भँगरामा गाउँघर क्लिनिकको भवन निर्माण

१० चैत्र, पर्वत । फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा गाउँघर क्लिनिक भवन निर्माण भएको छ ।

६ लाख ४० हजार ७ सय ८३ रुपैयाँ नगद र स्थानिय जनसमुदायको ११ हजार २ सय रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको हो ।

स्वास्थ्य संस्थामा जानका लागि टाढा भएकाले स्वास्थ्यले प्रदान गर्ने सेवा गाउँघरमै उपलव्ध गराउन सजिलो होस् भन्ने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष होमवहादुर पौडेलले बताउनु भयो ।

गाउँघर क्लिनिक निर्माणका लागि स्थानिय सावित्रा रिजालले निःशुल्क जग्गा उपलव्ध गराउनु भएको थियो । उहाँले क्लिनिक निर्माणका लागि झण्डै ९ आना २ पैसा १ दाम बरावरको जग्गा उपलव्ध गराउनु भएको होे ।

भँगरा उल्लेरीमा स्वास्थ्य संस्था नहुँदा उपचारको अभावमा त्यहाँका नागरिकले अकालमै ज्यान गुमाउन बाध्य थिए ।

गाउँघर क्लिनिक सञ्चालनमा आएसँगै त्यहाँका नागरिकले समयमा नै उपचार पाउने विश्वास गरेका छन् ।

स्वास्थ्य संस्थाको अभावमा स्वास्थ्य समस्या भोग्दै आएका नागरिकका लागि भौगोलिक कठिनाइका कारण अन्य ठाउँमा जान पनि टाढा रहेकोमा क्लिनिक निर्माणले केही आशा जगाएको भँगराका वडा सदस्य रामवहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

क्लिनिक भवनको शुक्रवार एक कार्यक्रमको आयोजना गरि स्थानिय समुदायलाई हस्तान्तरण गरिएको छ ।

भवनको उद्घाटन फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर शर्माले नगरभित्र रहेका स्वास्थ्य क्लिनिकलाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेकोे बताउनु भयो ।

उहाँले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्न र स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउनकाले लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवचेतना साुमदायिक विकास केन्द्रका अध्यक्ष केशावदास बैरागीले स्वास्थ्य क्लिनिक निर्माण भएपछि यहाँका नागरिकहरुलाई उपचारमा सुविधा हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गुड नेर्भस इन्टरनेश्नल कुश्मा शाखाका कार्यक्रम संयोजक खेमवहादुर रोकाले समेत बोल्नु भएको थियो । भवन निमाृण भएपछि गाउँबाट स्वास्थ्य सेवा सहज रुपमा प्रदान हुने, गाउँघर क्लिनिक तथा खोप सेवा सहज रुपमा प्राप्त हुने बताएका छन् ।

भँगरा स्वास्थ्य व्यवस्थापन समितिका संयोजक गंगाधर शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत गाउँघर क्लिनिक भवन निर्माण समितिका अध्यक्ष होवहादुर पौडेल र कार्यक्रमको सञ्चालन भँगराका सचिव भेषनाथ आचार्यले गर्नुभएको थियो ।

भवन निर्माणमा गुर्ड नेवर्स नामको अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । – साजन परियार