पर्वतमा मतगणना स्थलको निर्माण यसरी हुँदैछ, मतगणना स्थलमा तारजाली र उच्च सुरक्षा प्रवन्ध

२० मंसीर, पर्वत । भोली सम्पन्न हुने आम निर्वाचनको मतगणना पर्वत जिल्ला अदालतमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एकै साथ जिल्ला अदालत परिसरमा गरिनेछ ।

मंसीर २१ गते सम्पन्न हुने निर्वाचनको बेलुका ८ भित्र सवै मतपेटिका सदरमुकाम आइसक्ने र राजनैतिक सहमती लिएर मंसीर २२ गते देखि नै मतगणना कार्य शुरु गर्नेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरीरहेको छ ।

३ वटा कोठामा ३ जना प्रतिनिधि चयनका लागि भएको मतगणना हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिए । शर्माका अनुसार प्रतिनिधि सभाको एउटा स्थानमा मतगणना हुनेछ भने बाँकी दुई प्रदेश सभाको छुट्टा छुट्टै स्थानमा मतगणना हुने भएको छ ।

मतगणना स्थलको सुरक्षाका लागि उच्च सुरक्षा प्रवन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । मतपत्रको सुरक्षाका लागि राजनैतिक दलका एजेण्टलाई समेत मतपत्र भएको स्थानमा जानबाट रोक्न तारजाली लगाइएको छ ।

जिल्लाका ७४ वटा मतदान स्थलहरुबाट संकलन भएका मतपेटिकाहरुलाई २१ गते देखि नै राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा उच्च सुरक्षाका साथ अदालत परिसरमै राखिनेछ ।

  • prabhu-bank-sept26.gif