फलेवासका कृषकलाई बजारको समस्या

१७ पुस, पर्वत । फलेवास नगरपालिका क्षेत्रका कृषकले कृषिजन्य वस्तुहरुको उत्पादनमा बृद्धि भएपनि बजारको समस्या रहेको बताएका छन । उत्पादन भएको सामाग्री विक्रीका लागि बजारको अभाव हुँदा कृषि पेशा नै संकटमा परेको उनीहरुको भनाई छ ।

फलेवास नगरपालिका खानीगाउँमा ४ जना युवाहरुले सञ्चालन गरेको श्रेष्ठ पोल्टि फार्ममा उत्पादीत अण्डाले बजार नपाउँदा कृषक चिन्तित बनेका छन । उनीहरुले चितवनबाट आउने अण्डासंग सदरमुकाममा प्रतिस्पर्धा गर्न नसकेको र ग्रामीण क्षेत्रमा अण्डा विक्री नभएको बताएका छन ।
फार्मका सञ्चालक विश्व विक्रम श्रेष्ठले दैनिक १ हजार देखि १ हजार २ सयसम्म अण्डा उत्पादन हुँदै आएपनि त्यसको विक्रीमा समस्या परेको बताउँछन ।

‘गाउँमा अण्डाको माग कम छ, बजारमा बाहिरी उत्पादनसंग प्रतिस्पर्धा सकिँदैन’ उनी थप्छन–‘अव नगरपालिका कार्यालय अगाडि लगेर अण्डा फुटाउनु बाहेक हामीसंग विकल्प छैन ।’ झण्डै २० लाखको लागतमा फार्मको शुरुवात गरेका श्रेष्ठ सहितका युवाहरुले वैकल्पिक बजार नखोजेसम्म ब्यापारलाई निरन्तरता दिन नसकिने बताए । विदेशबाट फर्केर ब्यवसाय शुरु गरेका ४ जनै युवाले उत्पादनमा भन्दा त्यसको विक्रीमा समस्या रहेको भन्दै लगानी उठाउन समस्या परेको दावी गरे । कुखुरासंगै बंगुरपालन ब्यवसाय समेत शुरु गरेका उनीहरुले हाल ८ वटा बंगुर पालिरहेका छन । १ हजार लेयर्स कुखुराबाट आफ्नो ब्यवसाय शुरु गरेका उनीहरुले कुखुराका अण्डाले बजार पाउने हो भने मासिक १ लाख ५० हजारसम्म खुद मुनाफा हुने बताउँछन ।

राज्यले कृषकमुखी कार्यक्रम ल्याएपनि कृषकले उत्पादन गरेको सामाग्री विक्रीको प्रवन्ध सरकारले नगरेको प्रति रोष प्रकट गर्दै फलेवासकै लिमिठानाका कफी कृषकले आफ्नो २ क्यून्टल भन्दा बढि कफी बोटमै खेर गएको बताउँछन । कफी सहकारी संघकी सचिव जानुका पन्तले कफी विक्री गर्ने क्रेता नपाउँदा गाउँभरीका कफीहरु बोटबाटै झर्न थालेको बताउँछिन । गत बर्षसम्म जिल्ला कफी सहकारी संघले किन्दै आएपनि यो बर्ष सहकारीले कफी विक्री नभएको भन्दै यो बर्ष गाउँबाट कफी खरिद नगर्ने भएपछि उनीहरु मर्कामा परेका हुन । गाउँमा उत्पादन भएका सवै कफी विक्री हुँदा बार्षिक लाखौ रकम गाउँमा भित्रन्छ । तर कफी बजारसंग कृषकको प्रत्यक्ष सम्पर्क नभएका कारण उनीहरुको कफी बोटमै झरेर गएको छ । जिल्लामा उत्पादनमुखी ब्यवसायहरुमा कृषकहरु दिन प्रतिदिन आकर्षित हुँदैछन । तर उनीहरुको उत्पादनले बजार नपाउँदा कृषकहरु कृषिकर्मबाट विस्थापीत हुने क्रम पनि उत्तिकै मात्रामा देख्न सकिन्छ ।

गाउँमा उत्पादीत कृषिजन्य सामाग्रीहरुको विक्री नभएको बारेमा फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले बजार खोज्ने दायित्व नगर सरकारको पनि भएकाले त्यसको प्रवन्ध छिट्टै गर्ने दावी गरे । उत्पादीत कृषिजन्य बस्तुको बजारका विषयमा सरोकारवालाहरुसंग समन्वय गरिने उनले बताए ।

  • prabhu-bank-sept26.gif