करिडोरको पर्वत खण्ड बागलुङ खण्ड भन्दा ३० किलोमिटर छोटो

२४ पुस, पर्वत । कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला र लमायखोलामा मोटरेवल पुल निर्माण कार्य अघि बढेको छ । शुरुवातमा कालीगण्डकी करिडोर पर्वत खण्ड हुँदै जाने गरी योजना गरिएपनि राजनैतिक पहुँचका कारण करीडोर गुल्मी–बागलुङ खण्डमा सारिएको थियो । उत्तरको चिन र दक्षिणको भारत जोड्ने राष्ट्रिय महत्वको आयोजना करिडोरको बागलुङ र गुल्मी खण्डमा ट्रयाक खोल्ने कार्य सकिएको छ । योसंगै उक्त खण्डमा सवारी चल्न शुरु गरेका छन । उता, पर्वत खण्डको कार्य भने सुस्त गतिमा भईरहेको छ ।

जिल्लाका जनप्रतिनिधिहरुको वेवास्ताका कारण रुट परिर्वतन भएको करिडोरको पर्वत खण्डमा विनियोजन भएको रकम खर्च गर्न नसक्दा निर्माण कार्य मन्द गतिमा अघि बढेको हो । करिडोरका प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वत खण्ड पुरा भएपछि बागलुङ खण्ड भन्दा झण्डै ३० किलोमिटर सडकको यात्रा पर्वत खण्डमा छोटो पर्नेछ । गुल्मी देखि बागलुङसम्म झण्डै ८३ किलोमिटर सडक छ । पर्वत खण्डमा भने मिर्मिदेखि कुश्मासम्म झण्डै ५० किलोमिटर सडक निर्माण हुँदैछ ।

योसंगै दक्षिणी भारत पुग्नका लागि पर्वत खण्डको निर्माण कार्य पुरा भएमा उत्तर चिनबाट आउने सवारी साधनहरु पर्वत खण्ड हुँदै सञ्चालन हुनेछन । भण्डारी भन्छन ‘बजेट भने पर्वत खण्डमा भन्दा बागलुङ गुल्मी खण्डमा बढि छ ।’ पहुँचले करिडोरको सडक काली पारी गएपनि दुरीको हिसावले पर्वत खण्डमा थोरै पर्छ । यो खण्डमा सवारी नियमित सञ्चालन हुँदा यात्राको दुरी छोटिनेछ । जसले गर्दा उत्तर दक्षिणको यात्रा थप सहज हुने विश्वास लिन सकिन्छ । पर्वतबाट प्रकाशित अर्थ वीट साप्ताहिकबाट

  • prabhu-bank-sept26.gif