पर्वतको महाशिला सम्बृद्धिका ५ मार्गचित्र

३० असोज, पर्वत । भूगोलमा सानो भएर पनि महाशिला गाउँपालिकाले आर्थिक सम्बृद्धि र विकासको गतिमा फड्को मार्ने गरी योजना निर्माण गरेको छ । गाउँपालिकाको पहिलो गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रमका आधारमा गाउँ कार्यपालिकाले तयार गरेको बजेटले आगामी ५ बर्ष भित्र महाशिला गाउँपालिकामा आर्थिक विकासको गतिले अग्रता हासिल गर्ने देखिएकोछ । निर्माण गरेका योजनाहरु कार्यान्वयनमा ल्याउन सकेमा गाउँपालिका अग्र गतिमा दौडिने देखिन्छ ।

शैक्षिक गुणस्तर सुधार

गाउँपालिकाले सामुदायिक बिद्यालय सुधारका विभिन्न योजनाहरु निर्माण गरेको छ । शैक्षिक प्रगति विना सवै खालका विकास योजनाहरु प्रभावित हुने भएकाले गाउँपालिको पहिलो प्राथमिकता शैक्षिक गुणस्तर सुधारमा देखिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधारको पहिलो प्रयास स्वरुप विद्यार्थी दिवा खाजा खुवाउने ब्यबस्था मिलाएको छ । गाउँपालिकाले सबै सामुदायिक बिद्यालयमा १ देखि ३ कक्षा सम्म पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गरेको हो ।

गाउँपालिकाले गाउँ परिषद मार्फत बिद्यार्थीलाई दिवा खाजा खुवाउन बजेट समेत बिनियोजन गरेको छ । महासिला गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालय रहेका छन । हरेक दिन प्रति बिद्यार्थी १० रुपैयाका दरमा खाजा दिने ब्यबस्था मिलाएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल बताउँछन ।

दिवा खाजाको ब्यबस्था पछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने र बिद्यालय छाड्ने दर कम हुने बिश्वास लिइएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

यसैगरी सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमको पढाइको शुरुवातको योजना निर्माण भएको छ । अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी बिद्यालयमा छोरा छोरी पठाउने तथा बसाईसराई समेत बढेकोले सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निणर्य पनि गाउँपालिकाले गरेको छ । आगामी शैक्षिकसत्र देखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराईने भएको छ भने त्यसका लागि बिद्यालयका शिक्षकहरुलाई बिहान ८ बजे देखि १० बजे सम्म तालिम दिने ब्यबस्था पनि मिलाइएको अध्यक्ष पौडेलले बताए ।

तालिम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिबिपन्न बिद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरि बजेट समेत ब्यबस्था मिलाएको छ । शिक्षामा गुणस्तर बढाउन बिद्यार्थीका लागि गृहकार्य डायरी, शिक्षकले अनिवार्यमा रुपमा पाठयोजना बनाएर पढाउनुपर्ने ब्यबस्था पनि गरिएको छ । पाठ योजना बनाएर नपढाउने शिक्षकलाई काबार्ही गर्ने अध्यक्ष पौडेलले बताए । त्रैमासिक र अर्धबार्षिक परिक्षा लिने ब्यबस्था पनि मिलाइएको छ । बिद्यार्थीका उत्तरपुस्तिका अभिभावकलाई पठाउने निर्णय समेत भएको छ । यसको शुरुवात गोल्र्याङ्गधाम आधारभूत बिद्यालयले शुरु गरिसकेको छ ।

कृषक सहयोग कार्यक्रम

गाउँपालिकामा उत्पादन भएको बस्तु बजारसम्म पुराउन यहाँको एक गाउँपालिकाले अनुदान दिने नीति ल्याएको छ । उत्पादीत कृषिजन्य वस्तु निकासीमा फलेवास नगरपालिकाले कर लगाउन लागेको बेला जिल्लाको दक्षिण क्षेत्रमा रहेको महाशिला गाउँपालिकाले भने कृषि जन्य उत्पादीत वस्तुको ढुवानीमा सहुलियत दिन लागेको हो ।

‘उत्पादन भएको कृषि जन्य वस्तु बजारसम्म पुराउन कृषकलाई नोक्सान पर्ने र लागत समेत ननिस्कने अवस्थालाई ध्यानमा राखेर गाउँपालिकाले ढुवानीमा अनुदान दिने तयारी गरेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए । यातायातको हिसावबले जिल्लाको दुर्गम पर्ने महाशिलाभित्र किसानले उत्पादन गरेको कृषि जन्य वस्तु बजारसम्म पुराउन अव कृषकलाई गाहे नहुने गाउँपालिकाले जनाएको छ ।

उता, कृषकहरुको आम्दानीको श्रोत बृद्धिका लागि गाउँपालिका पशु विकास कार्यक्रम मार्फत पाडापाढि संरक्षण अभियान पनि सञ्चालन गरीरहेको छ । अभियान अन्तर्गत २ बर्ष भित्रका पाडाापाढि काटनमा रोक लगाइएको छ । कृषकहरुले ब्यवसायीक रुपमा कृषि पेशा अलम्बन गर्न चाहेमा गाउँपालिकाले सहुलियत समेत उपलब्ध गराउनेछ ।

एक घर एक रोजगार

। युवाहरु विदेशीने दर बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले एक घर एक रोजगार नीति अबलम्बन गरेको छ । जिल्लाका महाशिला गाउँपालिकाले चालु आर्थिक बर्षमा कृषि, सहकारी र पशुपालनको माध्यमबाट प्रत्येक घरमा कम्तिमा एक जनालाई रोजगारी दिने गरी अभियान सञ्चालन गरेको हो । गाउँपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ९९ लाख ६५ हजार ७ सय रुपैया विनियोजना भएको छ ।

‘गाउँमा छरिएर रहेको महिला समूहको पुँजीलाई एकिकृत गछौं’ अध्यक्ष पौडेलले सुनाए–‘समूह मार्फत स्वः रोजगार बन्नेहरुका लागि गाउँपालिकाले विशेष सहयोग गर्नेछ ।’ सहकारी मार्फत हुने रोजगारीका प्रवद्र्धनमूलक कार्यक्रमहरुमा पनि गाउँपालिकाले सहयोग गर्ने गरी योजना बनाएको अध्यक्ष पौडेलले लाई जानकारी दिए । एकिकृत पुँजी नहुँदा त्यसबाट उत्पादनमूलक कार्यमा खर्च गर्न समस्या परेकाले पनि यस बर्ष देखि गाउँपालिकाले उत्पादनमूलक कार्यमा सामूहिक पुँजी खर्च गर्ने गरी तयारी गरेको अध्यक्ष पौडेलको भनाई छ ।

सडक विस्तार योजना

जिल्लाको महाशीला गाउँपालिकामा चक्रपथ निर्माण कार्य शुरु भएको छ । महाशीला गाउँपालिकाका सबै वडामा बाह्रैमास यातायातको सुविधा पुर्याउने उद्देश्यले चक्रपथ निर्माण शुरु गरिएको हो ।

गाउँपालिका अन्तर्गतका साविकका ६ वटै गाविसलाई जोड्ने गरी चक्रपथ निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष नै उक्त चक्रपथ निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । सात मिटर चौडाइ हुने उक्त सडकको बाटो खोल्न यस वर्ष १ करोड ५० लाख विनियोजन गरिएको छ । महाशीला चक्रपथ फलामखानीको घण्टेबाट शुरु गरेर घन्तरी–लुंखु–होश्राङदी–अर्घौदी–बालाकोट–नियाल्नी–बान्द्रे–सिम्ले हुँदै पुनः घण्टेमा लगेर जोडिने भएको छ । ग्रामीण क्षेत्रमा रहेको उक्त गाउँपालिकालाई व्यवस्थित गर्न र सडकको पहुँच प्रत्येक बस्ती र टोलसम्म पुर्याउन चक्रपथको अवधारणा अघि सारिएको हो ।

चालू आर्थिक वर्ष्भित्रमै बाटो खोलिसक्ने र आगामी वर्षदेखि स्तरोन्नति गरी पाँच वर्ष्भित्रमा कालोपत्रसमेत गर्ने लक्ष्य लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त सडकमध्ये केही ठाउँमा पूर्ववत् सडकलाई नै प्रयोग गरिने र सडक नभएका ठाउँमा सर्वसाधारणलाई पहुँच पुग्ने, छोटो हुने गरी नयाँ बाटो खोलिने भएको छ । साविकको सडकलाई समेत चौडा गरेर सात मिटर फराकिलो बनाइने भएको छ ।
उक्त योजना गाउँपालिकाको सबैभन्दा ठूलो योजना हो । अध्यक्ष पौडेलले भने, “सडकको पहुँच पुगेपछि मात्र अन्य विकास निर्माणले गति लिने भएकाले यसलाई प्राथमिकतामा राखिएको हो ।”

उक्त गाउँपालिकाका सबै वडामा सडकको सुविधा पुगे पनि हिउँदमा मात्र सवारी साधन पुग्ने गरेका छन् । वर्षायाम चार महिना भने स्थानीय सडक सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ । गाउँपालिकाको दिगो विकासका लागि टुक्रे योजनामा बजेट विनियोजन नगरी सबै वडाका सबै घरधुरी लाभान्वित हुन् भनेर यो योजना छनोट गरिएको समेत पौडेलको भनाइ छ ।

एक घर एक धारा

पर्वतको सबैभन्दा सानो गाउँपालिका महाशिला गाउँ पालिकामा एक घर एक धारा विस्तार अभियान सुरु भएको छ । स्थानीयवासीलाई खानेपानीको सहज पुहँच पु¥याउने उद्देश्यले एक घर एक धारा पु¥याउने कार्यक्रम सुरु भएको हो ।

महाशिला गाउँपालिकाका ६ वटै वडामा पर्ने होश्राङ्दी, भोक्सिंग, बालाकोट, पाखापानी, लुंखु, फलामखानीमा एक घर एक धारा दुई वर्ष्भित्रमै पूरा गर्नेगरी काम सुरु भएको महाशिला गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

उनका अनुसार खानेपानीको अभावले काकाकुलको नियति भोग्दै आएका महाशिला– ६ फलामखानीमा योजना सुरु भएको छ । महाशिला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ आयोजनाको संयुक्त लगानीमा खानेपानी आयोजना सुरु भएको हो ।
झण्डै २ करोड २२ लाखको लागतमा उक्त योजना सुरु भएको हो । लिफ्ट खानेपानी आयोजनाबाट फलामखानीका १२० घरधुरी लाभान्वित हुने भएका छन् । अहिलेसम्म आकाशको पानी र आहालको पानी पिउन बाध्य भएका उक्त गाउँका दलित घरपरिवार यो वर्ष्भित्रमै स्वच्छ खानेपानी खान पाउनेगरी योजना सुरु गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

बस्तीभन्दा झण्डै ४४० मिटर तल रहेको सिस्नेरी खोलाबाट पानी तान्ने प्रयास भइरहेको छ । प्राविधिकको नापजाँचका आधारमा भर्टिकल रूपमा ४४० मिटर भए पनि दूरीको हिसाबले बस्तीभन्दा उक्त खोला झण्डै दुई किमि टाढा छ । अहिले उक्त दलित बस्तीका बासिन्दाले सोही खोलामा पुगेर घण्टांै समय लगाएर पानी पिउन बाध्य भएका छन् ।

त्यस्तै गाउँपालिकाअन्तर्गत वडा नं. १ होश्राङदीमा समेत लिफ्ट खानेपानी योजना सञ्चालनमा छ । त्यसैगरी पाखापानीको सिम्ले, लाकोटलगायतमा पानीको स्रोत छैन त्यसलाई पहिलो प्राथमिकता दिने र स्रोत भएका स्थानमा पनि उचित व्यवस्थापनका लागि विस्तारै योजना लागू गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

फलामखानीमा सञ्चालित उक्त योजनाका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको थियो भने पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाले बाँकी खर्च व्यहोर्ने सम्झौता भएको छ । गाउँपालिकाले योजना बनाउँदा दीर्घकालीन योजनालाई महत्व दिएकाले सबै वडाका बासिन्दा उत्तिकै लाभान्वित हुने पौडेलले जानकारी दिए ।