रेडगार्ड सचिव देखि राष्ट्रिय सभा सदस्य

६ फागुन, पर्वत । २०३६ सालमा विद्यार्थी आन्दोलन चलेको थियो ।

राजनैतिक ब्यवस्था परिर्वतनका लागि शुरु भएको विद्यार्थी आन्दोलनमा गणेश तिमिल्सीना सहभागी थिए ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता तह अध्ययन गर्दै गर्दा उनी विद्यार्थी राजनीतिमा होमिए ।

पञ्चायतकालीन राज्यको दवदवाबाट राष्ट्रलाई प्रजातन्त्रको जगमा लैजानु पर्छ भन्नेमा उनी कट्टिबद्ध थिए ।

पर्वतको मोदीगाउँपालिका–७ मा २०१८ जेठ १२ गते जन्मेका तिमिल्सीनाले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पुरा गरेका हुन ।

विद्यार्थी जीवन दैखि नै प्रगतिबादी सोचका तिमिल्सीना २०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव भए ।

विद्यार्थी जीवन पोखरामा बिताएका उनले पोखराबाटै राजनैतिक जीवनको शुभारम्भ गरे ।

२०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निवाचित तिमिल्सीनाले २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरे ।

पार्टी राजनीतिको शुरुवातसंग सक्रिय राजनीति शुरु गरेका तिमिल्सीना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्वबियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए ।

तत्कालीन सरकार विरुद्ध विद्रोहको उदुघोष गर्दै २०४२ सालको बम काण्ड पछि तिमिल्सीनाले ४ बर्ष जेल जीवन विताए ।

तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ बर्ष तिमिल्सीनालाई पोखरा, भैरहवा, तौलिहवा, बीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

तिमिल्सीनासंगै जेलमा तत्कालीन कम्युनिष्ट नेताहरु केपि शर्मा ओली र हितकाजी गुरुङ थिए । ओली अहिले देशको प्रधानमन्त्री छन । उनी एमालेका अध्यक्ष पनि हुन ।

२०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनः पञ्चहरुको निशानामा परे । तत्कालिन सरकारले पक्राउ गरी ल्याउन टाउकोको मुल्य ५० हजार तोक्यो ।

अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रींय सदस्य भए ।

दोस्रो वैठकबाट केन्द्रिय आयोजक समिति बनेका उनी केन्द्रिय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोहि कमिटिका अध्यक्ष थिए ।

सोहि बर्ष पार्टी काममा मुस्ताङ्ग खटिएपछि नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बागलुङ्गको सचिव, २०५४ सालमा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटौ महाधिबेशनबाट बैकल्पिक केन्द्रिय सदस्य निर्वाचित हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।

२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौ महाधिबेशन पछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्दिंय सदस्यमा निर्वाचित तिमिल्सिना पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए ।

२०४९ को स्थानिय निर्वाचनमा पर्वतको राम्जादेउराली गाविसको अध्यक्षमा निर्वाचित तिमिल्सिना ०५४ सालको स्थानिय निर्वाचनमा पनि राम्जा देउराली गाविसको अध्यक्षमा निर्वाचित भए र त्यही बर्ष जिल्ला विकास समिति पर्वतको सभापतिमा जिम्मेवारी सम्हाले ।

एमालेको काठमाण्डौंमा भएको नवौ महाधिवेशन पछि पुनः केन्द्रिय सदस्य हुँदै अहिले उनी एमालेको पोलिटब्यूरो सदस्य छन ।

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा पर्वत क्षेत्र न १ मा पराजीत भएका उनी देश संघियतामा गएपछि पार्टीको तर्फबाट प्रदेश न ४ को सह–संयोजकको जिम्मेवारीमा छन ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश न ४ बाट प्रतिनिधित्व गर्दै उनी अहिले राष्ट्रिय सभा सदस्य समेत भएका छन ।

४ बर्षे जेल जीवनका सारथी ओली अहिले प्रधानमन्त्री बनेका छन । प्रदेशमा उच्च बरियताक्रममा रहेका तिमिल्सीनालाई अहिले आगामी मन्त्रीको सम्भावित अनुहारको रुपमा समेत हेरिएको छ ।

प्रदेश सह–संयोजक र पोलिटब्यूरो सदस्य रहेका उनले संसदीय राजनीतिको जिम्मेवारी अहिलेसम्म पाएका छैनन । समकक्षीहरु पटक पटक मन्त्री भईसकेको हुँदा उनलाई मन्त्रीको सम्भावित अनुहारको रुपमा हेरिएको छ ।

प्रदेश भित्रको धौलागिरी क्षेत्र (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) का सिनियर नेताको रुपमा हेरिने तिमिल्सीना राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका उच्च पदका नेता हुन ।

प्रदेश संयोजक किरण गुरुङ र पाटी सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश सभामा रहेका कारण तिमिल्सीनाले पदीय आधारमा सिनियर नेता हुने अवसर पाएका हुन ।

तिमिल्सीना अन्तरपार्टी समूहमा ओली निकट मानिन्छन । जेल जीवन देखि ओलीसंगको सहकार्य हालसम्म निरन्तर संगै रहेका उनी प्रदेश भित्र ओली समूहका सिनियर नेताकै लिस्टमा पर्छन ।

जिल्ला विकास समितिको सभापति देखि पार्टीका मुख्य मुख्य जिम्मेवारीमा रहँदा उनले विकास योजनामा अनुभव संहालेका कारण पनि आगामी क्याविनेटमा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने अनुहारको रुपमा उनलाई हेरिएको छ ।