सांसद गिरीले अभिभावकत्व ग्रहण गरेपछि ९ बर्षिय प्रज्वल आमा सम्झेर भक्कानीए

९ वैशाख, पर्वत । ९ बर्षका प्रज्वल गुरुङको सानो छदै बुवाको मृत्यु भयो । बुवाको मृत्यु पछि आमाले अर्कैसंग विहे गरिन ।

बुवा खेमबहादुर गुरुङको मृत्यु पछि टुहुरो बनेका प्रज्वल जन्मदिने आमाको मायाबाट पनि बञ्चित बने ।

आमा सरस्वती गुरुङले प्रज्वललाई छाडेर दोस्रो विहे गरिन ।

कलिलो उमेरमा बुवा र आमाको कोखबाट अलग्गिएका प्रज्वल एक्लो भए ।

वाल मस्तिकमा विछोडको गहिरो घाउ परेका प्रज्वललाई उनको नाताले फुपु पर्ने प्यारी गुरुङले आश्रय दिइन । विद्यालयमा भर्ना गरिन ।
आफू पनि विपन्न परिवारको भएकाले प्यारीलाई प्रज्वलको शिक्षादिक्षामा भने समस्या पर्दै आइरहेको थियो ।

फुपू प्यारीले अतित सुनाउँदै भन्छिन–‘प्रज्वल आमा सम्झेर रातको समय धेरै पटक रोयो ।’

मातृवात्सल्यको स्नेह नपाएको प्रज्वल अनुशासित र निकै जेहेन्दार छ । फुपु भन्छिन–‘कक्षा १ मा भर्ना गरेपछि उ निकै मेहनत गरेर पढयो ।’

फुपुले थपिन–‘ड्रेस, खाजा र कपी किन्न पनि आर्थिक अभाव छ हामीसंग ।’ जसो तसो फुपुको आश्रयमा पढाई अघि बढाएका प्रज्वल अहिले कक्षा ४ बाट कक्षा ५ मा पुगेका छन ।

कक्षामा प्रथम स्थान प्राप्त गरेका उनलाई आइतबार एक विशेष कार्यक्रमका वीच संघिय सांसद पदम गिरीले अभिभाकत्व प्रदान गरे ।

पितृ र मातृ स्नेहबाट बञ्चित बनेका लगनशिल प्रज्वललाई सांसद गिरीले आइतबार नै विद्यालयमा भर्ना गरेका छन ।

उनलाई आवश्यक ड्रेस, झोला र कपिहरु प्रदान गर्दै गिरीले प्रज्वललाई उच्च शिक्षासम्मको अध्यापनको जिम्मा आफूले लिएको घोषणा गरे ।

गिरीको काखबाट झरेपछि प्रज्वल भने भक्कानीएर रुन थाले । अवोध बालक रोएको दृश्य निकै भावुक थियो । साथीसंगीहरु आमाबुवाको काखमा हुर्किएको देखेका प्रज्वल आफ्नी आमा सम्झेर रोए ।

मलिन आवाज र आँखाभरी आँशु झार्दै उनले भने– ‘ममीको याद आयो’

अवोध अनुहार, मलिन चेहेरा र जेहेन्दार प्रज्वल कक्षाकै अनुशासित विद्यार्थी रहेको शिक्षकहरु बताउँछन ।

कार्यक्रममा गिरीले प्रज्वललाई अभिभावकले गर्नूपर्ने सम्पुर्ण कर्तब्य र जिम्बेवारी आफुले पुरा गरेर छाड्ने बताए ।

सरकारले विद्यालय जानबाट बञ्चित र विद्यालयमा अध्ययन गर्न आर्थिक समस्या परेका विद्यार्थीहरुलाई जनप्रतिनिधि आफूले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुपर्ने राष्ट्रिय अभियान सञ्चालन गरेको छ ।

सोहि अभियान अन्तर्गत गिरीले प्रज्वललाई आफ्नो गृह वडामा रहेको आफैले अध्ययन गरेको काफलचौर माविमा भर्ना गरेका हुन ।