शिवालय बहुमुखी क्याम्पसमा भवन निर्माण कार्य शुरु, सांसद गिरीद्धारा शिलान्यास

१२ फागनु, पर्वत । कुश्मामा रहेको शिवालय बहुमुखी क्याम्पसको आफ्नै भवन बन्ने भएको छ ।

स्थापनाको छोटो अवधिमा शैक्षिक क्षेत्रमा स्थापीत बन्दै गएको क्याम्पसले आफ्नै भवन निर्माण गर्न लागेको हो ।

भवनको अभावमा शिवालय माविमा अध्यापन हुँदै आएको उक्त क्याम्पसको शुक्रबार प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नै भवनको शिलान्यास गरेका छन ।

शुक्रबार क्याम्पसको बार्षिकोत्सव तथा साधारण सभाको अवसर पारेर गिरीले भवनको शिलान्यास गरेका हुन ।

झण्डै २ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शुरुवात गरिएको उक्त भवनका लागि हाल २५ लाख रुपैंया मात्र विनियोजन भएको क्याम्पस अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

भवन निर्माण गर्नका लागि ठूलो रकमको आवश्यकता पर्ने तर आवश्यक रकम भने हालसम्म पनि नजुटेको पहाडीले बताए ।

शिलान्यास पछि सांसद गिरीले भवन निर्माण सम्पन्न गराउने काममा केन्द्रिय सरकारको तर्फबाट आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । क्याम्पसको आफ्नै भवन नहुँदा शिवालय माविको भवन प्रयोग हुँदै आएको छ ।

विद्यालयको भवन प्रयोग गर्दा अध्यापन कार्यमा समस्या पर्दै आएकाले क्याम्पसले आफ्नै भवन निर्माण कार्यको शुरुवात गरेको हो । भवन शिवालय माविकै परिसरमा निर्माण हुँदैछ ।

सांसद गिरीले योसंगै आफू सांसद भएपछि दोस्रो पटक शैक्षिक भवनको शिलान्यास गरेका छन ।

उनले यस अघि आफूले अध्ययन गरेको दुर्लुङ स्थित काफलचौर माविको भवनको शिलान्यास गरेका थिए ।