चुनौतिका पहाड र अवसरका चाङ : गिरीको संसदीय यात्रा

सम्भवत : आगामी पौष महिना भित्र नयाँ सरकार बन्नेछ । बाम गठबन्धन ‘बन्धन’ मै बाँधिएको खण्डमा त्यो सरकारको नेतृत्व पनि बामगठबन्धनले नै गर्नेछ । भारी बहुमतका साथ विजय भएको बामगठबन्धन तोडिएर जाँदा भने एमाले बाहेकका शक्तिले पनि सरकार बनाउन सक्ने सम्भावना कायम छ । किनकि एमाले एक्लैसंग सरकार बनाउन बहुमत आउने सम्भावना कम छ । नयाँ सरकार बामगठबन्धनले नै बनाएमा बाम उम्मेदवारहरु वीच चुनौति र अवसरका चाङहरु तेर्सिनेछन । देशभर प्रत्यक्ष सिटमा बामगठबन्धनले निकै ठूलो सफलता प्राप्त गरेको छ । पर्वत जिल्लाको इतिहासमा पनि देशभरको जस्तै विरासत कायम भएको छ ।

विद्यार्थी राजनीतिमा चर्चित एमाले जिल्ला अध्यक्ष पदम गिरीले प्रतिनिधि सभाको निर्वाचन जितेका छन । उनले संसदीय राजनीतिका अपराजीत कांग्रेस नेता अर्जुन जोशीलाई हराउँदै आफ्नो पक्षमा जीत निकालेका हुन । योसंगै उनीसामू चुनौतिका चाङहरु तेर्सिएका छन । जोशीले जिल्लामा ठूला विकास योजनाहरु भित्राउन नसकेको भन्ने प्रतिपक्षीको आरोपलाई जनताले धेरै हदसम्म स्विकार गर्दै यो पटकका लागि जोशीलाई संसदीय यात्रामा ब्र्रेक लगाईदिए । त्योसंगै नयाँ अनुहारको रुपमा गिरीको राजनीतिमा उदय भएको हो ।

सडक कालोपत्रे

गिरीले आगामी ५ बर्षको अवधिमा जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता चुनावी अभियानमा जनाएका थिए । धुँलाम्बे सडकहरुको यात्रा कष्टकर भईरहेको बेला गिरीले घोषणा गरेको सडक कालोपत्रे उनको पहिलो एजेण्डा हो । २०५४ सालमा खनिएका जिल्लाका सडकहरु कतिकतै पनि कालोपत्रे छैनन । दोविल्ला फलेवास सडकको कालोपत्रे काम भईरहेपनि अन्य सडकहरुमा कालोपत्रेको काम भईरहेको छैन । जोशीले सडक कालोपत्रे नगरेको आरोप चिर्न पनि गिरीले सरकारी संयन्त्रको भरपुर उपयोग गरी सडक विस्तारलाई प्राथामिकता दिनुपर्नेछ ।

कालीगण्डकी लोकमार्ग

सडकहरु मध्ये कै बहुप्रतिक्षित कालीगण्डकी लोकमार्गमा बजेट कम आउने, आएको बजेटमा काम नहुने र प्रगति मन्द गतिमा भईरहेको छ । देशको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको कामलाई द्रूत गतिमा अगाडि बढाएर आफ्नो कार्यकालमा त्यो सडक पुरा गराउने चुनौति पनि गिरीका सामू तेर्सिएको छ ।

खेलकुद विकास

जिल्लास्तरीय खेल मैदानको अभावमा जिल्ला स्तरीय खेलकुद गतिविधिहरु समेत प्रभावित भईरहेको बेला युवा पुस्ताकै प्रतिनिधित्व गर्ने गिरीले आफ्नो कार्यकालमा जिल्ला स्तरीय खेलमैदानको निर्माण प्रमुख दायित्व पनि हो । योसंगै वडा र गाउँपालिका स्तरीय खेल मैदान निर्माण गरी खेलकुद क्षेत्रको विकासमा पनि ध्यान दिनु आवश्यक छ । यो संगै युवा पुस्ताको खेलप्रतिको मोह थप बढेर जानेछ ।

अर्को तर्फ युवा स्वरोजगार निर्माण पनि आगामी सरकारको प्रमुख प्राथमिकताको विषय हो । बर्षेनी विदेशीएका हजारौ युवाहरुलाई देशमै रोजगारीको सृजना गरी उनीहरुलाई स्वदेशमै रोजगारी दिने ब्यवस्था नमिलाउँदासम्म देशको विकास हुन सक्दैन । गिरीले जिल्लाका यूवाहरुलाई जिल्ला भित्रै रोजगारीको सृजना गराउनका लागि युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने छ ।

कृषि विकास

बाँझा रहेका खेतबारीहरुमा आधुनिक कृषि प्रविधिको प्रयोग गरी कृषिजन्य वस्तुको उत्पादन गरी जिल्लालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी योजनाहरु कार्यान्वयन गर्नु अर्को चुनौतिको विषय हो । बर्षेनी जिल्लामा अन्य जिल्लाबाट भित्रने कृषिजन्य वस्तुहरुका कारण जिल्लाको आर्थिक बृद्धिदर न्यून गतिमा बढेको छ ।  देशको चौथो सानो जिल्लालाई देशकै नमूना विकसित जिल्ला बनाउन गिरीसंगै प्रदेश सभाका सदस्यहरु नेत्रनाथ अधिकारी र विकास लम्सालको पनि उत्तिकै भूमिका हुनेछन ।

प्रदेश सभाबाट जिल्लाका लागि ठूला र जनताले रोजेका योजनाहरुमा ध्यान दिँदै स्थानीय तहहरुमा जनतामूखि विकास बजेट विनियोजन गराउन पनि प्रदेश सभा सदस्यहरुले भूमिका खेल्नुपर्ने दायित्व छ । यी सवै तहहरुको विकास बजेटको समेत अनुगमन गर्दै ठूला र दिर्घकालिन महत्वका योजनाहरु कार्यन्वयन गराउन गिरीले नसकेमा त्यसको समिक्षा भने अर्को ५ बर्षमा मतदाताहरुले फेरी गर्नेछन । पार्टी भित्रको आन्तरीक समस्याहरुको समाधान गर्दै संसदीय राजनीतिमा उदाहरणीय भूमिका निर्वाह गर्न विजयी उम्मेदवारहरुलाई चुनौति नै देखिन्छ ।

यो सामाग्री हामिले पर्वतबाट प्रकाशित अर्थ वीट साप्ताहिकबाट लिएका हौ ।