पर्वतको रानीपानीमा खानेपानीको चरम समस्या

१२ असार, पर्वत । जिल्लाको विहादी गाउँपालिका–३ रानीपानीस्थित इमिचौरमा खानेपानीको  समस्या भएको छ । यहाँको पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । नजिकै खानेपानीको स्रोत नहुँदा स्थानीय बासिन्दा डेढ घण्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् ।

लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि ६ बर्ष यता खानेपानीको समस्या भएको स्थानीय कुल बा.माझीले बताउनुभयो । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदासमस्या भएको उहाँले बताउनुभयो ।’खानेपानी नहुँदा पानीको जोहो गर्न घन्टौ टाढा जानुपर्ने भएको छ’ उहाँले भन्नुभयो, त्यो पनि नदिको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको छ ।

करीब ६ वर्षअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि पिउने पानीकै लागि दैनिक घण्टौं समय खर्चिनुपरेको हो । इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पुर्तिडाँडालगायत गाउँमा खानेपानीको सङ्कट सृजना भएको छ ।