कुश्मा नगरपालिका भित्रका सडकमा आकस्मिक मर्मत शुरु

८ असोज, पर्वत । नेपालीहरुको महान पर्व बडादशै तथा तिहारलाई लक्षित गर्दै कुश्मा नगरपालिका भित्रका सवै सडक आकस्मिक मर्मत शुरु गरिएको छ । चाडवाडका समयमा सर्वसाधारण नागरिकलाई सहज रुपमा यातायातको पहुँच पु¥याउने उद्धेश्यले नगर भित्रका सवै सडक आकस्मिक मर्मत शुरु गरिएको छ । चाडपर्वका बेला ग्रामीण क्षेत्रमा बढि मात्रामा मालसामान तथा यात्रुहरु जानुपर्ने अवस्था रहेको र उनिहरुलाई सहज रुपमा आवतजावत गराउनका लागि आइतवारदेखि दुईवटा डोजर परिचालन गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मोदि पारी एक र पाङ्ग दुर्लुङ्ग क्षेत्रमा एक वटा डोजरले मर्मतको काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले केहि दिन भित्रमा सवै सडकहरु मर्मत भैसक्ने भएका छन् ।

दशैमा टिका लगाउन गाउँ जानेहरु आफ्नो सवारी साधान तथा सार्वजनिक सवारीसाधनमा जानेहरु समेत सहज रुपमा जान पाउने भएका छन् । साईकलचोक–गहतेपोखरा–बुमी–ठूलीपोखरी–खौला हुँदै आर्थर सम्म त्यसैगरी सिल्मि–रत्नचोक–ऐसेलुचौर, रानीस्वाँरा हुँदै पकुवा सम्म मर्मतका लागि डोजर पठाइएको हो । त्यसैगरी पाङ्ग, खुर्कोट, दुर्लुङ्गतर्फ पनि समस्या देखिएका ठाउँमा मर्मतका लागि डोजर पठाउने तयारी भैरहेको नगरप्रमुख जोशीले  पर्वत न्यूज डटकम जानकारी दिनुभयो ।

नगरकार्यपालिका भित्र जनप्रतिनिधिहरुबीच बिबाद हुँदा नगर सभा तथा बजेट समेत सार्वजनिक हुन नसकेपनि जनताको प्रत्यक्ष सरोकार रहने सडक मर्मतका लागि आफुले सवै सडकहरुमा डोजर लगाएर मर्मत गर्न लगाएको जोशीको भनाई छ । कुश्मा नगरपालिका भित्र झण्डै तीन सय किलोमिटर सडक रहेको छ । त्यसमध्ये पोखरा बागलुङ सडकमा पर्ने आम्वोटदेखि दमुवाखोला र दोविल्ला देखि साईकलचोक सम्म पक्की सडकको पहुँच पुगेपनि अन्य सवै वडाहरुमा कच्ची सडक रहेको छ । पाँच वर्ष भित्र नगरभित्रका सवै सडकहरुलाई कालोपत्रे गर्ने योजनाका साथ अघि बढेको नगरपालिकाले बाह्रैमास सडकहरु संचालन गर्नका लागि तत्काल पहल गरिने पनि नगरप्रमुखको भनाई रहेको छ । त्यस्तै जिल्लाका अन्य नगर तथा गाउँपालिकाले पनि दशै अगावै सडकहरु आकस्मिक मर्मत गर्ने योजना सहित बजेट पनि बिनीयोजन गरेका छन् ।