दशनामी समाज पर्वतले सांसदद्धयलाई सम्मान गरयो

२९ पुस, पर्वत । नेपाल दशनामी समाज पर्वतले प्रतिनिधि सभा सदस्य पदम गिरी र प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारीलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमका वीच सांसदद्धयलाई समाजले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै सांसद गिरीले निर्वाचनमा सहयोग गर्ने सवै दशनामी बन्धुहरुलाई कृतज्ञता ब्यक्त गरेका थिए । सांसद गिरीले निर्वाचन जितेपछिका आफ्ना कार्यभारले कसैको शिर निहुरिन नहुने गरी आफूले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन । गिरीले विकास गर्न सकिने प्रचुर सम्भावना भएर पनि पर्वत जिल्ला धेरै पछाडी परेकाले त्यसलाई विकासको गतिमा हिडाउन आफूले प्रयास गर्ने दावी गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारीले जातीय आधारमा भन्दा बर्गिय आधारमा समाजको रुपान्तरण हुने भन्दै समाज परिर्वतन सवै क्षेत्र र वर्गको सहयोगले मात्र सम्भव हुने विश्वास ब्यक्त गरे । उनले खस आर्यका सन्ततीको रुपमा दशनामीहरु रहेको भन्दै जातीय सद्भाव संगै सांस्कृतिक र धार्मिक अधिकारको समेत संरक्षण हुनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा समाजका कोषाध्यक्ष नवराज गिरीले सांसदहरुसंग दशनामी समाजको अपेक्षाका बारेमा बोलेका थिए । समाजका उपाध्यक्ष कृष्ण गिरीको स्वागतमा सञ्चालन भएको कार्यक्रममा दशनामी समाजका पूर्व अध्यक्ष तुलसी गिरी र महिला प्रतिनिधि डिलकुमारी पुरीले मन्तब्य ब्यक्त गरेकी थिइन । समाजका अध्यक्ष योगराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव डम्मर गिरीले गरेका थिए । कार्यक्रममा सांसदद्धयलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दशनामी समाज भित्र गिरी, पुरी, भारती, वन, तिर्थ, आश्रम, पर्वत, सागर, सरस्वती र तिर्थ गरी १० प्रकारका जातीहरु पर्दछन । नेपालको पछिल्लो संविधानले दशनामीलाई छुट्टै स्थान प्रदान गरेर सुचिकृत गरेको छ । दशनामीहरु खस आर्य सम्प्रदाय अन्तर्गत पर्दछन ।