पर्वतका १८ प्रतिशत घरमा मात्र नीजि धारा, ८ प्रतिशत जनता अझै खानेपानीको पहुँचबाट बञ्चित

२३ चैत्र, पर्वत । जिल्लाका कुल घर धुरी मध्ये झण्डै १८ प्रतिशतमा मात्र एक घर एक धारा छन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले दिएको जानकारी अनुसार नीजि धाराबाट खानेपानी उपभोग गर्ने कुल घरधुरी १८ प्रतिशत रहेको छ ।

कुल ३२ हजार घरधुरी मध्ये ६ हजार घर घरधुरीमा मात्र नीजि धारा जडान भएको डिभिजन प्रमुख इन्जिनियर प्रेम डोटलले जानकारी दिए । डोटेलका अनुसार एक घर एक धारा अभियानमा अझै पनि ८२ प्रशित घरधुरी बञ्चित छन । उनीहरुले सार्वजनिक धाराबाट खानेपानी उपभोग गरीरहेका छन । कुल जनसंख्याको ९२ प्रतिशत घरमा खानेपानीको उपलब्धता पुगेको तथ्यांक उल्लेख गर्दै इन्जिनियर डोटेल भन्छन–‘८ प्रतिशत जनताले भने कुवा, इनार र तालजन्य स्थलबाट पानीको उपभोग गर्दै आइरहेका छन ।’

कार्यालयले ८ प्रतिशत जनता खानेपानीको उपलब्धताबाट बञ्चित हुनुपरेको बताउँदै आएपनि जिल्लाका कतिपय गाउँपालिका र नगरपालिकाका वडाहरुका स्थानीयले थुप्रै ठाउँमा खानेपानीको समस्या देखाउँदै आएका छन । जिल्लाको ठुलिपोखरी, शंकरपोखरी, होश्राङदी, वहाकीठाँटी लगाएतका स्थानहरुमा खानेपानीको चर्को समस्या छ ।
खानेपानी जस्तो न्यूनतम र आधारभूत आवश्यकताबाट बञ्चित भएका जनतालाई खानेपानी उपलब्ध गराउने गरी काम भईरहेको इन्जिनियर डोटेल बताउँछन ।

जिल्लाका सवै जनतालाई शुद्ध खानेपानी पुराउने गरी काम भईरहेपनि अहिलसम्म शुद्ध खानेपानीको उपभोग कुश्मा नगरपालिकाको ४, ५, ६ र ७ का स्थानीयले मात्र उपभोग गर्न पाइरहेका छन । कुश्मामा सञ्चालीत खानेपानी आयोजनामा शुद्धिकरणको प्रविधि भएका कारण उनीहरुले मात्र प्रशोधित पानी खान पाएका हुन । अरु स्थानमा भने मुलको पानी ट्याङकी मार्फत सिधै प्रयोग गरीरहेको इन्जिनियर डोटेलले जानकारी दिए ।

‘कुश्मा बाहेकका खानेपानी आयोजनाहरुमा फिल्टर सिस्टम नभएका कारण मुलको आधारभूत पानी नै उपभोग भईरहेको छ’ उनले भने ।

खानेपानी र सरसफाईको क्षेत्रमा जिल्लामा क्रियाशिल पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले खानेपानीका क्षेत्रमा सहयोग गर्दै भने आइरहेको छ । परियोजनाको सहयोगमा होश्राङदी वडामा लिप्ट खानेपानी आयोजना निर्माणधिन अवस्थामा छ भने, कार्यालयको सहयोगमा ठुलिपोखरी, होश्राङदी र थापाठाना वडामा लिप्ट खानेपानी आयोजना सञ्चालन गरीरहेको छ ।

  • prabhu-bank-sept26.gif