फलेवासमा ‘डहरे ग्रामीण होम स्टे’ सेवा विस्तार हुँदै

२६ फागुन, पर्वत । जिल्लाको फलेवास नगरपालिकामा ग्रामीण होम स्टेको विस्तार हुन लागेको छ ।

नगरपालिकाको अगुवाई फलेवास नगरपालिका वडा न २ थापाठानाको खुम भन्ने स्थानमा होम स्टे सञ्चालन गर्न लागिएको हो ।

नगरपालिका क्षेत्रमा पर्यटक भित्राउने उद्देश्यका साथ शुरुवात गरिएको उक्त होम स्टेका लागि प्रारम्भिक भेला गरिएको छ ।

भेलाले होम स्टे सञ्चालनका लागि ११ सदस्यीय समिति समेतको गठन गरेको छ ।

शुरुवातमा ११ वटा घरबाट होम स्टे सेवा शुरुवात गरिने नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

पर्यटकीय सम्भावना बोकेर पनि डहरे क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आइरहेको भन्दै नगरप्रमुख शर्माले डहेर क्षेत्र भित्र होम स्टे सञ्चालन गरी पर्यटकहरुलाई आकर्षित गर्ने योजना अनुसार होम स्टे सेवा विस्तार गर्न लागिएको बताए ।

९२ घरधुरी रहेको थापाठानाको खुम भन्ने ठाउँमा मगर समुदायको बाहुल्यता छ ।

हाल ७५ घरधुरी रहेका मगर समुदाय भित्रका घरबाट होम स्टे सेवाको शुभारम्भ गरिने छ ।

जिल्लाको डहरे देउराली क्षेत्र करिब २२ सय मिटरको उचाईमा रहेको र जैविक विविधतायुक्त भएकाले उक्त क्षेत्रमा बार्षिक हजारौ पर्यटक भित्राउन सकिने सम्भावना छ ।

उक्त क्षेत्रमा आउने पर्यटकलाई ब्यवस्थित बासका लागि पनि होम स्टे सेवा प्रभावकारी हुने नगरप्रमुख शर्माको विश्वास छ ।

नगरपालिका भित्रका ११ वटा वडामा हालसम्म होम स्टे सेवा नभएकाले पनि उक्त होम स्टे नगरपालिकाको पहिलो होम स्टे हुनेछ ।

होम स्टे सेवा विस्तारका लागि स्थानीय जीतबहादुर थापा मगरको नेतृत्वमा तर्दथ समिति समेत गठन गरिएको छ ।

होम स्टे सेवा सञ्चालनका लागि आवश्यक तालिम तथा सामाग्री सहयोग नगरपालिकाले गर्नेछ ।

सिकाई अध्ययनबाट प्रभावकारी होम स्टे सेवा सञ्चालनका लागि गठन भएको समितिलाई मोदी गाउँपालिका स्थित चित्रेमा रहेको होम स्टेमा अध्ययन अवलोकन भ्रमण गराउने समेत योजना रहेको नगरपालिकाले जनाएको छ ।

  • prabhu-bank-sept26.gif