सुन्तलाबाट मात्रै देउपुरमा ३ करोड भित्रियो

३० पुस, पर्वत । जिल्लाको मोदीगाउँपालिका २ देउपुरबाट मात्रै ३ करोड बढिका सुन्तला विक्री भएका छन । सुन्तलाको पकेट क्षेत्र मानिने देउपुरबाट यस बर्ष ३ करोड मूल्यका सुन्तला विक्री भएका हुन ।

मोदी गाउँपालिकाकन कृषि प्राविधिक सहायक शारदा आचार्यका अनुसार देउपुरमा ब्यवसायीक रुपमा लगाएका सुन्तलाबाट ३ करोड मूल्य गाउँमा भित्रिएको हो । यस बर्ष मौसमले साथ दिएका कारण सुन्तला उत्पादनमा बृद्धि भएसंगै कृषकको आम्दानीमा पनि बृद्धि भएको हो । गत बर्ष असिनाका कारण लाखौं कमाउने कृषकले हजार पनि कमाएका थिएनन ।

देउपुरमा झण्डै १ सय ५० कृषकले ब्यवसायीक सुन्तला खेती गर्दै आईरहेका छन । ब्यवसायीक रुपमा लगाइएका सुन्तला खरिदका लागि ब्यापारी भने गाउँमै आउने गरेका छन । यो पटक पोखरा, चितवन र काठमाण्डौंका ब्यापारी सुन्तला खरिदका लागि गाउँमा आएको कृषक दाताराम चापागाईले बताए । गाउँभरीमै धेरै सुन्तला विक्री गर्नेहरु मध्येका चापागाईले यो बर्ष सुन्तला प्रतिकिलो ६० रुपैंयामा विक्री गरेका छन । सुन्तला विक्रीबाट मात्रै उनले बार्षिक ३ लाख रुपैया कमाउँछन । कृषकहरुले ६० देखि ७० रुपैंया प्रति केजीसम्ममा कृषकले सुन्तला विक्री गरेका छन ।

देउपुरकै टिकाराम तिमिल्सीनाले लगाएका ३ सय बढि बोट मध्ये हाल १ सय बढि बोटहरुमा सुन्तला फलेका छन । उनल मात्रै ३ लाख ५० हजार भन्दा बढि आम्दानी गरेका छन । देउपुरको सुन्तला उचाई र मौसमको हिसावले निकै स्वादीला हुने भएका कारण पनि सुन्तलाको माग उच्च रहेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । कृषकहरुले उत्पादन गरेका सुन्तला खरिदका लागि ब्यापारीहरु गाउँमा आउने गरेकाले पनि बजारको समेत समस्या नभएको पौडेलको तर्क छ । उनले ब्यवसायीक कृषकलाई प्रोत्साहित गर्ने गरी गाउँपालिकाले विभिन्न कृषकमुखी कार्यक्रमहरु कार्यान्वयन गर्न लागेको भन्दै निर्वाहमुखी ब्यवसायबाट ब्यवसायीक बनाउने गरी गाउँपालिका अगाडि बढेको समेत बताए ।

जिल्लाकै सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र मध्ये जलजलाको बासखर्क पछि मोदीको देउपुरलाई चिनिन्छ । यो क्षेत्रमा मात्रै झण्डै ११ हजार बढि सुन्तलाको बोट रहेको प्राविधिक सहयाक आचार्यको भनाई छ । आचार्यका अनुसार गत बर्ष मात्रै देउपुरमा ४ हजार ५ सय सुन्तलाका बोट कृषकले थपेका छन । सरकारको ७५ प्रतिशत अनुदानको रकमबाट कृषकले लगाएका ति बोटबाट भने अवको ३ बर्ष पछि मात्रै सुन्तला फल्ने आचार्यले जानकारी दिईन ।

निर्वाहमुखी ब्यवसायबाट अघि बढ्दै गरेका देउपुरका कृषकहरुले आफ्नो बाँझो बारीहरुमा सवै क्षेत्र ढाक्ने गरी सुन्तलाका विरुवाहरु रोपेका छन । गाउँपालिकाको चित्रेमा ४ हजार, बाजुङमा ३ हजार ३ सय, देउरालीमा २ हजार ८ सय र देउपुरमा मात्रै ११ हजार गरी गाउँपालिका भरीमा कुल २१ हजार भन्दा बढि सुन्तलाका बोटहरु रहेको गाउँपालिकाले जनाएको छ । अर्थ वीट साप्ताहिकबाट

  • prabhu-bank-sept26.gif