पोखरा–बागलुङ सडक अव ‘टुलेन’ को

२९ पुस, पर्वत । लामो समयदेखि जिर्ण रहेको पोखरा–बागलुङ राजमार्ग बल्ल सुधार गर्न थालिएको छ । धवलागिरीका विभिन्न जिल्ला प्रवेशको यो राजमार्ग बिग्रेर लामो समयदेखि अस्तव्यस्त थियो । वर्षाैदेखि टालटुलको भरमा चल्दै आएको राजमार्ग यो पटक बल्ल वृहत रुपमा सुधार गर्न थालिएको छ ।

सडक विभाग अन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सुर्यबहादुर भाटका अनुसार राजमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न थालिएको छ । चारवटा प्याकेज बनाएर राजमार्ग मर्मतसम्भार सहित बिस्तार गर्न थालिएको भाटले बताए ।
भाटका अनुसार तीनवर्ष पोखरा–बागलुङ (७२ किलोमिटर) खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । ‘पोखरा–बागलुङ राजमार्ग निकै नै अप्ठेरो भएको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो,’ भाटले भने, ‘अबको तीनवर्ष्भित्र यो राजमार्ग पुरै नयाँ बन्नेछ । दोहोरो सवारी चल्न मिल्नेगरि सडकले आकार लिनेछ ।’ राजमार्ग बिस्तार र मर्मतको काम गत कात्तिकदेखि सुरु भएको छ ।

भाटका अनुसार यो आयोजना पोखराबाट सुरु हुनेछ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ ।

उनका अनुसार जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । केही खण्ड पुरा भईसकेको छ । त्यसपछि फेँदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेँदीदेखि घट्टेखोलासम्म ९ मिटर फराकिलो सडक बन्ने उनले बताए । ‘अहिले पनि करिब ७ मिटर फराक सडक छ । अब बिस्तार गर्दा २ मिटर थपिएर कम्तिमा ९ मिटर फराकिलो हुनेछ,’ उनले भने, ‘त्यसमा ७ मिटर त कालोपत्रे मात्र हुनेछ । बाँकी खण्डमा नाला र फुटपाथ बन्नेछ ।’ उनले कुनैपनि खण्डमा दोहोरो सवारी आउजाउ गर्न सक्ने गरि सडक बिस्तार गरिने बताए ।

‘आगामि ३ वर्ष्भित्र पोखरा–बागलुङ सडकले नयाँ स्वरुप पाउनेछ,’ उनले भने, ‘गत कात्तिकदेखि काम सुरु भएको पनि छ ।’ उनका अनुसार यो राजमार्ग बिस्तार र स्तरोन्नती गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ । यो रकम सरकारले नै उपलब्ध गराउनेछ । ‘चारवटा निर्माण कम्पनिले काम गर्न थालेका छन् । आ–आफ्नो खण्ड छुट्याएर काम भईरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा निर्माण नै सुरु भईसक्यो । केही ठाउँमा नाँपजाँच भईरहेको छ । सबैले काम सुरु गरेका छन् ।’

उनका अनुसार नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो छ । ठाउँठाउँमा पहरो भएकोले चट्टान फुटाउन पनि समस्या रहेकोले बिस्तारमा समय लाग्नसक्ने उनले बताए । धेरै नै पहिले राजमार्ग बनिसकेकोले अहिले बिस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । ‘पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर क्लियर भईसकेको छ,’ उनले भने, ‘अहिले बिस्तार हुँदा पनि मुआब्जा दिनुपर्दैन ।’

यो राजमार्ग पछिल्लो समय भासिने समस्याले ग्रसित थियो । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पुरै नयाँ स्वरुपमा बिस्तार गर्न जरुरी भएको भाटले बताए । ‘सडकको लामै दुरी एकैपटक भासिने समस्या थियो । भासिनुको वास्तविक कारण पहिल्याउन जरुरी छ,’ उनले भने, ‘सडक बिस्तारसँगै भासिनुको कारण पनि खोजि हुनेछ । त्यसको समाधान नगरी सडक बनाउँदा भविश्यमा झनै समस्या आउनसक्छ । सकेसम्म मर्मतसम्भारको क्रममै समाधान खोजिनेछ ।’ उनले राजमार्गमा पर्ने पुल अझै साँघुरा भएकोले ती पुलको आकार बढाउने बारे पनि छलफल भएको बताए । ‘अहिले पनि २ वटा गाडी एकैपटक पार त गर्छन । तर, सहजै गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

राजमार्गको काँडेदेखी नयाँपुलसम्मको करिब १२ किलोमिटर मार्ग सबैभन्दा बढी क्षतविक्षत भएको थियो । सडकमा ठुला–ठुला खाल्डा परेका थिए भने कतिपय ठाउँमा कालोपत्रे समेत उप्किएकोमा अहिले पुरै भत्काएर मर्मतसम्भार गर्न थालिएको छ । अन्यन्तै नाजुक बनिसकेको सडकमा जुनसुकै बेला ठुलो दुर्घटना हुने खतरा बढेको थियो । सडकमा परेका खाल्डामा वर्षायाममा पानी जम्ने हुँदा झनै जोखिम थियो । पटके मर्मतमा वर्षेनी लाखौं रकम खर्च भएपनि त्यसले प्रतिफल लिन सकेको थिएन । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

मर्मतसम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँपुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मतसम्भारले निर्माण सामाग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन । बिस्तारको क्रमसँगै सवारीको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको छ । राजमार्ग पुरै धुलाम्य हुने गरेको छ । यो सडक हिमालपारिको जिल्ला मुस्ताङ जोड््ने एकमात्र राजमार्ग पनि हो । उक्त मार्ग हुँदै धवलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने सवारी आवतजावत हुन्छन । सन्तोष पोखरेल