मोदी गाउपालिको कार्यालय राख्न स्थानीयद्धारा ८२ लाखको जग्गा खरिद

पर्वत २० चैत । गाउँपालिकाको कार्यालय ब्यवस्थापनका लागि स्थानीयले ८२ लाख रकमको जग्गा खरिद गरेका छन । जिल्लाको मोदीगाउँपालिकाको कार्यालय राख्नका लागि स्थानीयले रकम उठाएर जग्गा खरिद गरेका हुन ।

गाउँपालिकाको कार्यालय राख्नका लागि साविकको देउपुर गाविस स्थित पातिचौर बजार क्षेत्रमा उक्त जग्गा खरिद गरेको स्थानीय समिर मल्लले जानकारी दिए ।

मल्लका अनुसार जग्गा खरिदका लागि स्थानीयले दामासाहिको हिसावले ८२ लाख रकम जम्मा गरेका छन । उक्त रकमबाट ७ रोपनी बराबरको जग्गा खरिद गरी उक्त जग्गा गाउँपालिकाको नाउँमा हस्तान्तरण गरेका छन ।

गाउँपालिकाको भवन बनाउने सार्वजनिक जग्गा अभाव भएपछि उनीहरुले जग्गा खरिद नै गरेर भवन बनाउने वातावरण सृजना गरेको स्थानीयबासी मल्लको भनाई छ ।

स्थानीय रामचन्द्र तिमिल्सीनाको संयोजकत्वमा पातिचौर बजार क्षेत्रमा जग्गा र घर हुनेहरुसंग उक्त नगद रकम संकलन गरिएको हो । रकमबाट खरिद भएको जग्गा गाउँपालिकाको नाउँमा नामसारी भईसकेको मल्लको भनाई छ ।

जग्गा खरिद पछि उक्त जग्गलाई सम्माउने कार्य पनि स्थानीयले नै गरेका छन ।

मल्ल भन्छन–‘भवन बनाउनका लागि तयारी अवस्था जग्गा हामीले गाउँपालिकालाई हस्तान्तरण गछौं’ उनले बजार क्षेत्रमा घर र जग्गा हुनेले कम्तिमा ५ हजार देखि १ लाख ७५ हजारसम्मको रकम सहयोग गरेका जानकारी दिए ।

गाउँपालिकाको केन्द्र जग्गाको अभावमा स्थान्तरण हुनसक्ने भन्दै उक्त जग्गा ब्यवस्थापनमा स्थानीयले सक्रियता देखाएका हुन । देउपुरका वडा अध्यक्ष विकास तिमिल्सीना भन्छन–‘गाउँपालिकाको कार्यालय राजपत्रमा नै देउपुर क्षेत्र तोकिएकोले सोहि क्षेत्रमा कार्यालय राख्नुपर्छ भन्ने स्थानीयको माग हो ।’

गाउँपालिकाको केन्द्र राजपत्रमा साविकको देउपुर गाविसको कार्यालयमा तोकिएको थियो ।

उक्त स्थान बजार क्षेत्रभन्दा माथिल्लो भागमा पर्छ । ग्रामीण भेग र भूगोल पाइक नपरेको भन्दै केन्द्र तोकिए लगतै राजनैतिक सहमतीमा अस्थायी केन्द्र पातिचौरमा सारिएको थियो ।

पातिचौर बजार क्षेत्र र राजमार्गसंग जोडिएको क्षेत्र भएकाले सवैलाई पायक पर्ने क्षेत्रको रुपमा हेरिन्छ । पोखरा–बागलुङ राजमार्ग क्षेत्रमा पर्ने उक्त बजार क्षेत्रमै गाउँपालिका राख्ने यस अघिको गाउँकार्यपालिकाले निर्णय गरिसकेको छ ।

भवन निर्माणका लागि क्रमागत योजनाको रुपमा सरकारले प्रत्येक गाउँपालिकालाई २० करोड रकम उपलब्ध गराउने निर्णय गरेको छ । हाल मोदी गाउँपालिकाको कार्यालय भाडामा सञ्चालनमा छ ।

भाडामा कार्यालय सञ्चालन गर्दा मासिक भाडादर महंगो भएकाले आफ्नो भवना बनाउने प्रयासमा गाउँपालिका लागिरहेको गाउँपालिका अध्यक्ष प्रेम पौडेल बताउँछन ।

पौडेलले गाउँपालिकाको कार्यालय निर्माणका लागि केन्द्रिय सरकारले तोकेबमोजीमको प्रक्रिया अगाडि बढाउने बताए ।  अर्थ वीट साप्ताहिकमा खबर छ