खरेहा–ज्ञादी झोलुंगे पुलको निर्माण कार्य शुरु

२४ पुस, पर्वत । कुश्माको वडागाउँ देखि मुडिकुवा जाने सडक बनेसंगै कुश्माबाट यात्रा सहज मात्र होइन, कुश्माबाट ज्ञादी क्षेत्रमा जानका लागि कुश्मा–ज्ञादी झोलुंगे पुल निर्माण भएको झण्डै ६ बर्ष पछि कुश्माको खरेहाबाट ज्ञादीको अधिकारी फाँटमा अर्को पुल निर्माण हुँदैछ । उक्त झोलुंगे पुलको निर्माण कार्य शुरु भएको छ ।

आगामी १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु भएको उक्त झोलुंगे पुलले ज्ञादीको कटुवाचौपारी, पिपलटारी, ठुलिपोखरी, खौला, कार्किनेटा र थापाठानाका स्थानीयले प्रत्यक्ष लाभ लिन सक्नेछन । अग्लो पुलको रेकर्डमा चिनिएको कुश्मामा निर्माण हुन लागेको उक्त झोलुंग पुल १ करोड ९१ लाख ४ हजारको लागतमा निर्माण हुँदैछ ।

गत असार २९ गते ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएको उक्त झोलुंगे पुललाई एमके मुक्तिनाथ निर्माण सेवा प्रालिले निर्माण गर्न लागेको हो । ३ सय ५९ मिटर लामो उक्त पुलको उचाई भने १ सय २८ मिटर रहेको छ । मोदीखोलाको अग्लो खोँचमा निर्माण हुने यो पुल पर्वतको लागि पाँचौ अग्लो पुल हो । पुल निर्माण पछि जिल्लाको ज्ञादी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारमा समेत बजार पाउने पुल निर्माण समितिका सह सचिव गणेश शर्मा अधिकारी बताउँछन ।

यो पुल बाहेक कुश्मा–ज्ञादी झोलुंगेप पुल, बडागाउँ–कैया झोलुंगे पुल, बडागाउँ–मुडिकुवा झोलुंगे पुल र देविस्थान–कुर्घा झोलुंगे पुल निर्माण भईसकेका छन । यी सवै अग्लो खाँेच माथि निर्माण भएका पुल हुन । झोलुंगे पुलहरुको जिल्ला बागलुङको सिमानामा रहेको पर्वतमा निर्माण भएका अग्ला पुलहरुले जिल्लाको पर्यटन विकासमा समेत टेवा पुगिरहेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलको भनाई छ । उनले अग्ला पुलहरुहरु हेर्न आउने स्वदेशी र विदेशी पर्यटकको संख्यामा बृद्धि भएको दावी गरे । अर्थ वीट साप्ताहिकबाट साभार