गर्दै कार्यान्वयनको तहसम्म लैजाने उप सचिव पहाडी बताउँछन ।

  • prabhu-bank-sept26.gif