स्वर्गीय पौडेलको स्मृतिमा यूवाहरु वीच क्वीज प्रतियोगीता

२ पुष, पर्वत । रोट्याक्ट क्लव अफ इन्टरनेशनल नेपाल पर्वतले रोट्याक्ट क्लव अफ पर्वतको आयोजनामा पर्वतमा जोन फोर स्तरीय रोटा क्वीज प्रतियोगिता सम्पन्न गरेको छ । रोट्याक्ट क्लव अफ पर्वतले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक क्लवले नै प्रथम स्थान हासिल गरेको छ ।

क्लवका पुर्व अध्यक्ष सन्तोष पौडेलको स्मृतिमा रोट्याक्ट क्लव नेपालले सन्तोष पौडेल रोटा क्वीज हरेक बर्ष सञ्चालन गर्ने घोषणा गरेको थियो । पौडेलको दुर्घटनामा देहवसान सँगै सोही बर्ष नेपालका १ सय भन्दा बढी रोट्याक्ट क्लव मध्ये उत्कृष्ठ क्लवका रुपमा उनी अध्यक्ष रहेको रोट्याक्ट क्लव अफ पर्वत घोषणा भएका कारण त्यसैलाई स्मरण गर्दै रोट्याक्ट क्लव अफ नेपालले हरेक बर्ष क्वीज प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो ।

यस बर्षको उपाधि सँगै रोट्याक्ट क्लव अफ पर्वतले लगातार तीन बर्ष क्वीज प्रतियोगिताको उपाधि हात पारेर ह्याट्रिक गर्न सफल भएको रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

आयोजित कार्यक्रमको उद्घाटन रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमालले गरेका थिए । उदघाटन कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै हमालले युवा उद्यमशिलताले राष्ट्र विकास हुने धारणा राखे । स्वर्गीय पौडेलले देखाएको समाज सेवा प्रतिको कर्तब्य पुरा गर्ने दायित्व सवै युवाहरुकोे रहेको समेत उनले बताए ।

प्रतियोगितामा रोट्याक्ट क्लव जोन फोर अन्तरगतका बागलुङ, कास्की लगायत विभिन्न जिल्लाका १० वटा क्लव सहभागी भएका थिए । प्रतियोगितामा रोट्याक्ट क्लव अफ मणिपालको समुह द्धितीय भएका थिए । रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट्याक्ट डिष्ट्रिकको तर्फबाट अच्युत तिवारी, रोटरी डिष्ट्रिकको तर्फबाट गोपी अधिकारी, आदर्श अंग्रेजी आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्री, सन्तोष मेमोरियल फाउण्डेसनका अध्यक्ष नारायण पौडेल, जोन फोरका जेडआरआर दिपेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी लगायतले बोलेका थिए ।

स्वागत मन्तव्य रोट्याक्ट क्लव अफ पोखरा लेखसाइडका अध्यक्ष सुवास मल्लले गरेका थिए भने सञ्चालन रोट्याक्ट क्लव अफ पर्वतका सचिव अमृत पोख्रेलले गरेका थिए ।