५ बर्ष भित्र कुश्मा नगरपालिकाका सवै कच्चि सडक कालोपत्रे हुने

२३ पर्वत, भदौ । नगरसभाको तयारीमा रहेको कुश्मा नगरपालिकाले आगामी ५ बर्ष भित्र नगरका कच्चि सडक मध्ये वडा कार्यालय जोड्ने सडकलाई कालोपत्रे गर्ने गरी योजना बनाउन लागेको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफ्नो मुख्य योजनामा सडक नै रहेको हुँदा बजेटको धेरै हिस्सा सडकमै खर्च गर्ने गरी योजना बनाउन लागेको पर्वत न्यूजलाई जानकारी दिए ।

नगरपालिकाका आर्थर, खौला, ठुलिपोखरी, पकुवा, दुर्लुङ र खुर्कोट जोड्ने सडक अझै कालोपत्रे छैन । यस अघि नै पाङमा कालोपत्रेको काम भईरहेको छ भने, पिपलटारी र कटुवाचौपारी जोड्ने सडक सडक डिभिजन कार्यालय मार्फत कालोपत्रे भईरहेकोछ ।

उक्त वडाहरु जोड्ने सडक दोविल्ला फलेवास सडक खण्डमा पर्दछन । उता, चुवाको वडा कार्यालय जोड्ने सडक पनि कालोपत्रे भईरहेको छ । साविकको शिवालय गाविसका सवै वडाहरु भने यस अघि नै कालोपत्रेको भित्रै पर्दछन । सडक भौतिक पूर्वाधारको पहिलो आधार स्तभ भएकाले पनि सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन लागिएको नगरप्रमुख जोशीको भनाई छ । वडा स्तरमा पनि धेरैजसो सडककै योजनाहरु माग हुने गरेका छन ।

नगरसभाको तयारीका लागि यतिवेला कुश्मा नगरपालिकामा वडा स्तरका योजनाहरु संकलन भईरहेका छन । लामो समय देखिको विवाद टुंगीएसंगै कुश्मा नगरपालिकाको नगर परिषदको लागि बाटो खुलेको हो । नगरपालिकाले निर्माण गर्नुपर्ने निर्देशिकामा सहमती जुटेसंगै नगरपालिकाको लामो समयसम्मको विवाद समाधान भएको छ । योसंगै नगरबासी उत्साहित बनेका छन ।

निर्देशिकामा सहमती नजुटेमा नगरप्रमुखले अन्तिम निर्णय प्रयोग गर्ने वा बहुमतले निर्णय भन्ने विवादका वीच अन्यौल ग्रस्त बनेको कुश्मा नगरपालिकाको विवाद अन्ततः विहिबार समाधान भएको थियो ।

सहमतीमा सवै निर्णय प्रक्रियामा नगरप्रमुखले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरा उल्लेख भएपछि नगर कार्यपालिकाको विवाद समाधान भएको बताइएको छ । यो संगै राजनैतिक दलहरु वीच सहमती जुटेदै जाँदा विकासका योजनाहरुले मुर्त रुप लिनेमा नगरप्रमुख जोशीले विश््रवास ब्यक्त गरे । उनले राजनैतिक रुपमा नभई जनप्रतिनिधिको रुपमा आफूलाई काम गर्ने अवसर दिने हो भने नगरमा थुपै्र योजनाहरुले गति लिने बताए ।