यसरी भयो बोत्स्वानाको समृद्धि

सुरेश प्राञ्जली

बीबीसीले सन् २००५ मा लेखेको थियो, ‘बोत्स्वाना स्वतन्त्र हुनु ठीक पूर्व त्यहाँ निराशा, अस्थिरता र अभावबाहेक सायदै केही थियो । तर आज, त्यहाँ सबैथोक छ ।’ हुन पनि हो, त्यहाँ कंक्रिटका मात्रै होइन, आशा र गौरवका अग्ला महल पनि उसैगरी ठडिएका छन् । त्यति मात्रै होइन, बोत्स्वानाको भूमिमा समृद्धिको बास्नादार फूल फुलेका छन् । ती फूल त्यसै फुलेका होइनन्, बोत्स्वानी जनताको अथक पौरखद्वारा फुलाइएका हुन् ।

अहिले ती पौरखी बोत्स्वानी जनताका आँखामा सार्वभौमिकता खोसिएर औपनिवेशिक पीडा सहनुपरेको पश्चात्तापको राप होइन कि आफ्नो सार्वभौमसत्ता कब्जा गर्नेहरूसँग प्रतिस्पर्धा गर्ने आँट छ । उपनिवेश बन्नुपर्दा थिल्थिलिएको मनको घाउ निको भइसकेको छ, अब त त्यही मनमा दरिलो अठोट पलाएको छ । बोत्स्वानालाई उप्रान्त कसैले हेप्न सक्ने छैन, न त कसैको हस्तक्षेप नै खेप्नुपर्नेछ । बोत्स्वाना अब एउटा स्वतन्त्र पक्षी बनेको छ, जोसँग आफ्नै पखेटा र उड्नको लागि चाहिने आकाश दुवै छ ।

एक्काईसौं शताब्दीमा उनीहरूले फेर्ने श्वास सन्तोषको श्वास बनेको छ । अब गरिबीको सुस्केरा कत्ति पनि छैन ती बोत्स्वानीको श्वासमा । पछौटेपन र अभावको जाँतोमा जति पिसिनु थियो, पिसिइसके उनीहरू । कहरको भुंग्रोमा जति पोलिनु थियो, पोलिइसके उनीहरू । अब ती सबै इतिहास बनिसके । उनीहरू उक्त इतिहास कोट्याउनु निरर्थक ठान्छन् ।

बरु, आउने दशकमा बाँकी विश्वसँग कसरी आर्थिक प्रतिस्पर्धा गर्ने भनेर योजना र रणनीति बनाउँछन् । किनभने, विगत सम्झेर पछुताउनु मूर्खता सिवाय केही होइन भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ । र त, आज बोत्स्वानी जनतासँग एउटा समृद्ध विपना छ । उनीहरूसामु रहेको समृद्ध विपनाको भरपर्दो साक्षी त्यहाँको भौतिक पूर्वाधारको विकास हो । हरेक सामाजिक आर्थिक सूचकको पारो उकासिनु हो ।

सन् १९६० को दशकको मध्यतिर स्वतन्त्रता पाएको बखत उसको अर्थतन्त्र कत्ति पनि उत्साहप्रद थिएन । बरु, अफ्रिकाको एउटा गरिब मुलुकको रूपमा विकासका मनग्य चुनौती थिए । सन् १९६६ मा स्वतन्त्र हुनुपूर्व जम्मा ७० अमेरिकी डलर प्रतिव्यक्ति आय भएको गरिब राष्ट्रहरूको क्लबको सदस्य बोत्स्वानाको लागि त्यतिबेला अभाव र गरिबी समानार्थी शब्द थिए । संयुक्त राष्ट्रसंघले कमजोर सामाजिक-आर्थिक सूचक भएका चार दर्जन बढी मुलुकलाई अति कम विकसित भनेर सूचीकृत गरेको थियो, त्यही सूचीको पुच्छरतिर त्यसबेला बोत्स्वाना पनि थियो भन्दा सायदै पत्यार लाग्छ ।

विगत ६० वर्षमा बनेको बोत्स्वानाको अर्थतन्त्र विश्वकै समृद्धमा पर्छ अहिले । बीस लाख हाराहारी जनसंख्या भएको अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा भूपरिवेष्ठित मुलुक बोत्स्वाना समग्र विश्वकै लागि आर्थिक विकासको एउटा सफल कथा बनेको छ । नामिबिया, जिम्बाब्वे र जाम्बियासँग सीमा जोडिएको बोत्स्वानाको क्षेत्रफल ६ लाख तीन सय ७० वर्ग किमि छ ।

पश्चिमा विश्व दोस्रो विश्वयुद्धको धङधङीबाट ब्युझिँदै गर्दा सन् १९५० को पूर्वाद्र्धतिर विश्वको राजनीतिक वातावरणले फरक धार समात्दै थियो । औपनिवेशिक शासनहरूको अन्त्य गर्ने प्रक्रिया थालनी भइसकेको थियो । त्यही मेसोमा बोत्स्वानाले पनि मुक्ति पायो ।

सहारा मरुभूमिभन्दा दक्षिणतिर अवस्थित अफ्रिकी मुलुकको सन् १९६५ सम्मको आर्थिक वृद्धिलाई अहिले पनि विकास अर्थशास्त्रीहरू एउटा ‘वृद्धि वियोग’ को रूपमा चित्रण गर्ने गर्छन् । बोत्स्वानाको सरकारी तथ्यांक कार्यालयको एक प्रतिवेदनअनुसार, बेलायतको औपनिवेशिक शासनबाट मुक्त हुँदा त्यहाँ जम्मा १२ किमि मात्रै पक्की बाटो बनेको थियो । ८० प्रतिशतजति भूभाग बलौटे भूमि रहेको बोत्स्वानाको कुल क्षेत्रफलमध्ये जम्मा चार प्रतिशत भूमि मात्रै खेतीयोग्य थियो । बेलायतले बोत्स्वानालाई निचोरेको कागतीजस्तो बनाएर छोडेको थियो ।

विकास प्रक्रियाको पूर्वसन्ध्यामै मुलुकको विकास कसरी डोर्‍याउने भन्ने सवालमा स्पष्ट दृष्टिकोण र नीति लिएर त्यहाँका नीति निर्माताले खास योजना तय गरेका थिए, जसले जनता र सरकारबीचको दूरी बढ्न दिएन बरु घटाउँदै लग्यो र सहजै विकासको जग खन्न सघायो । मौलिक विधि अपनाएर भ्रष्टाचारलाई व्यावहारिक तवरबाट नियन्त्रणको दायरामा राखिएको बोत्स्वानाको रणनीति आज विश्वका अन्य धनी भनेका मुलुकको लागि पनि अनुकरणीय बन्न सकेको छ ।

तर पनि, बोत्स्वानाले कत्ति हार मानेन । ब्रिटिस राजको बेला खिया लागेको प्रशासनिक संयन्त्रलाई गतिशील तुल्याउँदै कर्मचारीतन्त्रको मनोबल उच्च राख्न र कार्यसम्पादनमा प्रभावकारिता प्रवद्र्धन गर्नको लागि योग्यतामा आधारित कर्मचारीतन्त्रको थालनी भयो । माफिरी खामा सरकारले वृत्ति विकासको योजना लागू गर्‍यो । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यको लागि ठूलो हिस्साको बजेट खर्चियो । सन् १९६६ सेप्टेम्बर ३० देखि लागू भएको त्यहाँको संविधानले बोत्स्वानामा राजनीतिक स्थायित्व ल्याएको जानकारहरू बताउँछन् । सहमतिको दस्ताबेजको रूपमा आएको उक्त संविधानले सबैका हक र अधिकारका सवाललाई सुनिश्चितता प्रदान गरेको ठम्याइ बोत्स्वानी जानकारहरूको छ । संस्थागत क्षमताको विकास पनि उसैगरी चुस्त रूपमा बन्यो ।

व्यक्तिको सम्पत्तिसम्बन्धी अधिकारको सुनिश्चितता प्रदान गर्दै निजी क्षेत्रसँग भएको पुँजी विकास निर्माणमा खर्चिने भरपर्दो वातावरण मिलाउन राज्यले सक्रिय नीति सहजीकरण गर्‍यो । बोत्स्वानाको विकासको सकारात्मक पक्ष के हो भने तत्कालीन अवस्थामा सँगैजसो उपनिवेशबाट मुक्त भएका अंगोला, सियरालियोन, नाइजेरियामा जसरी बोत्स्वानामा हिराको राजस्वको किचलो उठेन, न त कुनै गृहयुद्ध चर्कियो । युद्धका कारण उसले कुनै पनि मूल्य चुकाउनुपरेन । यस अर्थमा बोत्स्वाना ‘भाग्यमानी’ पनि हो ।

सन् १९९४ तिरको एक प्रतिवेदनको निष्कर्षअनुरूप बोत्स्वाना एकतमास समृद्धिको खुटकिलो उक्लिँदै गयो । बीसौं शताब्दीको उत्तराद्र्धतिर त उसको अर्थतन्त्र दक्षिण अफ्रिकी क्षेत्रको नम्बर एक मात्रै नभई ल्याटिन अमेरिकी देश ब्राजिल र कोलम्बियालाई समेत उछिन्न पुग्यो । सन् १९८५-८६ मा गिनी कोफिसियन्ट ०.५६ र सन् १९९३-९४ मा ०.५४ रहेको तथ्यांक छ । सन् १९६६ देखि सन् १९९९ सम्म आयमा सात प्रतिशतको औसत वृद्धि रहेको बोत्स्वानाको पछिल्लो दशक मात्रै पाँच प्रतिशतको हाराहारीको औसत वृद्धिदर कायम रहेको सरकारी आँकडा छ ।

उसले केन्द्रीकृत नीति निर्माण प्रक्रियालाई विकेन्द्रित गर्‍यो । कतिपय राजनीतिक जानकार त ‘सेमी-अटोक्रेटिक’ शासन प्रणाली पनि त्यहाँको विकासमा गाँसिएको छ भन्ने तर्क गर्छन् । भलै, योग्यतालाई प्राथमिकता दिने प्रणाली र विधिको शासन नै बोत्स्वानाको शासन व्यवस्थाको खास गुण भने जरुरै हो । शिक्षा नै समृद्धिको आधार र संवाहक दुवै हो भन्ने नीति अख्तियार गरेको बोत्स्वानाले अहिले पनि शिक्षामा कुल गार्हस्थ उत्पादन (जीडीपी) को नौ प्रतिशतसम्म खर्चिने गरेको तथ्यांक छ ।

बोत्स्वानाको विकासबाट अल्प विकसितले मात्रै होइन, विकसित भनिएका मुलुकले समेत पाठ सिक्न सक्छन् र सिकेका पनि छन् । सन् १९९४ मा अल्पविकसित मुलुकको ४८ सदस्यीय अति कम विकसितको क्लबबाट विकासशील मुलुकको क्लबमा ‘ग्य्राजुएट’ गर्ने पहिलो मुलुक पनि बोत्स्वाना नै हो । त्यसको लागि सामान्य ल्याकतले पक्कै भेट्दैनथ्यो र बोत्स्वानाले गरेका प्रयास विश्वसामु छँदैछन् ।

निरपेक्ष गरिबीको दर ५० प्रतिशतबाट १९ प्रतिशतमा झरिसकेको बोत्स्वाना सरकारको तथ्यांक छ । विश्व बैंकको आँकडाअनुसार, बोत्स्वाना विश्वको ठूलो हिरा उत्पादन मुलुक बनेको छ । हिराले उसको कुल गार्हस्थ उत्पादनमा झन्डै ३५ प्रतिशत हाराहारीको योगदान गरेको छ । तामा र निकेल खानीले पनि आर्थिक विविधीकरणमा सघाएका छन् । सन् १९६० को मध्य दशकमा प्रतिव्यक्ति आय जम्मा ७० अमेरिकी डलर भएको मुलुक बोत्स्वानाको सन् २०१५ को प्रतिव्यक्ति आय सात हजार ८० डलर भएको विश्व बैंकको तथ्यांकले बताउँछ । सन् २०१४ मा भने अझ बढी सात हजार दुई सय ३४ डलर थियो । सन् १९६० देखि २०१५ सम्म उसको प्रतिव्यक्ति आयको दर तीन हजार दुई सय ५४ अमेरिकी डलर औसत रहेको आँकडा छ ।

सन् १९६२ मा ‘बोत्स्वाना डेमोक्रेटिक पार्टी’ ले स्थापना गरेको सर सेरेस्ते माफिरी खामा सन् १९६५ मा छोटो कार्यकालको लागि प्रधानमन्त्री पनि बनेका थिए । स्वतन्त्र बोत्स्वानाका प्रथम राष्ट्रपति पनि उनै दूरदर्शी खामा बने । उनले बोत्स्वानालाई औपनिवेशिक शासनबाट स्वतन्त्र बनाउन जति पसिना बगाए, त्योभन्दा बढी गरे, मेहनत मुलुकलाई आर्थिक रूपले समृद्ध र आत्मनिर्भर बनाउन । उनको सिको सबैले गरे । राष्ट्र निर्माणको जागरण भयो । सबै परिचालित भए । परिणामस्वरूप गणतान्त्रिक बोत्स्वानाका जनताले आज गर्व गर्न पाएका छन् ।

बोत्स्वाना लोकतान्त्रिक मुलुकहरूका लागि राम्रो उदाहरण हो । अधिकांश भूभाग कालाहरी मरुभूमिले ओगटेको भए पनि मेहनतका कारण बोत्स्वाना आर्थिक समृद्धि हासिल गर्न सफल भएको छ । कृषिमा पनि आशालाग्दो प्रगति हासिल गर्न कामयाब भएको छ । बोत्स्वानाको विकास योजना यसरी निर्माण गरिए कि विकास तथा नीति निर्माण प्रक्रियामा गाउँदेखि सहरसम्मका सबै तह, तप्का र वर्गका नागरिकको सक्रिय सहभागिता सुनिश्चित गराइयो । सार्वजनिक चासो र सरोकारको मामिलालाई ‘पब्लिक अडिट’ (सार्वजनिक परीक्षण) को प्रक्रियामा लगियो ।

मौलिक हक र स्वतन्त्रताको मामिलामा इमानदार बोत्स्वानामा ‘बोत्स्वाना डेमोक्रेटिक पार्टी’ ले सत्ताको साँचो बडो सावधानीपूर्वक सम्हाल्यो । शासन प्रक्रियामा उल्लेख्य गुनासा छैनन् । राजनीतिक अस्थिरता नभएकाले जनता निराश छैनन् । दशकौंदेखि बोत्स्वानामा राजनीतिक स्थिरता छ । मानव अधिकारको राम्रो अवस्था, सुशासन र बहुदलीय व्यवस्थाले त्यहाँको आर्थिक विकासमा योगदान पुर्‍याएका छन् ।

त्यहाँको सक्रिय भ्रष्टाचारविरोधी अभियान पनि विधिको शासन स्थापित गर्ने औजारमध्येको एक हो । बोत्स्वाना डेली न्युजको सन् १९७७ को संस्करणमा एउटा सनसनीपूर्ण समाचार छापिएको थियो- तत्कालीन खानी स्रोत मन्त्रीले आफूले गरेको भ्रष्टाचार सार्वजनिक भएपछि गरेको आत्महत्याको । मानवीय रूपमा फरक अर्थ लगाउन सकिने भए पनि यसले के संकेत गर्दछ भने बोत्स्वानामा भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलताको नीति’ अख्तियार गरिएको थियो, जसले सुशासन कायम गर्न मात्रै सघाएन आर्थिक समृद्धिको आधारशिला मजबुत पनि पारिदियो ।

वर्तमानको बोत्स्वाना बन्न कति मेहनत परेको थियो, कति पसिना बगेको थियो भन्ने हेर्न भित्री पाटो नै कोट्याउनुपर्छ । त्यही पसिनाको प्रतिफल हो, आजको समृद्ध बोत्स्वाना ।

बोत्स्वानाले भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र निर्माण गरेर राष्ट्रसेवकलाई कानुनी तरिकाबाट मात्रै भ्रष्टाचारको निर्मूल गर्ने विधिभन्दा फरक तरिका अपनायो । सकारात्मक सोचाइको विकाससहित उनीहरूलाई भ्रष्टाचारप्रति दुरुत्साहित गर्ने नीति अख्तियार गर्‍यो बोत्स्वाना सरकारले । भ्रष्टाचारका जोखिम र आर्थिक सूचकको विश्लेषण गर्‍यो । मौलिक विधि अपनाएर भ्रष्टाचारलाई व्यावहारिक तवरबाट नियन्त्रणको दायरामा राखिएको बोत्स्वानाको रणनीति आज विश्वका अन्य धनी भनेका मुलुकको लागि पनि अनुकरणीय बन्न सकेको छ ।

बोत्स्वानाको ‘मानव संसाधन विकास परिषद् (एचडीआरसी)’ ले राष्ट्रिय मानव विकास रणनीति तथा योजना तर्जुमा गर्ने अनि सरकारलाई बहुआयामिक मानवीय विकास मामिलामा नीति सल्लाह दिने काम मात्रै गर्दैन, गाउँगाउँमा पुगेर पुँजी निर्माण र रोजगार सिर्जना गर्ने रणनीतिक उपायसमेत सुझाउँछ । विविध योजनामार्फत राष्ट्रिय विकास प्रक्रियामा जनसहभागिता पनि बढाइरहेको छ । र त, रोजगार सिर्जनामा उल्लेख्य सुधार भएको छ ।

विश्व स्वास्थ्य संगठनको सन् २००२ को तथ्यांकले त्यहाँ २५ देखि ३० प्रतिशत वयस्कहरू एचआईभी संक्रमित रहेको देखाएको थियो । एचआईभी संक्रमितको दर उच्च भए पनि ‘एन्टिरेट्रोभाइरल’ को उपलब्धता पनि प्रशंसनीय रहेको निष्कर्ष विश्व स्वास्थ्य संगठनको छ । यसले के देखाउँछ भने जनताको बाँच्न पाउने हकको सम्मानमा पनि बोत्स्वाना उत्तिकै सचेत र जागरुक छ । यो पनि आर्थिक समृद्धिको भरपर्दो सूचक हो । एड्सकै कारण औसत आयुमा असर गरेको बोत्सवानामा पछिल्लो दशक त्यसमा सुधार आएको प्रतिवेदन सार्वजनिक भएका छन् ।

लैंगिक विभेद राजनीतिक तथा सामाजिक आर्थिक विकासको पश्चगामी द्योतक भएको ठहर गर्दै लैंगिक समानताको मुद्दालाई त्यहाँको श्रम तथा गृह मामिला मन्त्रालयले संवेदनशीलताका साथ हेरिरहेको छ । उत्तर-औपनिवेशिक नेतृत्वलाई त्यहाँको वित्तीय व्यवस्थापनको जस जान्छ । सीमित प्राकृतिक स्रोतबीच सन् १९७० मा त्यहाँको वित्तीय र विकाससम्बद्ध मन्त्रालयले विकास रणनीति बनाउँदा आन्तरिक स्रोतको अधिकतम उपयोग गर्ने मौलिक शैली अपनाएको थियो ।

विकास प्रक्रियाको पूर्वसन्ध्यामै मुलुकको विकास कसरी डोर्‍याउने भन्ने सवालमा स्पष्ट दृष्टिकोण र नीति लिएर त्यहाँका नीति निर्माताले खास योजना तय गरेका थिए, जसले जनता र सरकारबीचको दूरी बढ्न दिएन बरु घटाउँदै लग्यो र सहजै विकासको जग खन्न सघायो । बोत्स्वानाको अहिलेको समृद्धिको पाटो बाहिरबाट हेर्दा सहज देखिन्छ । तर वर्तमानको बोत्स्वाना बन्न कति मेहनत परेको थियो, कति पसिना बगेको थियो भन्ने हेर्न भित्री पाटो नै कोट्याउनुपर्छ । त्यही पसिनाको प्रतिफल हो, आजको समृद्ध बोत्स्वाना । (एजेन्सीको सहयोगमा)

यो सामाग्री हामीले अन्नपूर्ण पौस्ट दैनिकको अनलाइन संस्करणबाट साभार गरेका हौं । 

  • prabhu-bank-sept26.gif