पर्वतको मतगणना स्थलमा यस्तो छ सुरक्षा ब्यवस्था

२३ मंसीर, पर्वत । शुक्रबार साँझबाट शुरु भएको पर्वतको मतगणना कार्य जारी छ । राजनैतिक दलका प्रतिनिधिहरुका वीचमा भईरहेको मतगणनामा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सदरमुकाम स्थित जिल्ला अदालतमा ३ वटै सुरक्षा संयन्त्रको विशेष निगरानीमा मतगणना कार्य भईरहेको छ । मतगणना कार्यको पहिलो घेरामा नेपाल प्रहरी छ । नेपाल प्रहरीसंगै शसस्त्र प्रहरी वल र नेपाली सेनाले विशेष पहरा दिईरहेका छन । मतगणना स्थल अदालत परिसर भन्दा झण्डै १ सय मिटर वरीपरी सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ । कुश्मा–मुडिकुवा र कुश्मा–बलेवा अग्ला पुल जाने कालोपत्रे गरिएको मुल बाटोमा सवारी आगमनलाई बन्द गरिएको छ ।

पहिलो सुरक्षा घेरा जिल्ला अस्पताल अगाडि नेपाल प्रहरी निगरानीमा खटिएको छ । त्यहाँबाट चेकजाँच गरी भित्र जानेहरु जिल्ला सरकारी वकिलको कार्यालय अगाडिकोे चौपारीसम्म पुग्ने ब्यवस्था छ । त्यस पछि दोस्रो सुरक्षा घेरामा नेपाल प्रहरीले पहरा दिएको छ । उक्त घेराबाट आधाकारिक प्रवेश पास भएकाहरु मात्र भित्र जान पाउनेछन ।

उक्त घेरामा निर्वाचनमा खटिएका कर्मचारी, राजनैतिक दलका एजेण्ट र परिचय पत्र भएका पत्रकार, सञ्चारकर्मीलाई मात्र प्रवेश गर्ने ब्यवस्था मिलाइएको छ । तेस्रो घेरामा नेपाल प्रहरी र शशस्त्र प्रहरीले विशेष चेकजाँच गरेपछि जिल्ला अदालतको मुख्य गेटबाट परिचय पत्रका आधारमा भित्र प्रवेशको ब्यवस्था मिलाइएको छ । जिल्ला अदालत परिसरमा पुगेपछि मूख्य ढोकाबाट भित्र पस्नका लागि राजनैतिक दलका एजेण्ट र कर्मचारी बाहेक भित्र जान अनुमति दिइएको छैन ।

मतगणना कार्यलाई सुरक्षित र भय रहित बनाउन जिल्ला स्तरीय सुरक्षा निकायले अदालतको मुख्य ढोकामा बसेर रिपोटिङ गर्न मिल्ने  गरी पत्रकारहरुलाई अनुमती प्रदान गरेको छ । मुख्य ढोकाबाट भित्र पनि दुई चरणको सुरक्षा ब्यवस्था छ । ढोका भित्र नेपाली सेना र शसस्त्र प्रहरीले पहरा दिएको छ । उक्त सुरक्षा घेरा पछि तार, जालीको प्रवन्ध गरी राजनैतिक दलका एजेण्डलाई जाली बाहिर राखिएको छ । दलका एजेण्डलाई मोवाईल प्रयोगमा निशेष गरिएको छ ।

उनीहरुले अदालतको मुख्य ढोका बाहिर नै आफ्नो मोवाइल राखेर भित्री कोठामा प्रवेश गर्नुपर्ने छ । उता, निर्वाचनमा खटिएका कर्मचारीले समेत मुख्य ढोका भित्र मोवाइल फोन प्रयोग गर्न नपाउने ब्यवस्था मिलाइएको छ । जाली भित्र आधाकारिक मतगणना गर्ने कर्मचारीहरुलाई मात्र प्रवेशको ब्यवस्था छ । मतगणनाको विवरण माइकबाट सार्वजनिक गर्ने गरी ब्यवस्था मिलाइएको छ ।