निर्माण सामाग्री अभावले आयोजनाको निर्माण कार्य प्रभावित

३० पुस पर्वत । निर्माण सामाग्री अभाव भएसंगै जिल्लामा निर्माणधिन आयोजनाहरुको निर्माण कार्य प्रभावित बनेको छ । राष्ट्रिय गौरबका ठूला आयोजनालाई धेरै मात्रामा निर्माण सामाग्री चाहिने भएपनि आवश्यकता अनुसारको निर्माण सामाग्री क्रसर उद्योगले उपलब्ध गराउ नसक्दा निर्माण कार्य प्रभावित भएको हो । निर्माण कार्य प्रभावित भएसंगै आयोजनाले लक्ष्य निर्धारण गरेको समयमा आयोजनाका कामहरु सम्पन्न नहुने भएका छन ।

नदीजन्य पदार्थको उत्खनन नहुँदा आयोजनाहरुका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा, कंक्रिट लगायतका सामग्रीहरु अपुग भएका कारण द्रुत गतिमा निर्माणाधीन आयोजनाहरुमा असर परेको आयोजनाहरुले जनाएका छन । निर्माणाधीन मध्यपहाडी लोकमार्गमा कार्यरत इन्जिनियर अनिल सिलवालका अनुसार क्रसर उद्योगबाट आयोजनाका लागि खरिद गरिने सामग्री अभावका आयोजनाको निर्माण कार्य प्रभावित भएको बताउँछन ।

सामग्री अभावका कारण तीब्बत र भारतलाई जोड्ने कालीगण्डकी करिडोर, मध्य पहाडी लोकमार्ग, राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको कालीगण्डकी प्रसारण करिडोर, मध्य मोदी जलविद्यत, तल्लो मोदी जलविद्युत, राहुघाट जलविद्युत् लगायतका थुप्रै आयोजनामा समस्या उत्पन्न भएको आयोजना प्रमुख तथा इन्जिनियरहरुको भनाइ छ ।

कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका प्रमुख ओम गौचनले निर्माण कार्य तोकिएको समयमा पुरा गर्न समस्या रहेको बताउँछन । उनले निर्माण सामाग्रीहरुको उपलब्धता नबढाउने हो भने तोकेको समयमा काम पुरा गर्न समस्या रहेको बताए ।
निर्माणको अन्तिम चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाका अनुसार सामग्रीकै अभावमा सुरुङ र पावर हाउसको निर्माण कार्य प्रभावित बनेको छ ।

सुरुङमा आवश्यक कंक्रिटिङको लागि क्रसर उद्योगबाट खरिद गर्दै आएको सामाग्री क्रसर उद्योग दिन नसके पछि निर्माण कार्य प्रभावित भएको हो । जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले हाल सुरुङको निर्माण कार्य रोकिएको बताए । उनले निर्माण कम्पनीले क्रसरबाट ल्याउँदै आएको सामाग्री रोकिएसंगै निर्माण कार्य पनि प्रभावित भएको बताउँछन । निर्माण कम्पनीले आफ्नो निर्माण सामाग्री उत्पादन गर्दा पनि माग अनुसार पुराउन नसकेपछि स्थानीय क्रसरबाट निर्माण सामाग्री खरिद गरेको समेत जानकारी दिए ।

उता क्रसर उद्योगका सञ्चालनले भने निर्माण सामाग्री संकलनमा जिल्ला समन्वय समितिले कडाई गरेका कारण निर्माण समाग्री लक्ष्य गरेबमोजीम उत्पादन गर्न नसकेको बताउँछन । श्री दक्षिणामकाली क्रसर उद्योग, पर्वतका प्रबन्ध निर्देशक विप्लव हमालले राज्यको नीतिका कारण क्रसर ब्यवसाय नै धरापमा परेको गुनासा गर्छन । उनले ठूलो साधन प्रयोग गरेर खोलाबाट निर्माण सामाग्री निकाल्न नसकेका कारण माग अनुसारको आपूर्ति गर्न नसकेको बताउँछन । जिल्लामा निर्माणाधीन सरकारी देखि नीजि भवन निर्माणमा पनि सामग्री उपलब्ध गराउन समस्या परेको उनको भनाई छ ।