सम्बृद्ध शहरको लक्ष्य सहित कुश्मामा सघन सहरी विकास कार्यक्रम लागू

२८ पुस, पर्वत । आर्थिक वर्ष २०७३/७४ को बजेटमा तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने योजनाका साथ सञ्चालन गरिएको सघन सहरी विकास कार्यक्रम पर्वतमा पनि लागु हुने भएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा उक्त कार्यक्रम लागू हुने भएको हो । तराई–मधेसका महेन्द्रनगर, धनगढी, गुलरिया, नेपालगन्ज, तौलिहवा, सिद्धार्थनगर, परासी, वीरगन्ज, कलैया, गौर, मलङ्गवा, जलेश्वर, जनकपुरधाम, सिराहा, राजविराज, इनरुवा, विराटनगर र भद्रपुर गरी १८ सहरमा लागु गरिएको कार्यक्रम कुश्मामा पनि लागु गर्न लागिएको हो ।

यो कार्यक्रमका लागि एउटा जिल्ला सदरमुकामलाई रु ५० करोडका दरले रु नौ अर्ब विनियोजन गरिएको छ । यो कार्यक्रमलाई भित्री–मधेस, पहाडी र हिमाली क्षेत्रका जिल्ला सदरमुकाममा लागु हुनेछ ।

कार्यक्रम अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गका १० ठाउँमा आधुनिक सहरको भौतिक पूर्वाधार निर्माण हुँदैछन । कार्यक्रम अन्तर्गत कुश्मा, वालिङ, लुम्बिनी र डडेल्धुरालगायत १० सहरलाई आधुनिक एवम् समृद्ध स्मार्ट सहरका रुपमा विकास गर्न गुरुयोजना तयार गरी भौतिक निर्माणको काम आरम्भ गरिने भएको छ । कार्यक्रम लागू भएपछि कुश्माका सवै बजारका सडकहरु कालोपत्रे र विस्तार गरिनेछन ।