पर्वतमा लिङ्गे पिङ लोप हुँदै

१३ असोज, पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको हो । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा अहिले एउटापनि लिङ्गेपिङ स्थापना गरिएको छैन भने ग्रामीण क्षेत्रमा समेत निकै न्यून मात्रामा पिङ्गहरु राखिएका छन् । पहिले पहिले गाउँमा युवाहरु हुन्थे, बाबियो हुन्थ्यो र ठाउँ ठाउँमा पिङ हालिन्थ्यो तर अहिले न गाउँमा युवा छन् न बाबियोनै त्यसैले यस वर्षपनि पिङ्ग स्थापना नगरिएको पर्वतको ठुलीपोखरीका राजुकुमार सापकोटाले बताउनुभयो ।

गत वर्षसम्म सदरमुकाममा सशस्त्र प्रहरी बलको चण्डिका गणले नागरिकका लागि पिङ्ग स्थापना गरिदिको भएपनि यस वर्ष बाबियो, बाँस लगायतको अभावका कारण स्थापना गरिदिएको छैन । त्यसले गर्दा सदरमुकामबासीहरु पनि दशैमा पिङ्ग खेल्नबाट बञ्चिन बनेका हुन् । दक्षिण पर्वतका विहादि, महाशिला, र फलेवासका एकाध ठाउँमा पिङ्ग राखेको भएपनि विगतका बर्षहरुमा जस्तो धेरै ठाउँमा नराखिएको पाइएको स्थानियले बताएका छन् ।

पिङ्ग स्थापना गर्नका लागि घाँस जातीको बाबियो र वाँस आवश्यक पर्छ । पछिल्लो समय पशुपालनमा युवाहरुको कम आकर्षण भएकाले बाबियो समेत लोप हुँदै गएको छ । यस वर्ष पिङ्ग राखेका ठाउँहरुमा पनि प्लाष्टिक तथा जुटका डोराबाट निर्मित लठ्ठा प्रयोग गरिएको पाइएको छ ।
पछिल्लो समय बढ्दो मात्रामा भित्रिएको इन्टरनेटको प्रयोग सञ्चारको पहुँच, युवा पलायन जस्ता कारणले दशैमा पिङ्ग हाल्ने, खेल्ने र मनोरञ्जन लिने संस्कृति लोप हुँदै गएको समाजसेवी मानकुमारी गिरीको भनाई रहेको छ । ग्रामीण भेगका केहि ठाउँमा पिङ्ग हाल्ने चलन भएपनि शहरी क्षेत्रमा भने पुर्ण रुपमा हटिसकेको उहाँको भनाई रहेको छ ।

यस्ता संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्ने सर्वसाधारणको भनाई रहेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहार लगायतका पर्वको सम्वद्र्धन र प्रवद्र्धनमा सवै एकजुट भएर लाग्नुपर्ने विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो ।

  • prabhu-bank-sept26.gif