एनआरएनको सहयोगमा कुश्मा र फलेवासमा स्वास्थ्य शिविर, विहादीमा एम्बुलेन्स सहयोग

२४ असोज, पर्वत । एनआरएनको सहयोगमा जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म संचालित मुटुरोग परिक्षण शिविरमा झण्डै ८ सय जनाको मुटु परिक्षण गरिएको छ भने विहादीमा एम्बुलेन्स सहयोग गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिका स्थित देविस्थानमा छुट्टाछुट्टै मुटु रोग शिविर सञ्चालन गरिएको थियो । यसैगरी एक कार्यक्रमका वीच विहादीमा रानीपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आइतवार कुश्मामा संचालित शिविरमा झण्डै पाँच सय र शनिवार फलेवासमा संचालित शिविरमा दुई सय ५० भन्दा बढिको परिक्षण गरिएको आयोजक लान्य क्लव अफ शिवालयले जनाएको छ ।

पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरवाट कुश्मा नगरपालिका लगायत बागलुङ जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिए ।

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरिएको थियो । शिविरमा उच्च रक्तचापका विरामी बढि देखापरेका छन् । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताउनुभयो । शरीरमा बढी बोसो जममा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उहाँको भनाई छ ।
उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । उहाँले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका पर्वतका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष राजेन्द्र महतो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, वेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसी लगायतले मन्तब्य राख्नुभएको थियो ।

उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग गर्नुभएको थियो । रोजगारीका लागि रुसमा रहेका नेपालीहरुको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स संचालनमा आएको छ । यसैगरी गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नम्बर ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको हो ।

एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् । आइतवार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एन.आर.एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद विकास लम्साल र एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चोकीलाई हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ग्रामिण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानविय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एन.आर.एन.ले थप सहयोग जारी राख्ने बताउनुभयो । गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउदै उहाँले विकासमा स्थानीयनै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताउनुभयो ।

एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।
सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्राथमिकता दिएको बताउनुभयो ।