उत्कृष्टता कायम राख्न नवजागृतका थप कार्ययोजना सार्वजनिक, यस बर्ष २४ जना सव-ओभरसियर तयार हुँदै

२५ चैत, पर्वत । सामुदायिक विद्यालय तर्फ उत्कृष्टता हासिल गर्दै आएको मोदी गाउँपालिका वडा न ६ तिलाहार स्थित नवजागृत उच्च माध्यमिक विद्यालयले थप कार्य योजना सार्वजनिक गरेको छ ।

विगत लामो समय देखि सामुदायिक विद्यालय तर्फ एसएलसि र एसईसि तर्फ जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा घोषित विद्यालयले आगामी शैक्षिक शत्रहरुमा पनि नतिजा कायम राख्ने गरी कार्य योजना सार्वजनिक गरेको हो ।

विद्यालयले शनिवार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त कार्य योजना सार्वजनिक गरेको हो ।

प्राविधिक बिषय तर्फ सिभिल इन्जिनियरिङ विषयको अध्यापन हुँदै आएको उक्त विद्यालयमा चालू शैक्षिक शत्रमा २४ जना सव ओभरसियरले एसइइसि परिक्षा दिएका छन ।

कुल ८० जना विद्यार्थी मध्ये २४ जना प्राविधिक समूहका विद्यार्थी रहेको विद्यालयका प्राचार्य विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले ११ र १२ कक्षाको अनुमति दिएमा उनीहरुले थप ३ बर्ष प्राविधिक विषय विद्यालयमा अध्यापन गराइनेछ ।

उनीहरुले ३ बर्षे कक्षा अध्यापन गरेपछि ओभरसियर तहको अध्ययन पुरा हुनेछ ।

देशमा शैक्षिक बेरोजगार बढि भएको बेला प्राविधिक बिषयको अध्यापनले दक्ष जनशक्ति उत्पादन हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछाने बताउँछन ।

उनले बेरोजगार जनशक्ति उत्पादन हुने कारखाना बन्दै गएका विद्यालयहरुमा प्राविधिक तहको अध्ययनले उत्पादनमुखी जनशक्तिले राष्ट्र विकासमा सहज हुने बताए ।

अंग्रेजी, नेपाली र प्राविधिक समूह गरी ३ समूहमा अध्यापन गराउँदै आएको विद्यालयले आगामी बर्ष पनि सोहि समूहमा अध्यापन गराउनेछ ।

विहानी र दिवा कोचिङ कक्षाको सुविधा सहित, आधारभूत तहमा कक्षा कार्यका लागि स्टेशनरी समेतको ब्यवस्थापन गर्दै आइरहेको विद्यालय जिल्लाकै सामुदायिक विद्यालयको लागि सिकाईको थलो बन्दै गएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक कृष्णप्रसाद शर्माले बताए ।

उनले सवै शैक्षिक गतिविधिहरु ब्यवस्थित ढङगले सञ्चालन गरेको उक्त विद्यालयमा विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्दै गएको समेत जिकिर गरे ।

धौलागिरी अञ्चलमै पहिलो पल्ट कक्षा ११ र १२ को अध्यापन शुरु गराउने विद्यालयको छवि स्थापीत गरेको उक्त विद्यालयले आन्तरीक श्रोत ब्यवस्थापन गरेर ६ जना नीजि क्षेत्रका शिक्षकहरुको ब्यवस्थापन गरीरहेको छ ।

सामुदायिक विद्यालयहरुको अवस्था नाजुक बन्दै गईरहेको र विद्यालयहरुमा अध्ययन अध्यापनको गुणस्तर खस्कदै गईरहेको बेला तिलाहार स्थित नवजागृत माध्यमिक विद्यालय सवै सामुदायिक विद्यालयहरुको सिकाईको थलो बनिरहेको मोदी गाउँपालिका वडा न ६ का वडाअध्यक्ष विमल लामिछाने बताउँछन ।

गरिब र जेहेन्दार विद्यार्थीहरुको सहज पहूँच रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्नसकेको खण्डमा थोरै लागतमा सवै ठाउँका निम्न स्तरका विद्यार्थीहरुले गुणस्तरीय अध्ययनको अवसर पाउने लामिछानेको भनाई छ । यो खवर आजको अर्थ वीट साप्ताहिकमा छ ।

  • prabhu-bank-sept26.gif