पिपलटारीको सांसद धोको, नेपालीले पूरा गरिन

१४ पुस,पर्वत ।  साविकको पिपलटारी गाविस कम्युनिष्ट आन्दोलनको उद्गम थलो हो । जिल्लाको कम्युनिष्ट आन्दोलनमा पिपलटारीको ठूलो देन छ । शिक्षक राजनीतिबाट गणेश शर्मा पौडेलले चलाएको समाज परिर्वतनको आन्दोलनले कम्युनिष्ट आन्दोलनलाई थप उचाई दिएको थियो ।

निरन्तर र लामो समय कम्युनिष्ट आन्दोलनको अगुवाई गरेको कुश्मा नगरपालिका वडा न १० पिपलटारीबाट जिल्लाको नेतृत्वदायी भूमिका समेत नेतृत्व पंक्ति खडा भएको छ । कम्युनिष्ट आन्दोलनमा ठूलो कुरवानी गरेको पिपलटारीले पटक पटक आफ्नो ठाउँका नेतालाई सांसद बनाउने यात्रालाई विश्रान्ती पाएको थियो ।

२०५६ सालमा तत्कालीन मालेबाट नेता गणेश शर्मा पौडेल चुनावी मैदानमा होमिए । उनी पराजीत भए । पौडेल २०६४ सालमा दोस्रो पटक उम्मेदवार बने । उनी फेरी फराजीत भए । २०७० सालको निर्वाचनमा समेत पौडेल तेस्रो पटक उम्मेदवारका आकाक्षी थिए । उनी अन्तिममा उम्मेदवार बन्नबाट बञ्चित भए । नेपालमा भएको पछिल्लो आम निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा पौडेल चौथो पटक उम्मेदवारको आकाक्षीको रुपमा प्रस्तुत भए । चौथो पटक पनि पौडेल उम्मेदवार बन्नबाटै बञ्चित बने । क्रमशः पटक पटक पिपलटारीले सांसद बन्ने नेताहरुको चाहनालाई थाती राख्न बाध्य भयो ।

राज्यको पद सम्हाल्ने नेताहरुको चाहनामा स्थानीय तहको निर्वाचनमा समेत पिपलटारीका मेघनाथ सुवेदी कुश्मा नगरपालिकाको उम्मेदवार बन्ने अवसर पाए । त्यो अवसरलाई उनले सदुपयोग गर्न सकेनन । पराजीत भए । स्थानीय तहकै निर्वाचनमा वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको प्रमुख बन्ने शान्त पौडेलको इच्छा समेत साकार भएन । उनलाई पार्टीले त्यो पद दिएन ।

पाटी राजनीतिमा जिल्लाको शक्ति केन्द्रको वरीपरी रहेका नेताहरुलाई उन्छिदै प्रदेश सभामा यतिबेला जुनादेवी नेपाली सांसद बनेकी छिन । कुश्मा नगरपालिका वडा न १० पिपलटारीकी नेपाली सामाजिक परिचालनको लामो अनुभव सम्हालेकी एमाले नेतृ हुन । नेपालीलाई सांसद बनाएसंगै एमालेले पर्वतका दलितहरुलाई न्याय गरेको छ । यस अघि जिल्ला समन्वय समितिको प्रमुखमा पनि दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गर्दै मनोहर विश्वकर्मा पौडेललाई एमालेले प्रमुख बनाएको थियो ।