पर्वतमा जन्मिएका डाक्टर गौतम, जसले ३६ हजारलाई नयाँ जीवन दिए

११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुरुषलाई आफ्ना समस्या बताउन हिच्किचाउनु स्वाभाविकै थियो ।

सामाजिक परिवेश नै त्यस्तो थियो, जसले डा. जागेश्वर गौतमलाई करिब तीन वर्ष बेरोजगार बनायो । किनभने उनी महिलाका डाक्टर थिए ।अस्पतालमा पुरुष चिकित्सक देख्नासाथ महिला टाढै बस्न रुचाउँथे । नजिक आएकाहरु पनि खुलेर कुरा गर्न सक्दैनथे । पुरुष पनि महिलाका चिकित्सक हुन सक्छन् भनेर प्रमाणित गर्न उनले कम्ता संघर्ष गर्नु परेन ।

‘सुरुवाति दिनमा मान्छेहरु मलाई दोस्रो दर्जाको चिकित्सक ठान्थे,’ उनले विगत कोट्याए । समस्या डा. गौतमको थिएन, बिरामी महिलालाई डर हुन्थ्यो, लोकलाजको । त्यही लोकलाज बिरामी र चिकित्सकबीच समस्याको पहाडका रुपमा खडा थियो ।

उनलाई आजकाल त्यतिबेलाको एउटा टेलिभिजन लाइभ सम्झिँदा हाँसो उठ्छ ।

उनी र एक हृदयरोग विशेषज्ञलार्इ लाइभ अन्तरवार्तामा डाकियो । प्रस्तोताले अर्का चिकित्सकलाई ३० भन्दा बढी प्रश्न सोधे, उनलाई भने जम्माजम्मी पाँच मात्र ।

लाइभ सकिएलगत्तै उनले प्रश्न गरे, ‘किन यस्तो ?’ प्रस्तोताको जवाफ थियो, ‘महिलाका डाक्टरलाई सोध्ने के नै हुन्छ र !’

ती मुटुरोग विशेषज्ञले करिब चार हजार मानिसलाई शल्यक्रियाबाट बचाएका रहेछन् । डा. गौतमले पनि त २४ हजारभन्दा बढीलाई त्यो पनि शल्यक्रियाबाटै बचाइसकेका छन् नि !

अझ, मुटुका चिकित्सकसँग बिरामी मात्र गाँसिन्छन् । स्त्रीरोग विशेषज्ञसँग त सुत्केरी र शिशु दुवै जोडिन्छन् । दुवै गरी अहिलेसम्म डा. गौतमले करिब ३६ हजारलाई नयाँ जीवन दिइसकेका छन् ।

अनि बाटो मोडियो

डा. गौतमलाई एक समयमा लाग्थ्यो, काट्ने, चिर्ने र सिलाउने आफ्नो काम होइन । उनका गुरु डा. बीके मान सिंहले उनलाई एमबीबीएसपछि इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजीमा डीएम गर्न सुझाएका थिए । गुरुकै आज्ञा शिरोपर गर्दै उनी पनि अमेरिकामा मेडिकल लाइसेन्स प्राप्त गर्ने परीक्षा (युएसएमएलई)को तयारीमा जुटेका थिए ।

अमेरिका उड्नुअघि साथीहरुले उनलाई कर्णाली अञ्चलको विकट जिल्ला मुगु घुमाउन लगे । त्यतिबेला नेपालमै सडक र यातायातको पहुँच कमजोर थियो, मुगुमा त पैदल यात्राको विकल्प हुने कुरै भएन ।

हिँड्दै गर्दा डोकोमा बोकेर सदरमुकाम गमगढी ल्याइँदै गरेकी एक किशोरी देखे । उनीहरुले सोधे, ‘के भएको ?’ भरियाले जवाफ दिए, ‘बच्चा पाउन नसकेर अस्पताल लगेको ।’

त्यो दृष्यले डा. गौतमको मनमा गहिरो चोट लगायो । करिब १६ वर्षकी किशोरी गर्भवती थिइन् र बच्चा जन्माउन नसकेर छटपटाइरहेकी थिइन् ।

त्यस घटनाले उनलाई यति विचलित बनायो कि अमेरिकाको सपना त्यागेर स्वदेशमै सेवा गर्ने प्रेरणा जाग्यो । ‘त्यस रात निदाउनै सकिनँ,’ उनी सम्झिन्छन्, ‘बिहान भाले बास्नु अघिसम्ममा मेरो मनमा स्वदेशमै बसेर पीडामा रहेका महिलाको सेवा गर्ने इच्छा जागिसकेको थियो ।’

त्यो उनको जीवनको ‘टर्निङ पोइन्ट’ थियो । उनी मुगु यात्रा छोट्याएर काठमाडौं फर्किए । र, स्वदेशमै एमडी अध्ययन गर्न प्रवेश परीक्षाको तयारी थाले ।

उनी चिकित्साशास्त्रकै अरु क्षेत्रमा पनि जान सक्थे । किनभने, कक्षाका राम्रा बिद्यार्थी थिए । तर, उनले निर्णय लिए, प्रसुती तथा स्त्रीरोग नै अध्ययन गर्ने । प्रवेश परीक्षामा उनको नाम एक नम्बरमा निस्कियो पनि ।

पत्नी नूतन ढुंगानासहितका परिवारजनले त्यो विषय नपढ्न सुझाएका थिए । तर, उनले निर्णय लिइसकेका थिए, किन परिवर्तन गर्थे र ! भन्छन्, ‘मलाई थाहा थियो, यस क्षेत्रमा अझै धेरै काम गर्न सकिन्छ ।’

महिलाबाटै दुरदुर

अध्ययनका क्रममा डा. गौतमको पोस्टिङ भयो, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा । तीन महिना त्यहाँ बस्दा उनले थाहा पाए, जटिल समस्या भएर पनि महिलाहरु पुरुष डाक्टरको छेउ पनि पर्न नचाहने रहेछन् ।

त्यसपछि उनलाई थापाथलीस्थित प्रसुती गृहमा खटाइयो । त्यहाँ पनि महाराजगञ्जकै नियती बेहोर्नु स्वाभाविकै थियो ।

त्यहाँ करिब तीन वर्षको सेवा क्रममा उनले साथमा महिला स्वास्थ्यकर्मी नछुटाउनुको कारण पनि त्यही थियो । महिला स्वास्थ्यकर्मीसँग बिरामी खुल्थे । र, डा. गौतमलाई समस्या पहिचान र समाधानका उपाय पत्ता लगाउन सहज हुन्थ्यो ।

प्रसुती गृहमा छँदा एक एचआईभी संक्रमित महिलाको सुत्केरी गराउनु पर्ने भयो । कुनै चिकित्सक अगाडि सर्न मानेनन् । डा. गौतमका पाइला ती महिलालाई राखिएको क्याबिन नम्बर ८ तिर अगाडि बढे ।

उनलाई लाग्यो, भौतिक शरीर एक दिन त सबैले छाडेर जानु नै छ तर एउटा जीवन बचाउँदा पाइने आनन्दको भने कुनै सीमा छैन ।

एचआईभी त्यत्तिकै सर्दैन भन्ने एउटा चिकित्सकलाई थाहा नहुने कुरै भएन । हातमा दुई वटा पञ्जा लगाएर उनले क्याबिनमै उनको प्रसुती गराए ।

एचआईभीका कारण ती महिलाले संसार छाडिसकेकी छन् । उनका छोरा भने २२ वर्षको पठ्ठो भइसकेका छन् । उनले पनि केही बन्ने लक्ष्यका साथ जीवनका पाइला अगाडि सार्दै गरेको हुन सक्ने अनुमानले डा. गौतमलाई रोमाञ्चक बनाउँछ, कहिलेकाहीँ ।

तर, त्यस घटनाबाट उनले थाहा पाए, नेपालका स्वास्थ्यकर्मीलाई तालिम पुगेकै रहेनछ ।

त्यसयता पनि उनले भने एचआईभी संक्रमित धेरै महिलाको शल्यक्रियामार्फत् प्रसुती गराइसकेका छन् । उनीहरु र शिशुको ज्यान बचाउन पाएकामा उनी दंग छन् ।

मनमा पोखरा, यात्रा राजविराज र भद्रपुरको

एमडी सकेपछि उनले त्यतिबेलाका स्वास्थ्य सचिव भोजराज पोखरेलसँग भेटेर आफू पोखरा जान चाहेको बताए । उनी पर्वतका रैथाने थिए र गृहजिल्लाका बिरामीको केन्द्र थियो, पोखरा ।

पोखरामै पनि स्त्रीरोगको राम्रो उपचार कहाँ हुन्थ्यो र, त्यतिबेला ।

स्वास्थ्य सचिव पोखरेलले भने उनलाई सप्तरी सदरमुकाम राजविराज पठाइदिए । किनभने सगरमाथा अञ्चल अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक थिएनन् । राजविराज जान उनले कुनै सर्त तेर्स्याएनन् ।

उनी पुग्नुअघि कुसुमलता मिश्र मात्र थिइन्, स्त्रीरोगकी चिकित्सक ।

त्यहीबेला मेची अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ पठाइदिन भद्रपुरका बासिन्दाको एउटा टोली मन्त्रालय पुग्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट गोल्ड मेडल थाप्न काठमाडौं आएका बेला सचिव पोखरेलले उनलाई सीधै भद्रपुर उत्रिन आग्रह गरे । र, फेरि बिनासर्त भद्रपुर पुगेर एक वर्ष सेवा गरे ।

भरतपुरमा १६ वर्ष

भद्रपुरपछि उनी आइपुगे भरतपुर, जहाँ उनले १६ वर्ष बिताए । भरतपुरका ती दिनले उनलाई अझ उत्साहित बनायो । किनभने, ७५ वटै जिल्लाका बिरामीसँग उनको भेट हुन्थ्यो ।

‘मेरो २४ घण्टे ड्युटी देखेर बिरामीले तपाईंको घर परिवार छैन भनेर सोध्थे,’ उनी भन्छन्, ‘बच्चाबच्ची नै पनि छैनन् कि भनेर समेत कुरा गर्थे ।’

आखिर मानिस पनि त सहयोगका भोका न हुन् । उनले पनि बिरामीको सहयोगमा कुनै कसर छाडेनन् ।

तथापि, भरतपुरसम्म आइपुग्दा पनि सामाजिक मान्यता फेरिएको थिएन । डा. जागेश्वर गौतम लेखिएको नेमप्लेट देख्नासाथ महिलाहरु ढोकाबाटै फर्किन्थे । उनलाई सामाजिक मान्यता बदल्न समय लाग्यो । भरतपुरमै बस्दाबस्दै उनीसँग जँचाउन आउने महिलाको भीड जम्मा हुन थाल्यो ।

भरतपुर अस्पतालमा प्रसुती गराउनेहरु चार हजारबाट १२ हजारसम्म पुगे, वार्षिक ।

२०५६ सालमा इलामबाट सुरु भएको उनको स्वास्थ्य शिविर अभियान ०६९ मा बैतडीको पाटन पुगेर सम्पन्न भयो । त्यसक्रममा ३६ भन्दा बढी शिविरमा उनले हजारौंको जाँच मात्र गरेनन्, आङ खस्ने समस्या भएका ३५ भन्दा बढी महिलाको शल्यक्रिया पनि गरे ।

यसबीचमा, हजारौं संख्याका निःसन्तान दम्पत्तिलाई सन्तानको खुशी दिलाइसकेका छन् ।

जोखिमै जोखिम

डा. गौतमले निसन्तान दम्पत्तीदेखि धेरैको कोख उजिल्याइसकेका छन् । लमजुङकी ५४ वर्षे महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालेर फाल्दा उनलाई ठूलै बोझ हटाउन सकेको अनुभव भएको थियो । थुप्रै आमाहरुको पाठेघरको ट्युमर फालिसकेका छन्, यसबीचमा ।

नवलपरासी रजहरकी १७ वर्षाीया किशोरी बाथरुममै बेहोस भएकी थिइन् । उनको रगतमा हेमोग्लोबिन ३.५ मा झरेको थियो । ‘इप्टोपिक प्रेग्नेन्सी’को केस थियो त्यो । भरतपुर अस्पतालको शल्यक्रिया कक्षमा पुर्‍याउँदा उनको अल्ट्रासाउन्ड त टाढाको कुरा रगत परीक्षण गर्ने अवस्था पनि थिएन । डा. गौतमलाई समस्या भने थाहा थियो ।

स्लाइन चढाए र पिसाब खोले । एनेस्थिसिस्ट चिकित्सक उनलाई बेहोस बनाउन तयार थिएनन् । किनभने, उनी फर्किने अवस्था कमजोर थियो । उनले जोखिम मोले र शल्यक्रियामार्फत् नयाँ जीवन दिए ।

यस्तै अवस्थामा हो, चिकित्सकहरुलाई बात लाग्ने । ‘राम्रै गर्दा पनि विरामीलाई मार्न खोजेको आरोप लाग्छ अहिले त,’ उनी भन्छन्, ‘हामी त मान्छे बचाउने अभियानमा लागेका मान्छे । अमेरिकाका राम्रा अस्पतालमा पनि बिरामीको मृत्यु हुन्छ । त्यहाँ चिकित्सकले मारेको आरोप लाग्दैन ।’

त्यसो भन्दैमा डाक्टरले लापरवाही गर्दैनन् भन्ने होइन । डा. गौतम भन्छन्, ‘लापरवाही गरेर डाक्टरहरुलाई के फाइदा पुग्छ ?’ उनी प्रश्न गर्छन् ।

जनकपुरकी एक विरामीलाई डाक्टरले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए । भरतपुरका दुवै मेडिकल कलेजले लिन नमानेपछि उनलाई काठमाडौं ल्याइयो । उपत्यकाका पाँच वटा अस्पतालले ‘रिजेक्ट’ गरेपछि उनलाई ओम अस्पतालमा ल्याइयो र केस डा. गौतमको हातमा आयो ।

उनलाई एक सय चार डिग्री ज्वरो थियो र जुम्ल्याहा शिशु थिए, पेटमा । रक्तचाप बढेको, मधुमेहको समस्या र तीन दिनदेखि पानी बगिरहेको थियो, पाठेघरबाट । तत्काल शल्यक्रिया गरे र आमा-शिशु तीनै जनालाई बचाए ।

तीन वर्षअघि उनले भरतपुरबाट विदा लिए । अहिले चावहिलस्थित ओम अस्पतालमा निर्देशक छन् । काठमाडौं आएयता उनी स्वास्थ्य मन्त्रीको सल्लाहकार पनि बने । थापाथलीस्थित प्रसुती गृहको निर्देशकको जिम्मेवारी पनि सम्हाले ।

उनी आफैं सरल जीवनशैलीका हिमायती हुन् । र, मानिससँग सहजै घुलमिल हुन सक्छन् । हरेक चिकित्सकको यस्तै जीवनशैली हुनुपर्ने ठान्छन्, उनी ।

विस्तारै समाज उदार हुँदै गएको उनलाई महशुस हुन्छ, आजकाल । र, अमेरिकाको सपना त्यागेर स्वदेशमै सेवा गर्ने आफ्नो निर्णय ठीक रहेको अनुभूतिका कारण सन्तुष्टि पनि मिल्छ रे, डा. गौतमलाई ।

अनलाईनखबरवाट

  • prabhu-bank-sept26.gif