लिमिठाना माविमा ‘स्मार्ट कक्षा’ सञ्चालन हुँदै

२१ पुस, पर्वत । जिल्लाको फलेवास नगरपालिका स्थित लिमिठाना माध्यमिक विद्यालयमा स्मार्ट कक्षाबाट अध्यापन हुने भएको छ । विद्यालयले कक्षा ६, ७ र ८ का विद्यार्थीहरुका लागि कम्युटरको माध्यमका कक्षा सञ्चालनको तयारी भएको हो ।

विद्यालयमा जडान गरिएका १० वटा कम्युटरको सहायताले शुरुमा अंग्रेजी, विज्ञान र गणित विषयको कक्षा सञ्चालनको तयारी भएको छ । विद्यालयले स्थानीय एक गैर सरकारी संस्थाको सहयोगमा १० थान कम्युटर, प्रोजेक्टर र अन्य भौतिक सामाग्रीको ब्यवस्था गरिसकेको छ । विद्यालयका प्रअ यामप्रसाद शर्माका अनुसार विद्यालय झण्डै १२ लाखको लागतमा भौतिक संरचना तयार भईसकेको र इन्टरनेटको ब्यवस्थापनसंगै चालु शैक्षिक शत्रबाटै कक्षा सञ्चालन हुनेछ ।

विद्यालयहरुमा कम्युटर शिक्षा अनिवार्य गरिएको बेला ग्रामीण भेगमा रहेको उक्त विद्यालयले आधुनिक सुविधासम्पन्न गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी तयारी गरेको हो । कक्षा सञ्चालनका लागि भवन समेतको निर्माण भएको छ । कक्षामा प्रोजेक्टरको माध्यमबाट इन्टरनेटमा उपलब्ध शैक्षिक सामाग्रीका आधारमा अध्यापन गराइनेछ । हालका लागि १० थान कम्युटर भएपनि निकट भविश्यमा ४० वटा कम्युटरको ब्यवस्थापन गरी सिंगो कक्षा नै कम्युटरको माध्यमबाट अध्यापन गराउने गरी विद्यालयले तयारी गरेको प्रअ शर्माले जानकारी दिए ।

‘विद्यार्थीका माग र चाहना बमोजीम हामी अव स्मार्ट कक्षा सञ्चालनको तयारीमा छौं’ शर्माले भने –‘प्रविधियुक्त गुणस्तरीय शिक्षाले दक्ष जनशक्ति उत्पादन हुनेछन ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बेला उक्त विद्यालयले गैर सरकारी संस्थाहरुको सहयोगमा स्मार्ट कक्षा सञ्चालनको तयारी गरेको हो । विद्यालयले स्थानीय सोर्डक नेपाल मार्फत गुर्ड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा कक्षा सञ्चालनको लागि भौतिक सहयोग जुटाएको छ । प्रअ शर्मा भन्छन–‘सवै शिक्षकलाई कम्युटर तालिम लिएर दक्ष बन्न निर्देशन दिएका छौं ।’

फलेवास नगरपालिकाकाले आगामी शैक्षिक शत्र देखि सवै विद्यालयहरुमा अंग्रेजी माध्यमको अध्यापन अनिवार्य गराउने गरी तयारी गरीरहेको बेला लिमिठाना माविले भने विद्यालयमा स्मार्ट कक्षा सञ्चालनको तयारी गरेको हो । अर्थ वीट साप्ताहिकबाट