पाङ र खुर्कोट पुगेर गिरीले भने–‘संसद भवन भित्र काम गर्दा पर्वतबासीको अनुहार सधै सम्झनेछु’

८ पुस, पर्वत । कुश्मा नगरपालिका १ पाङमा पुगेर प्रतिनिधि सभाका सांसद पदम गिरीले संसद भित्र काम गर्दा सधै पर्वतबासीको अनुहार सम्झेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । शनिवार कुनपा १ पाङ र कुनपा २ खुर्कोटमा मतदातालाई धन्यवादन दिन पुगेका गिरीले सिंहदरवार भित्र आफू बस्दा सधै पर्वत र पर्वतबासीको हितको पक्षमा काम गर्ने बताएका हुन ।

प्रतिनिधि सभामा नसोचेको अत्याधिक मत दिएको भन्दै सांसद गिरीले पाङबासीको गुन सधै सम्झीरहने बताए । उनले भने–‘तपाईले अत्याधिक मत दिएर जुन गुन लगाउनु भएकोछ, त्यो म कहिल्यै भुल्ने छैन ।’ पाङ जिल्लाकै शैक्षिक र बौद्धिक ब्यक्तिहरु बस्ने गाउँ भएको भन्दै पाङलाई ज्योतिष गाउँको रुपमा विकसित गर्ने गरी आफूले पहल गर्ने समेत बताए । कार्यक्रमका बोल्दै गिरीले सदरमुकामको नजिकै रहेर पनि सधै अपहेलता बेहोरेको पाङको विकास गर्न पाङबासीले दिएको जनमतले आफू निकै भावुक रहेको भन्दै पहिलो प्राथामिकतामा आफूले मुख्य सडक कालोपत्रे गरेर साइकलमा यात्रा गर्ने वातावरण सृजना गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारीले परिर्वतगामी जनताको पदवी भिरेर पाङबासीले नयाँ नेपाल निर्माणको अभियानलाई साथ दिएको बताए । उनले कार्यक्रममा बोल्दै पाङ र खुर्कोट कोहि राजनैतिक दलको पेवा नभएको भन्दै जनताको इच्छा बमोजीमको विकास गर्ने दललाई यहाँका जनताले विश्वास गर्ने समेत बताए ।

शनिवार खुर्कोट र पाङका विभिन्न बस्तीहरुमा उम्मेदवारहरुले धन्यवाद कार्यक्रमको आयोजना गरेका थिए । नेपाली कांग्रेसले आफ्नो पक्षका मतदाताहरु धेरै रहेको भनेर दावा गरेको पाङमा बामगठबन्धनलाई अत्याधिक मत परेको थियो भने, खुर्कोटमा पनि बामगठबन्धनले बहुमत प्राप्त गरेको थियो ।