स्थानीय तहका अधिकार, नेकपा एमाले र जनप्रतिनिधी वीचको संवन्ध

– गोविन्द गिरी पहाडी/

पृष्ठभूमि

नेपाली जनताको लामो संघर्ष पश्चात प्राप्त नयाँ संविधानको कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । १५ वर्षको अन्तराल पश्चात गाउँ तथा नगरमा जनप्रतिनिधी बहाल भएका छन् । २०५४ को स्थानीय निर्वाचन पश्चात गाउँ गाउँमा विकास निर्माणको लहर नै सञ्चालित भएका थिए । मानिसहरु आफनो गाउँ आफैं बनाऔं भन्दै आफनो लागि आर्फै गर्नुपर्छ भन्ने भावनाले जुर्मुराएका थिए तर त्यो जोश जाँगरलाई निरन्तरता नदिने षडयन्त्रका साथ २०५९ मा पुनः स्थानीय निकायको निर्वाचन गरिएन न त बहाल जनप्रतिनिधीहरुको म्याद थप्ने काम गरियो । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको अदुरदर्शिताका कारण मुलुकभरका स्थानीय निकाय जन प्रतिनिधीविहिन बन्न पुगे । जसका कारण स्थानीय तहमा पुगेका आंशिक अधिकारहरु पनि संकुचित भए । मुलुकको विकास कार्यको जिम्मा कर्मचारीतन्त्रलाई सुम्पियो । त्यो नेपाली जनताको अधिकार, विकास र समृद्धिको लडाईको यात्रामा दुर्भाग्य थियो । त्यतिवेला केहि जनप्रतिनिधीहरुका संवन्धमा गम्भिर प्रकृतिका प्रश्नहरु पनि उठेका थिए । जसको गम्भिर समिक्षा गरि स्थानीय तहमा निर्वाचित प्रतिनिधीहरुले आफनो कार्यशैलीलाई जनमुखी बनाउनु अपरिहार्य छ । विगतका अनुभव र भोगाईहरुका आधारमा हिजोका निकाय नभएर तह (स्थानीय सरकार) को रुपमा गठन भएका पालीकाहरुको उचित व्यवस्थापन गर्नु र स्थानीय श्रोत साधनको समुचित परिचालन गर्नु हालका जनप्रतिनिधीहरुको जिम्मेवारी हो । बहुदलिय परिपाटीमा पार्टी प्रधान हो र हुनुपर्छ । समाज विकास, परिवर्तन, समृद्धि वारेको पार्टी दृष्टिकोण लागु गर्ने दायित्व पार्टीको तर्फबाट विजयी जनप्रतिनिधीहरुको हो । त्यसकारण पार्टीका आ आफनै प्रतिवद्धता, दर्शन, धारणा र विकासप्रतिका दृष्टिकोण सहितका घोषणा पत्र निर्वाचन पूर्व जारी भएका थिए । तीनै घोषणा पत्र, संविधान, ऐन कानुन र पालीका स्वयमले निर्माण गर्ने कानुनको परिधिभित्र रहेर काम गर्नु अनिवार्य शर्त हो ।

स्थानीय तहका अधिकार

गाउंपालकिा र नगरपालिकालाई संविधानको अनुसूचि ८ र ९ ले यस्ता अधिकारहरुको व्यवस्था गरेको छ जुन अधिकारहरु बुझेर सो अनुरुप स्थानीय स्तरका कानून र सो अनुसारका संरचना निर्माण गरि गाउंपालीका वा नगरपालीकालाई स्वायत्त तरिकाले सञ्चालन गर्नुपर्नेछ । संविधानको व्यवस्था अनुसार अवका गाउंपालीका वा नगरपालीकाले वर्तमानको व्यवस्थापीका संसद, कार्यपालीका (सिंहदरवार) का काम र न्यायपालिकाका समेत अधिकार प्रयोग गर्न पाउनेछन् । जुन लोकतन्त्रको मुल मर्म क्भउबचबतष्यल या एयधभच सिद्धान्त भन्दा भिन्न छ । यो संघिय पद्धतिको मुख्य उपलब्धी हो तर यी ३ अधिकारको प्रयोग र परिचालन सहि तरिकाले हुन सकेन, यी अधिकार प्रयोग गर्ने क्षमता हामीसँग भएन भने झनै लथालिङ्ग अवस्था सृजना हुन सक्छ । संघिय प्रणालीको प्रभावकारीता र प्रयोग वारे बहस हुन सक्छ ।

संविधानको अनुसूचि ८ मा उल्लेख गरिएका स्थानीय तहका अधिकारका क्षेत्र ः नगर प्रहरी, सहकारी संस्था, एफ. एम सञ्चालन, स्थानीय कर निर्धारण, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाई, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई, गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घरजग्गा धनी पूर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, बेरोजगारको तथ्यांक संकलन, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा, विपद व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

संविधानको अनुसूचि ९ मा उल्लेख गरिएका स्थानीय तह, संघ र प्रदेशका साझा अधिकारका क्षेत्र ः सहकारी, शिक्षा, खेलकुद र पत्रपत्रिका, स्वास्थ्य, कृषि, वद्युत, खानेपानी, सिंचाई जस्ता सेवाहरु, सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क, वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता, खानी तथा खनिज, विपद व्यवस्थापन, सामाजिक सुरक्षा र गरिवी निवारण, व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक, पुरातत्व, प्राचीन स्मारक, संग्राहलय, सुकुम्वासी व्यवस्थापन, प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, सवारी साधन अनुमति (साझा अधिकार क्षेत्र भएका कारण कतिपय अनुसूचि ८ संग मेल खाने प्रकृतिका पनि छन् )

तर यी सवै अधिकारहरु स्वतः क्रियाशिल हुन्छन त ? यी अधिकारहरुको उपयोग कतिबेला हुनेछ ? यी प्रश्नहरुको एउटै जवाफ के हो भने यी अधिकारहरु प्रयोग भएर स्थानीय आवश्यकता र अवस्थाका आधारमा त्यतिवेला स्थानीय तहका यी सरकार रुपी ईकाईहरु सक्षम हुनेछन जव हामीले छनौट गरेका नेताहरु सक्षम, ईमान्दार र दुरदृष्टि भएको ठहरिने गरि काम गर्नेछन् । विगतका गाविस र नगरपालीकाहरु जस्तो केन्द्रले पठाईदिएको बजेटलाई केन्द्रले नै निर्देश गरेका नीति नियम र कार्यविधिको परिधिभित्र खर्च गरे पुग्ने अवस्था अव रहेन । अव त आफनो आन्तरिक आम्दानीका विकल्पहरु खोज्ने, आफना लागि आफैंले आवश्यक नीति नियम र कार्यविधिहरु तर्जुमा गर्ने, तिनको अनुशासित र व्यवस्थित कार्यान्वयन गराउने र जनताका समस्या र पीरमर्काहरु नजिकबाट महसुस गरि सो अनुसार शासनको परिपाटी विकास गर्ने दायित्व लिने नेतृत्व क्षमता आवश्यकता छ । हैन भने संविधान, ऐन र कानूनमा उल्लेख गर्दैमा संघियताले गरिवी, पछौटेपन, वेरोजगारि र सामाजिक विभेदहरु अन्त्य गर्न सक्नेछैन । नेताहरुको अदुरदृष्टि, जनता प्रतिको जवाफदेहिताको कमी, व्यवस्थापन कौशलको कमी जस्ता कमजोरीका कारण हुने असफलताले पद्धतिलाई समेत धक्का पुग्नेछ । नेताको कमजोरीका कारण संघिय शासन प्रणाली नै बेठिक रहेछ भन्ने निष्कर्षमा हामीलाई पुराउनेछ ।

हाम्रो संघियता विकेन्द्रिकरणको विस्तारित, परिस्कृत वा ठुलो रुप हैन् । नेपालको संघियताले अधिकारको बांडफांड गरेको छ । स्थानीय तहका अधिकारका संवन्धमा संविधानमा नै प्रष्ट उल्लेख गरिएको छ । यी अधिकारहरु अव संघले फिर्ता लिन सक्दैन् । यो त राज्य शक्तिकै बांडफांड हो, सत्ताको भागवण्डा हो । तर विकेन्द्रिकरणमा केन्द्रको अधिकार कानून बनाएर तल दिईन्छ र जतिबेला सुकै खोस्न सकिन्छ । स्थानीय तहहरु यतिधेरै अधिकार सम्पन्न र सार्वभौम छन की संघिय सभा र प्रदेश सभा जुनसुकै बेला भङ्ग गर्न सकिन्छ र स्थानीय तह भङ्ग गर्न मिल्दैन । स्थानीय तहले बनाएका कानुन प्रदेश तथा केन्द्रले समेत मान्न बाध्य हुन्छन् (जुन संविधानको परिधी भित्र बनेका हुन्छन) । यो कुरालाई ख्याल गरेर पुरा अधिकारको प्रयोग सम्पूर्ण क्षमता परिचालन गरेर गर्नुपर्छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने सन्दर्भमा नेकपा एमालेले सवैभन्दा बढि आवाज बुलन्द पारेको हो । सवैभन्दा बढि मेहनत गरेको हो । र हामीले सोही मुताविक नतिजा हासिल गरेका छौं । अधिकारसम्पन्न स्थानीय तहमा प्राप्त अधिकारको सहि र प्रभावकारी कार्यान्वयन गरि यो उपलब्धी जोगाउने सवैभन्दा बढि दायित्व एमालेको नै हो । यसलाई हेक्का गरेर एमालेका जनप्रतिनिधीहरुले काम गर्नुपर्दछ ।

एमाले जनप्रतिनिधीको अपेक्षित भूमिका

हाम्रा केहि जनप्रतिनिधीहरुले आफुलाई राजा भएको जस्तो ठानेको पनि देखियो । सामन्तवाद फालियो भनेर के गर्नु हामी धेरैजनाको मानसिकतामा अझै सामन्तवाद बांकी छ । जनप्रतिनिधी भनेको जनताको प्रतिनिधी हो – जनताको सेवा गर्नका लागि तथा जनताको पीरमर्कामा मलम लगाउनका लागि तर केहि जनाले जनता भन्दा ठुलो ठान्ने, आफुलाई सिंहासन र चौकामा बस्ने अव्वल पात्रको रुपमा लिएर जनतासंगको प्रत्यक्ष संवन्ध र सञ्चारबाट पर पुराउन खोजेको जस्तो देखिन्छ । अव त्यो प्रकारको शासकिय शैली पाच्य हुंदैन । जति सक्दो जनताको नजिक बस्ने, पीरमर्का बुझने, प्रकृया र पद्धतिमा भन्दा व्यवहारमा बढि जोडदिने हुनुपर्यो । धेरै प्रकृया रचना गर्ने, भेट्नका लागि नामै लेखाएर दरवारमा पसेजस्तो गराउने तरिकाले संघिय मर्म र भावनाको प्रतिनिधीत्व गर्न सक्दैन् । हामीले गाउँ गाउँमा राजा बनाउन खोजेको हैन् ।

सिंहदरवारको अधिकार घर आँगनमा ल्याएर सहजै सेवा लिन र विकासको प्रतिफल उपभोग गर्नका लागि नेपाली जनताले पटक पटक संघर्ष गरे । तर कतिपय प्रतिनिधीहरुले आफु भन्दा तल अधिकार दिन कञ्जुस्याँई गर्न खोजेको सुनिन्छ । हामी माथिबाट अधिकार आफुसम्म आउनुपर्यो भन्छौं तर आफुले प्राप्त अधिकार आफु भन्दा तल दिन तयार हुँदैनौं । यस प्रकारको शासकिय र मपाईत्वले स्थानीय तहको मर्मलाई बोक्न सक्दैन ।
ड्ड जनप्रतिनिधीको गणना शुरु भैसकेको छ । हरेक कामका वारेमा जनताले नजर लगाउन थालिसकेका छन् । जनताप्रति जवाफदेहि बनेर काम गर्नुपर्दछ ।

– सेवाग्राही तथा जनतासंग हाँसेर बोलौं । जनताका कुरा सुन्नमा धेरै समय लगाऔं । काम गर्न नमिल्ने रहेछ भने पनि हाँसेरै चित्त बुझाउनुहोस् । अनाश्यक प्रशासनिक बनेर व्यस्त नबन्नुस । व्यस्त बनेजस्तो अभिनय नगर्नुस । कर्मचारीसंग अनौपचारिक रुपमा धेरै समय नबिताउनुस् ।
ड्ड जथाभावी सम्मान र बधाई ग्रहण गर्ने वारे सोचौं । निर्वाचनमा जिताउनका लागि मेहनत गर्ने, दिन रात खट्नेहरुका विभिन्न अपेक्षाहरु छन् , तिनको कुरा सुन्नुभन्दा वरिपरि घुम्ने , निर्वाचनका बेला विरोधमा रहेका चाकडीवाजहरुका मात्र कुरा सुन्ने नगरौं । चाकडी गर्ने व्यक्ति समूह वा समुदायको हितमा भन्दा आफनो व्यक्तिगत हित सिद्ध गर्न माहिर हुन्छन । यस्ताहरुबा बचौं । निर्वाचनमा खटेका, पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुको  भावना बुझेर काम गरौं ।

-कर्मचारीसंगको सम्वन्ध वारेमा विशेष चनाखो बनौं । जनप्रतिनिधी जनताको प्रतिनिधी हो, आफुलाई पालीका वा वार्डमा रहेका कर्मचारीको हाकिम सम्झेर काम नगरौं । जनताका कुरा सुन्नमा बढि समय दिनुस, कुरा सुन्नुस । जो संग बढि उठबस गरिन्छ, नजिक भईन्छ उसैका कुरा सुनिन्छ, उसैका कुरा र समस्या जायज हुन की जस्तो लाग्छ, त्यसैले आवश्यकता भन्दा बढि कर्मचारीसँग संगत नगरौं । जनताको असल प्रतिनिधी बन्ने गरि काम गरौं ।
– हामी सेवक हौं शासक होईनौं भन्ने मान्यताका साथ प्रशासनिक पद्धती विकास गरौं । जनताको सहज पहुँच हुने गरि नियमहरु निर्माण गरौं । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सवालमा नियम तर्जुमा गर्नु पूर्व जनधारणा बुझौं ।

– ढिलासुस्ती, अनियमितता अन्त्य गर्ने वारेको आफनो दृष्टिकोण सार्वजनिक गरौं र अनुगमन गरौं । जनताप्रतिको जवाफदेहिता कायम गर्ने विभिन्न औजारहरुको सहि र परिणाममुखी कार्यान्वयन गरौं । केवल प्रकृयाका लागि मात्र, केवल विधि पुराउन मात्र गरिने कर्मकाण्डिय तरिकाले नै हाम्रो विकास कार्य र प्रशासनिक संयन्त्र असफल भएको हो भन्न हिच्किचाउनु पर्दैन् ।

– स्थानीय तह सञ्चालनका लागि बनेका कानून, कार्यविधि र अन्य निर्देशिकाहरु गहिरोसंग अध्ययन गरौं । दिर्घकालिन प्रभाव र महत्व अध्ययन विश्लेषण गरेर मात्र स्थानीय कानून निर्माण गरौं । आवेग, उत्तेजना र क्षणिक लाभ हानी वा सम्झौताका आधारमा कानुन निर्माण नगरौं ।

– सामाजिक मन भएर मात्र हुंदैन, संवन्धित विषय तथा कानूनहरुको ज्ञान हुनु जरुरी छ । पार्टीका अन्तरविरोधहरु विधान अनुसार हल भएजस्तै स्थानीय निकायमा आउन सक्ने असमझदारीहरु पनि कानून अनुसार नै हल गरिन्छन । उसैले नेतृत्व दिन सक्दछ । एमालेहरु नियम कानून जानेका, विधि बुझेका र विधीको पालना प्रति प्रतिवद्ध हुन्छन भन्ने मान्यता विकास गर्न सक्दा हामी अरु भन्दा भिन्न पनि हुनेछौं , स्थानीय तहहरु विधिपूर्वक सञ्चालित हुने वातावरण पनि बन्नेछ ।

– हामी समाजवाद तर्फको यात्रामो अगुवा शक्ति एमाले मात्र हो भनिरहेका छौं । गाउँ तहमा हुने काममा महिला, बालबालिका, जनजाति, दलित र अपाङ्ग तथा गरिवहरुप्रति संवेदनशिल बन्ने सवालमा एमाले सवैभन्दा सकारात्मक हुनुपर्दछ । गाउँ तथा वार्ड तहमा हुने काम र योजनाहरुको विनियोजन गर्ने संवन्धमा सामाजिक न्याय र समानताको पक्षमा वकालत गर्ने पार्टी एमाले बन्नुपर्दछ । तव मात्र हाम्रो पार्टीले भन्ने गरेको समाज निर्माण गर्न संभव हुनेछ । हामी गाउं गाउं र बस्ती बस्ती रहेका एमालेहरुको काम जथाभावी हुने, सामाजिक न्याय प्रति प्रतिवद्ध नहुने हो भने केन्द्रमा पार्टीले तय गर्ने नारा केवल नारा मात्र हुनेछ । तपाई हाम्रो सवैको धारणा, कार्यशैली र प्रयासको जोड नै एमालेको हैसियत हुनेछ ।

– एमालेले ल्याएका नीति र कार्यक्रमरुको सफल कार्यान्वयनको अगुवाई एमाले नै गर्नुपर्छ । नीति कार्यान्वयनका लागि योग्य कार्यकर्ता पक्तिं भएमा मात्र समाज सुधार संभव छ र यसले नै एमालेले जस पाउने वातावरण तयार गर्नेछ ।

– अव कुरा हैन, सामुदायिक विकासमा गरेका काम, योगदान र सफलता नै हाम्रो मूल्यांकनको कसी हुनेछ , हुनुपर्छ ।

-हामी पदको नेता हैन । काम, व्यवहार र भूमिकाको नेता हुनुपर्छ । पद पाउने त धेरै छन , पद लिन आतुर हामी धेरै छौं ्। ती मध्ये कामबाट स्थापित हुनेहरु कति छौं ? यो प्रश्नलाई केन्द्रमा राखेर काम गरौं ।
– सफल मानिसहरु फरक काम गर्दैनन, सोही काम नयां तरिकाले गर्छन भन्ने भनाई झैं एमालेहरुले समुदायका कामहरुमा फरकपना देखिने गरि, अरुले चर्चा गर्ने गरि काम गर्नसक्नुपर्दछ । सृजनात्मक खुवी र रचनात्मक सीपको प्रयोग गरौं । विभिन्न तालिम, छलफल, अन्तरक्रियामा सहभागी हुने गरौं, केहि न केहि नयां कुरा सिकाई हुनेछ । विभिन्न विषयगत अध्ययन सामग्रीहरु संकलन गरि आपसमा बांडेर अध्ययन गरौं । एमाले बौद्धिकहरुको पार्टी हो, उनीहरु वैज्ञानिक दृष्टिकोण राख्छन भन्ने मान्यता स्थापित गराऔं, यसले गर्दा समुदायको आकर्षण स्वभाविक रुपमा एमालेप्रति हुनेछ ।
–  एमाले कार्यकर्ताहरु विच, पार्टी संगठन र जनप्रतिनिधीहरुविच आपसी सञ्चार र अनुभव आदान प्रदान गर्ने कामलाई थप व्यवस्थित पारौं । आफुले मात्र जानेर नबसौं । आम नागरिकहरुसंग पनि निकटको समन्वय र सञ्चारको वातावरण जीवित बनाईराखौं । जो नजिक हुन्छ उसैका कुरा सुनिन्छन, उहि प्रिय बन्दै जानेछ । नजिक रहंदा अरुले सृजना गरेका भ्रमहरु पनि बुझिन्छ र तिनलाई निस्तेज पार्न आफनो रणनीति बनाउन र लागु गर्न सहज हुनेछ ।
– कम्युनिष्टहरु गरिव र किसानहरुको पक्षमा बोल्ने र उनीहरुको समृद्धिको पक्षमा पहलकदमी लिने शक्ति हो भन्ने कुरालाई व्यवहारमा नै उतार्नका लागि सो अनुरुप एमाले कार्यकर्ताहरुले व्यवहार गर्नुपर्छ । गाउँ तहमा हुने हरेक काममा सो अनुरुप प्रस्तुत हुनुपर्दछ । अरु पार्टीहरुले भ्रम सृजना गरि अनेक प्रोपोगाण्डा फैलाईरहेका छन, जसले गर्दा गरिव ,किसान र मजदुरहरु नै कम्युनिष्ट पार्टीका विरोधी जमातको रुपमा तयार हुंदै गएको अवस्था छ । यसका लागि यी वर्गसंगको सामिप्यता र उनीहरुको पक्षपोषण गर्ने काम नीति र कार्यक्रमका अतिरिक्त तल्लो तहसम्मका एमाले कार्यकर्ताहरुको व्यवहारबाट देखिनुपर्छ ।
– हामीले जितेका स्थानमा पारदर्शी र प्रष्ट काम गरौं , अरुले पनि सिक्ने थलो बन्ने गरि उदाहरणीय तरिकाले काम गरौं । सवैको सहभागितामा विना कुनै राजनैतिक र अन्य पूर्वाग्रहमा काम गरौं । समुदायको वास्तविक आवश्यकता पहिचान गर्ने सवालमा खुल्ला र पारदर्शि छलफल चलाऔं ता की एमालेले जितेका कारण कसैले हेपिएको, नसोधिएको, नखोजिएको महसुस गर्नु नपरोस् । हाम्रो कामले अरु राजनीतिक आस्था भएकाहरु पनि एमालेमा आउने वातावरण बनोस् । असल कामका पछाडी सवैजना लाग्छन् ।

–  हामी पराजित भएका ठाउंमा सहि काममा साथ दिऊँ , सकारात्मक र जनमुखी काममा सहभागी बनौं । गलत कामलाई जनताको विचमा लैजाऔं । पारदर्शि कामका लागि सहजीकरण गरौं । एमाले पराजित भएपनि सहि र असल काममा सहयोग गर्यो भन्ने सन्देश दिने गरि व्यवहार गरौं र सहयोग गरौं । अरु दल र एमाले विच जनताले प्रष्ट अन्तर देखिने व्यवहार प्रदर्शन गरौं ।

– जवाफदेहितका औजारहरुको प्रयोग गर्न प्रतिवद्ध बनौं, विकास निर्माणका काममा भएका आम्दानी र खर्चहरु सर्वसाधारणको सामुन्ने राखेर सामाजिक परिक्षण, सार्वजनिक लेखापरिक्षण गरौं । जसले जनताहरुलाई काम भएको नभएको संवन्धमा विश्वस्त पार्नेछ ।

– कर्मचारीसंगको सम्वन्धमा ख्याल गरौं । गलत काम गर्न सिकाउने, प्रेरित गर्ने र जनता भन्दा कर्मचारी प्यारो लाग्ने वातावरण तयार हुन सक्छ, यस्तो कुराबाट बचौं ।

– हामी विचारमा मात्र अगुुवा की स्थानीय विकास निर्माणका काममा पनि अगुवा ? अव प्रादेशिक मोडलमा गएपछि आफनो गाउं र जिल्ला आफै बनाउने हो, जसले ईमान्दारपूर्वक काम गर्छ, उसैको जिल्ला र गाउं विकसित हुनेछ । सरकारलाई दोष लगाएर उम्किन पाईनेछैन । नेकपा एमाले विचार, विधि र आचरणका दृष्टिले अरु दलहरुभन्दा अब्बल हो भन्ने हाम्रो दावी हो । यो दावीलाई तल्लो तहसम्म प्रमाणित गर्नका लागि स्थानीय तहका नेता कार्यकर्ताहरुले सोही अनुरुप स्थानीय विकास निर्माणमा अगुवाई र अनुकरणीय काम गर्नुपर्दछ ।
पार्टी र जनप्रतिनिधी विचको संवन्ध
वडा अध्यक्षहरु वडा कमिटि मातहत, गाउँपालीकाका प्रमुख उपप्रमुख तथा मेयर उपमेयर संवन्धित गाउँपालीका तथा नगरपालीका कमिटिको मातहतमा रहनुपर्दछ । निर्वाचित भएपछि पार्टी बिर्सने संभावनाको अन्त्य गर्नुपर्दछ । अन्यथा हामी अरु भन्दा के फरक भयौं ? किन हामीले पार्टी मार्फत जितेको र किन पार्टी आवश्यक पर्ने हो भन्ने प्कारका प्रश्नहरु उब्जिन सक्छन । सवै विषयहरुलाई राजनैतिक तरिकाले हेर्नुपर्दछ र राजनैतिक तरिकाले नै समाधान खोजी गर्नुपर्छ ।

– अवको राजनीति केवल सिद्धान्त र नाराबाट मात्र प्रभावित हुनेवाला छैन । सामुदायिक विकास निर्माणका काममा अगुवाई गर्ने र सो काममा आर्थिक लोभ नदेखिने गरि, जनताको मन जित्ने गरि काम गरियो भने एमालेको सिद्धान्त विचार संगै व्यवहार पक्ष देखेर अरु कुरा वास्ता नगरि जनता तपाईको पछि लाग्नेछन ।

– एउटै पार्टीबाट निर्वाचित भएकाहरु विच परिणाममुखी समन्वय गरौं । उपभोक्ता समिति र विभिन्न समूह सञ्जाल गठन गर्दा उपयुक्त व्यक्तिको छनौट गर्ने कुरामा ध्यान दिऊँ ।
-निर्वाचनका बेला जारी गरेको आफनो घोषण पत्र हेरौं । फरक र प्रभावकारी तरिकाले काम गरौं । पारदर्शितालाई मुल मन्त्र बनाउनु जरुरी छ ।
– गाउँका समस्या पत्ता लगाउनु आधा समाधान हुनु जस्तै हो । हामी वास्तविकतामा आधारित हुनुभन्दा सतही र हचुवा तरिकाले योजना तर्जुमा गर्दछौं । जसले गर्दा बजेट पनि रहन्न, नागरिक अपेक्षा पनि पुरा हुँदैनन् । कुन पालीका र कुन वार्डका काम राम्रा भए भन्ने आधारमा स्वस्थ प्रतिस्पर्धा गरौं ।
– हाम्रा सपना, कल्पना धेरै होलान् । अगाडी बढ्नका लागि सपना पनि जरुरी हुन्छ तर ती सपना पुरा गर्नका लागि राज्यको नीति कस्तो छ ? पद्धति के छ ? बजारको अवस्था कस्तो छ ? सामाजिक संस्कार के कस्तो छ ? हेरौं, विश्लेषण गरेर मात्र अगाडी बढ्ने योजना तर्जुमा गरौं ।
– नीति तथा बजेट बांडफांड गर्दा आफनो घोषणा पत्र हेरौं । केन्द्रिय घोषण पत्रका आफनो भूगोलमा सम्वन्धित सवालहरुमा ख्याल गरौं ।
– गाउँ र बस्ती अनुसार समस्या र आवश्यकता भिन्न भिन्न छन् । यीनको सहि विश्लेषण गर्न सक्ने र सो अनुसार योजना तर्जुमा गर्ने ईच्छाशक्ति राख्ने जनप्रतिनिधी मात्र जनताको असल प्रतिनिधी हुन सक्छ । भनिन्छ, समस्या पत्ता लगाउनु आधा समाधान हुनु जस्तै हो । त्यसकारण समस्या पहिचानलाई विशेष महत्व दिऊँ ।
– अराजकता मौलाउने खतरा छ । पार्टी कमिटिका कमरेडहरुले पनि जनप्रतिनिधी वारे जथाभावी आलोचना नगरौं । पार्टी पद्धति अनुसार बैठकहरुमा मात्र आफनो राय राखौं । बैठकमा भएका टिप्पणी र छलफलका आधारमा व्यक्तिगत पूर्वाग्रह नराखौं । बैठकमा भएका छलफल र आवश्यकता अनुसार निर्णयहरु गोप्य राखौं । पार्टीको निर्देशन कुन हदसम्म पालना गर्ने हो पार्टी कमिटिमा नै तय गरौं ।
– अव पार्टी कमिटिको छलफलको विषय विकास निर्माण र योजना तर्जुमा÷कार्यान्वयन बन्नुपर्दछ । अव पार्टीका सवै कार्यकर्ता निर्माणमा सहभागी हुनुपर्दछ । लक्षित वर्गको बजेटको सहि सदुपयोग नभएको विगतको अनुभव छ । यसलाई सहि र अर्थपूर्ण कार्यान्वयनका लागि पार्टीको समेत सहयोग जरुरी छ ।
– आफनो पार्टीको निरन्तर सहयोग र सल्लाह लिऊँ तर कहिलेकाँही पार्टीको निर्देशन र जनताको अपेक्षा फरक पर्न सक्छ । यसलाई सचेततापूर्वक व्यवस्थापन गरौं ।

सारांश

विश्व कम्युनिष्ट आन्दोलनका अनुभव, बदलिंदो विश्व परिवेश, विज्ञान र प्रविधिसंगै संसार सांघुरो घेरामा आईपुगेपछि नेपालमा जननेता मदन भण्डारीले माक्र्सवादको सृजनात्मक प्रयोगको रुपमा जनताको बहुदलिय जनवादको सृजना गरेका थिए । सो प्रतिस्पर्धात्मक पद्धति अवलम्वन गर्ने जनताको बहुदलिय जनवादको मुल मर्म स्विकार गर्ने एमाले जनप्रतिनिधीहरुको अर्जुनदृष्टि जनताको सुख, समृद्धि र निर्माण हुनुपर्दछ । हाम्रा सवै नीति निर्माण, योजना तर्जुृमा र कार्यान्वयनहरु एमालेले अगाडी सारेको सुखी नेपालीः समृद्ध नेपालको नारा साकार पार्ने तर्फ उन्मुख हुनुपर्दछ । यो एमाले जनप्रतिनिधीहरुको अनिवार्य शर्त हो ।

एमालेका नीति, बजेट, कार्यक्रम तथा एमालेले राष्ट्र राष्ट्रियताका संवन्धमा लिएका अडानका कारण नेपाली जनताले एमालेलाई अवको मुलुक निर्माणको जिम्मेवारी दिन खोजेको निर्वाचन परिणामले पुष्टि गरेको छ । यो कुरालाई केन्द्रमा राखेर काम गर्नु जरुरी छ । तर एमालेबाट निर्वाचित भएपनि सारा नेपाली जनताको प्रतिनिधीको रुपमा काम गर्नु, राजनीतिक पूर्वाग्रह विना सेवा प्रदान गर्नु, सामाजिक न्याय, समावेशीकरण र सहभागितामुलक पद्धतिलाई अनुसरण गर्नु र आफना कामहरुबाट एमाले पार्टी र यसका कार्यकर्ता साँचो अर्थमा नेपाली जनताका सच्चा प्रतिनिधी हुन भन्ने सावित गर्नुपर्दछ । स्थानीय तहको पहिलो निर्वाचन भएका कारण पहिलो ५ वर्षमा स्थानीय तहका संरचनागत, प्रशासनिक र अन्य पद्धति र प्रणालीहरु निर्माण गर्दैमा समय सकिनेछ । संघिय शासन पद्धति अगिंकार गरेपछि प्राप्त स्थानीय तहलाई विधिसम्मत तरिकाले सञ्चालन गर्ने गोरेटो खन्न सकियो भने मात्र भविष्यमा यी निकायहरु सहज रुपमा सञ्चालित हुनेछन र सिंह दरवार घर आँगनमा आएको अनुभूति हुनेछ । यसको पहिलो जिम्मेवारी एमालेको हो । एमाले जनप्रतिनिधीहरुको हो ।

उप सचिव (नेकपा एमाले पर्वत) तथा स्थानीय विकास विभाग प्रमुख )

  • prabhu-bank-sept26.gif